शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अस्ट्रेलियालाई उसकै मैदानमा हराउँदै भारतीय महिला टोलीले रच्यो इतिहास

आइतबार, १० फागुन २०८२, ०९ : ५३
आइतबार, १० फागुन २०८२

सारांश

  • भारतीय महिला क्रिकेट टोलीले अस्ट्रेलियालाई १७ रनले हराएर टी-२० सिरिज २-१ ले जित्यो।
  • भारतका लागि स्मृति मन्धानाले ८२ रन बनाइन् र प्लेयर अफ द म्याच घोषित भइन्।
  • अस्ट्रेलियाले १७७ रनको लक्ष्य पछ्याउँदै १५९ रन मात्र बनायो, जसमा पाटिल र चरणीले ३-३ विकेट लिए।

सिड्नी । भारतीय महिला क्रिकेट टोलीले तेस्रो तथा अन्तिम टी-२० खेलमा बलियो प्रतिद्वन्द्वी अस्ट्रेलियालाई १७ रनले स्तब्ध पारेको छ। यो ऐतिहासिक जितसँगै भारतले तीन खेलको सिरिज २-१ ले आफ्नो पक्षमा पारेको छ। 
अस्ट्रेलियाली भूमिमा सन् २०१६ पछि भारतको यो पहिलो टी-२० सिरिज जित हो भने अस्ट्रेलियालाई उसकै घरमा हराएर सिरिज जितेको यो पहिलो अवसर समेत बनेको छ।

टस जितेर पहिले ब्याटिङ रोजेको भारतीय टोलीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७६ रनको बलियो योगफल खडा गरेको थियो। भारतका लागि ओपनर स्मृति मन्धानाले विस्फोटक पारी खेलिन्। 

उनले मात्र ५५ बलमा ८ चौका र ३ छक्काको मद्दतले सानदार ८२ रन बनाइन्। मन्धानाकै यही प्रदर्शनका कारण उनलाई प्लेयर अफ द म्याच चुनियो। 

उनलाई जेमिमा रोड्रिग्सले बलियो साथ दिइन्। रोड्रिग्सले ४६ बलमा ५९ रनको महत्त्वपूर्ण योगदान दिइन्।

१७७ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाली टोली १९.४ ओभरमा १५९ रनमै समेटियो। भारतका लागि बलिङमा श्रेयाङ्का पाटिल र श्री चरणीले घातक बलिङ गरे। दुवैले समान ३-३ विकेट लिएर अस्ट्रेलियाको मध्यक्रम ध्वस्त पारे। यस्तै अरुन्धती रेड्डीले २ विकेट लिइन् भने रेणुका सिंह ठाकुरले १ विकेट झारिन्।

घरेलु मैदानमा लक्ष्य पछ्याउने क्रममा अस्ट्रेलियाको सुरुवात निकै खराब रह्यो। टोलीले १९ रनको स्कोरमै पहिलो विकेटका रूपमा जर्जिया भोल (१० रन) लाई गुमाएको थियो। स्टार ब्याटर बेथ मुनी पनि मात्र ६ रन बनाएर आउट भएपछि अस्ट्रेलिया दबाबमा आयो। 

अस्ट्रेलियाका लागि एश्ले गार्डनरले ५७ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई हारबाट जोगाउन सकिनन्। नियमित अन्तरालमा विकेट गुमाएको अस्ट्रेलियाले २० ओभरमा ९ विकेट गुमाएर १५९ रन मात्र बनाउन सक्यो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप