‘इतिहास भनेको समाज बुझ्ने जरा हो’
सारांश
- नीलम कार्की निहारिकाले साहित्यिक यात्रा 'मौन जीवन' उपन्यासबाट सुरु गरिन्, हालसम्म ६ उपन्यास प्रकाशित छन्।
- उनी 'चीरहरण' उपन्यासका लागि पद्मश्री र 'योगमाया' का लागि मदन पुरस्कारबाट सम्मानित भइन्, मदन पुरस्कार पाउने चौथो महिला साहित्यकार हुन्।
- इतिहास र समाज बुझ्न इतिहास आवश्यक रहेको र पाठकको प्रतिक्रियालाई ध्यान दिँदै लेख्ने निहारिकाको भनाइ छ।
उपन्यास, कथा र कविता विधामा कलम चलाउने नीलम कार्की निहारिकाले ‘मौन जीवन’ नामक उपन्यासबाट आफ्नो साहित्यिक यात्रा सुरु गरेकी थिइन् । हालसम्म उनका ६ उपन्यास, ५ कथासङ्ग्रह, तथा ‘मस्तिष्क ज्वरो’ नामको लामो कविता सङ्ग्रह प्रकाशित छन् । ऐतिहासिक पृष्ठभूमिमा लेखिएको उपन्यास लिएर छिट्टै उनी पाठकमाझ आउँदै छिन् ।
उनलाई ‘चीरहरण’ उपन्यासका लागि पद्मश्री तथा ‘योगमाया’ उपन्यासका लागि मदन पुरस्कारबाट सम्मानित गरिएको छ । निहारिका मदन पुरस्कार पाउने चौथो महिला साहित्यकार हुन् । लामो समयदेखि अमेरिका बस्दै आएकी उनी यतिबेला नेपाल आएकी छिन् । यसै सन्दर्भमा रातोपाटीको ‘किताबका कुरा’ शृङ्खलाका लागि उनै निहारिकासँग गरिएको कुराकानीको सम्पादित अंश ।
- तपाईंका औपन्यासिक पात्रहरू प्रायजसो ऐतिहासिक वा पौराणिक हुन्छन् किन ?
मलाई के लाग्छ भने इतिहास भनेको वर्तमानको समाज बुझ्ने जरा हुन् । आजको यथार्थ लेख्नु आवश्यक छ, तर हिजोको जीवन, समाजबारे लेख्नु पनि उत्तिकै आवश्यक छ । साहित्यिक माध्यमबाट हिजोको भाषा, संस्कृति, शैली र रीतिथितिलाई मिहीन ढङ्गले कोरेर राखिदिने हो भने हाम्रा संस्कृतिका कुन विषयलाई संरक्षण गर्ने र कुन कुरीतिहरूलाई महत्त्व नदिने भन्ने हामीलाई पछिसम्म थाहा हुन्छ ।
अहिलेको पुस्तालाई इतिहासका कतिपय कुरा थाहै छैन । यो हाम्रो मात्रै दोष होइन । राज्य पनि यसमा उत्तिकै जिम्मेवार छ । खोइ राज्यले हामीलाई राम्रोसँग इतिहास पढाएको ? त्यसेले आफूलाई बुझ्न इतिहास पढ्नु पर्ने रहेछ भन्ने कुराले झकझकाएपछि म यतातर्फ ढल्किएँ ।
- यस्ता पात्रहरूबारे लेख्नु पर्दा चुनौती चाहिँ कत्तिको हुँदो रहेछ ?
इतिहासका कुनै पनि पात्रबारे लेख्नु पर्दा चुनौती हुन्छ नै । यसले प्रशस्त अध्ययन र समयको माग गर्छ । परिवेश निर्माण गर्नु नै मुख्य चुनौती हो । परिवेश निर्माण वा पात्रहरूबिच संवाद गराउने क्रममा तिनीहरूले त्यसैकालको संवादको शैलीको माग गर्छन् । त्यतिबेला आजको संवाद शैली राखेर त भएन । त्यसका लागि पर्याप्त अध्ययन चाहियो । तर अध्ययन सामाग्रीको उपलब्धता चुनौती बनेर आइपुग्छ । ती सामग्री कहाँ खोज्ने, कसरी जम्मा गर्ने, भेटिएका सामाग्रीको विश्वसनीयताको कुरा पनि आउँछ ।
त्यसैले यस्तोमा इतिहासमा लेखिएको एउटा किताबमा मात्रै आधारित रहन सकिन्न । एउटा घटना वा पात्रबारे लेखिएका धेरै भन्दा धेरै पुस्तकको अध्ययन गर्नुपर्ने हुन्छ । अध्ययन गर्दै जाँदा पूर्वाग्रही सामाग्रीबाट जोगिएर आफूलाई निष्पक्ष राख्न सक्नु पर्छ ।
- समाज, धर्म, आस्था, विश्वासप्रति तपाईंले प्रश्न उठाइरहनु भएको छ, यसमा पाठकको कस्तो प्रतिक्रिया आउने रहेछ ?
यो विषय किन उठाएको भनेर मैले गाली पाएकी छैन । कुनै पनि मुद्दा उठाउँदा सांस्कृतिक धार्मिक हस्तक्षेपका रूपमा नदेखियोस्, कसैको खास संस्कृति वा धर्ममा आघात नपुगोस् भनेर म पर्याप्त सचेत हुने गरेकी छु ।
मैले हरहमेसा सोच्ने एउटै कुरा– लेखक कहिल्यै पूर्वाग्रही हुनु हुँदैन । म आफ्ना रचना दुवै धारतर्फ फर्काएर हेर्न मिल्ने गरी छर्लङ्ग राखिदिन्छ । यसलाई पढेर पाठकले मूल्याङ्कन गर्नु हुन्छ । मेरा केही अग्रजहरूले योगमायालाई अलिक बढी नायकका रूपमा प्रस्तुत गर्नु भयो कि भन्ने जिज्ञासा राख्नु भयो । तर, मैले उनका बारेमा पनि बढाई–चढाइ गरेको छैन । जति पनि सन्दर्भहरू थिए, मैले त्यसमै टेकेर लेखेको हो ।
अहिले लेख्दै गरेको ऐतिहासिक उपन्यासमा पनि मैले घटना, तिथि–मिति र त्यसको पदचापलाई बङ्ग्याएको छैन । त्यसमा केही हाँगाबिँगाहरू पलाउँदै गए होलान् तर त्यसको जरा भने त्यही नै हो । तपाईंले ‘चीरहरण’ को कुरा गर्नु भयो भने म आफै नारी भएकाले यो एकदमै सम्भव छ भनेर लेखेकी हुँ । त्यसैले अहिलेसम्म कसैले पनि तिमीले यो गलत लेख्यौँ भनेर भनेको छैन ।
_T3ZxN08m81.jpg)
‘द्रौपदी अवशेष’ मा बहुपति प्रथामा छ । यो म बाँचेको समाज भन्दा फरक समाजको कुरा थियो । तर यसलाई मैले हुम्लाका सांसद छक्कबहादुर लामालाई देखाएँ । उहाँले त्यहाँको सचित्र वर्णन देखेर अचम्म मान्नु भयो ।
- तपाईंको लेखनको खास उद्देश्य के हो ?
तपाईंले ठिक प्रश्न सोध्नु भयो, म एउटा खास उद्देश्यका लागि नै लेख्छु । तर, त्यसमा म कहिल्यै पनि आफ्ना कुरा थोपर्दिन । ‘मेरो गोरुको बाह्र टक्का’ भनेर म आफूलाई प्रमाणित गर्न लाग्दिन । लेखकले निष्पक्ष भएर लेखेको छ भने समाजमा त्यो स्वीकार्य हुन्छ । तर त्यसका लागि आफूले छान्ने प्रत्येक शब्द र संवादमा सचेत हुनुपर्छ ।
- ऐतिहासिक पात्रहरूप्रतिको तपाईंको आकर्षण कुनै पुस्तक पढेर भएको हो वा आफूले काम गर्दै जाँदा ?
पहिला मैले सामाजिक उपन्यास लेखेँ । त्यसपछि केही वर्ष रेडियो नेपालमा काम गरेँ । कविताहरू लेखेँ । त्यही बेलामा मैले मिथकमा आधारित रहेर ‘हवन’ कथा लेखे । बच्चा जन्मिएन भनेर पुरुषले श्रीमतीमाथि श्रीमती थपिरहँदा पुरुषको कारण महिला निःसन्तान हुने स्थितिमा यही समाजको घटना देखेर महाभारतको अम्बिका, अम्बालिका र ब्यासलाई बिम्ब बनाएर लेखे ।
त्यस्ता पात्रहरूमाथि लेख्ने मेरो पहिल्यै देखिको इच्छा थियो । मुख्य कुरा तिनताका मेरो अध्ययन त्यति फराकिलो र गहिरो भइसकेको थिएन । अहिले म पूर्णकालीन अध्ययन र लेखनमा छु, त्यसले मलाई आफ्नो बुझाई फराकिलो पार्न सहज बनाएको छ । ०५० ताका लेख्छु भनेर सोचेको उपन्यास ०७२ मा आएर लेखेँ । त्यति लामो समयसम्म पनि एउटा पात्रलाई लिएर कथा निर्माण पूरा भएको थिएन ।
- तपाईं नेपालका दुई प्रतिष्ठित पुरस्कार मदन र पद्मश्री पाउनु भयो, पुरस्कारले लेखनमा के प्रभाव पर्ने रहेछ ?
पुरस्कार पाउनु भनेको पाठकको अपेक्षाको बढ्नु हो । पुरस्कार पाएपछि पाठकको अपेक्षा भिन्न पाएँ । अपेक्षा फेरिनु भनेको जिम्मेवारी थपिनु हो । लेखकका रूपमा मैले पाठकको अपेक्षामा खरो उत्रिनु पर्ने हुन्छ । अपेक्षा पूरा भएन भने खबरदारी गर्ने पनि पाठकहरूले नै हो । कति पाठकहरू त कहिले किताब आउँला भनेर पर्खेर बसिरहनु हुन्छ । उहाँहरूलाई निराश गराउन त मिल्दैन । त्यसले अपेक्षाले अलिकति दबाब दिन्छ र यो दबाब अलिक भिन्न खालको हुन्छ ।
- तपाईंलाई नै झकझकाएको कुनै कृति छ ?
अहिले झट्ट सम्झँदा मलाई ‘तीन घुम्ती’को सम्झना भयो । ‘तीन घुम्ती’मा बीपीले कसरी इन्द्रमायालाई प्रस्तुत गर्नु भएको छ । इन्द्रमाया जस्तो बलियो महिला पात्र अनि उसले लिएको तीन निर्णय । त्यतिबेला महिलाको मन भित्र पसेर कसरी लेखेको होला भन्ने लाग्छ ।
- जीवनमा सोच नै बदल्ने त्यस्तो कुनै पुस्तक छ ?
मैले धेरै पहिला तसलिमा नसरीनको ‘आइमाईको हकमा’ पढेकी थिएँ । त्यसले मलाई फरक हिसाबले हेर्न सिकाएको थियो । महिलाको जीवनलाई बुझ्न एउटै पात्र पूर्ण हुँदैन । तर पढ्दै गर्दा पात्रहरू थपिदै गए । मेरो सोच बदल्ने अर्काे पुस्तक ‘माधवी’ हो । अलि–अलि गरेर जोडिँदा जोडिँदै बलिया महिला पात्रहरूले एकदमै ठुलो शक्ति प्रदान गर्दा रहेछन् ।
- आफूलाई प्रभाव पारेका नेपाली साहित्यकार वा कृतिहरू सम्झिनु पर्दा कसलाई सम्झिनु हुन्छ ?
कवितामा सम्झिँदा ईश्वर वल्लभको ‘मेरो आमाले आत्महत्या गरेको देश’ सम्झिन्छु । भूपी शेरचनको त भन्नै परेन । गोपालप्रसाद रिमालका कविताहरू सम्झिन्छु । उपन्यासमा सम्झिनु पर्दाखेरि बीपी कोइरालाका प्रायः सबै उपन्यास सम्झिन्छु । पारिजातको ‘शिरीषको फूल’ लगायत रचनाहरूलाई नजरअन्दाज गर्न मिल्दैन । इन्द्रबहादुर राईका कथाहरू मन पर्छन् । आंचलिकतामा भवानी भिक्षु, सनत रेग्मी, बानिरा गिरीको निर्वन्ध र कारागार... यस्ता घेरै छन् ।
- विदेशी कृति र साहित्यकार सम्झनु परेमा ?
सलमान रुस्दी, हर्मन हस्सेलाई सम्झन्छु । टोनी मेरिसन र हार्पर ली सम्झन्छु ।
- किताबको संसारसँग तपाईंको साइनो कसरी जोडियो ?
आरम्भिक दिनहरूमा साहित्यमा रुचि हुँदाहुँदै पनि हामीसामु खासै पुस्तक थिएनन् । न त किताब किन्नका लागि पैसा । २० वर्षको उमेरसम्म पनि पढ्न चाहेका किताबहरू पढ्न पाएकी थिइनँ । बिस्तारै पुस्तकालय खुल्न थाले, किताब चिन्न थालियो, किताबका लेखकहरू चिन्न थालियो । किताब पढिसकेपछि लेखकलाई भेट्दाको आनन्द फेरि बेग्लै हुन थाल्यो । अनि पछि–पछि जे भेट्यो त्यही पढ्ने गर्न थालियो । यस्तै गरेर बिस्तारै पढ्ने र लेख्न बानी बस्न थाल्यो ।
_vLzEqJWAH6.jpg)
- अहिले कुन कुन किताब पढ्दै हुनुहुन्छ त ?
अहिले त लेखिरहेकी छु । पछिल्लो समय भने ‘लिच्छविकालीन इतिहास’ पढी रहेकी थिएँ ।
- साहित्यमा ‘अन्डररेटेड’ र ‘ओभररेटेड’ भन्ने हुन्छ कि हुँदैन ? के लाग्छ तपाईंलाई ?
तपाईंले भनेको कुरा लेखनमा मात्रै होइन, समाजको हरेक क्षेत्रमा हुन्छ । तर ‘ओभररेटेड’ भएपछि त्यसको मूल्य त्यही व्यक्तिले चुकाउनु पर्ने हुन्छ । त्यसैले मलाई लाग्छ लेखकले आफूलाई यसबाट जोगाउनु पर्छ ।
- यो डिजिटल युगमा पठन संस्कृतिको अवस्था कस्तो देख्नुहुन्छ ?
मेरा पाठकहरूले मेरो इनबक्समा, मेरो इमेलमा सिधै सुझाव, प्रतिक्रियाहरू पठाउनु हुन्छ, म त्यसमा धेरै विश्वास गर्छु । हिजोको तुलनामा अहिले मान्छे अति व्यस्त भएका छन्, तर किताब पढ्नेहरू पनि बढेका छन् । अहिलेका पुस्ताका बालबालिकाहरू नेपाली किताब पढ्दैनन् । अङ्ग्रेजी पढ्छन् । त्यसैले अबका लेखक साहित्यकारहरूले यो पुस्तालाई ध्यानमा राखेर लेख्नु पर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसाेतसाे सत्ता जाेगाए सुदूरपश्चिमका मुख्यमन्त्री शाहले
-
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्याे उपेन्द्र यादवको पक्षमा फैसला
-
जातीय भेदभाव राष्ट्रको साझा समस्या हो : गगन थापा
-
फारम भरेका एक वर्षपछि बल्ल परीक्षा, रिजल्ट के होला ?
-
काठमाडौँ फनपार्कलाई २ लाख ५ हजार जरिवाना, ऐन विपरित व्यापार गर्ने ८ फर्म पनि कारबाहीमा
-
कर्णालीका उपसभामुखको निजी निवासमा चोरीको प्रयास, झ्याल ढोका तोडफोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण