काठमाडौँ क्षेत्र नं ९ को घरदैलो : ‘भोट’को बदलामा ‘भेट’ खोज्दै मतदाता
सारांश
- काठमाडौँ क्षेत्र नं ९ मा निर्वाचन नजिकिँदै गर्दा मतदाताहरूले उम्मेदवारहरूसँग प्रश्न सोधिरहेका छन्।
- मतदाताहरूले चुनाव जितेपछि नेताहरू हराउने पुरानो अनुभवको बारेमा गुनासो गरेका छन्, र बारम्बार फर्किने नेताको अपेक्षा राखेका छन्।
- उम्मेदवारहरूले मतदाताको मन जित्न घरदैलो गरिरहेका छन् र चुनावपछि पनि फर्कने आश्वासन दिइरहेका छन्।
काठमाडौँ । फागुन २१ गते (निर्वाचन मिति) नजिकिँदै गर्दा काठमाडौँ क्षेत्र नं ९ का चिया पसल, चोक र गल्लीहरूमा युवादेखि वृद्धसम्मको एउटै चर्चा सुन्न सकिन्छ, ‘यो पटक कसलाई भोट दिने ?’ चुनावी रन्को नागार्जुन–७ को डाँडामा रहेको स्विजरल्यान्ड पार्कदेखि कलङ्कीको भिडभाडसम्म छाएको छ ।
सांगीतिक तालसहित दलका झन्डा बोकेका गाडीहरूको ओहोरदोहोरले पूरै क्षेत्र उत्सवमय देखिन्छ । क्षेत्रभरि सर्वसाधारणको घरदैलोमा पुग्ने उम्मेदवार र कार्यकर्ताको ताँती देख्न सकिन्छ ।
यो उल्लासमय वातावरणमा पनि मतदाताका गम्भीर र पुराना प्रश्नहरू उस्तै जीवन्त छन् । घरदैलोमा उम्मेदवार पुग्दा मतदाताबाट सबैभन्दा बढी सोधिने प्रश्न हो, ‘भोट माग्न मात्र आउनुहुन्छ कि जितेपछि पनि अनुहार देखाउनुहुन्छ ?’ मतदाताका यस्ता प्रश्नले नयाँ–पुराना उम्मेदवार र दल कसैलाई पनि छाडेको छैन ।

नेपाली कांग्रेसकी नानु बास्तोला, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का माइला लामा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का डीपी अर्याल, नेकपा एमालेका डा. अजयक्रान्ति शाक्य, राष्ट्रिय जनमोर्चाका रोशन दानी लगायतका उम्मेदवारहरू यतिबेला मतदाताको मन जित्न, उनीहरूलाई फकाउन र गुनासो सुन्न घरदैलोमा व्यस्त छन् । तर, उनीहरू जहाँ पुग्छन्, त्यहाँका मतदाताले पुराना तीता अनुभवका आधारमा उनीहरूतर्फ प्रश्न तेर्स्याइहाल्छन् ।
रातोपाटी टोली पुग्दा नेपाली कांग्रेसकी उम्मेदवार नानु बास्तोला नागार्जुन नगरपालिका–७ का विभिन्न स्थानमा घरदैलो गर्दै थिइन् । कांग्रेसका केन्द्रीय सदस्य, पूर्वसांसद, उम्मेदवारदेखि पार्टीका क्षेत्रीय र विभिन्न तहका व्यक्ति तथा कार्यकर्ताको लस्करसहित घरदैलोमा पुग्दा बास्तोलालाई मतदाताले सोधे, ‘अघिल्लो पटक जितेकाहरू कता हराए ? तपाईं पनि भोट पाएपछि हराउने त होइन ?’
नागार्जुन नगरपालिका–७ पुरीगाउँका ७२ वर्षीय ठाकुर पुरीले भोट माग्दै गरेकी कांग्रेस उम्मेदवार बास्तोलालाई प्रश्न गरे, ‘भोट माग्न त आउनुभयो, पछि पनि आउनुहुन्छ कि आउनुहुन्न ?’ पुरीले यसअघि भोट माग्न आएका नेताहरूलाई चुनावपछि देख्न नपाएको गुनासो गरे ।
वृद्ध पुरीले उम्मेदवारहरूलाई दिने सुझाव निकै घतलाग्दो छ । ‘हरेक उम्मेदवारलाई मेरो एउटै आग्रह छ, यो गरिदिन्छु, त्यो गरिदिन्छु भनेर ठूलाठूला आश्वासन नबाँड्नुहोस्,’ पुरी भन्छन्, ‘जे सक्नुहुन्छ, त्यही मात्र भन्नुस् ।’
नेताहरूले निर्वाचनका बेला ठूला आश्वासन दिने तर जितेपछि सडकका खाल्डा पुर्नसमेत नआउने प्रवृत्तिप्रति आफ्नो चित्त दुखेको उनले बताए । उनी थप्छन्, ‘ठूला आश्वासनले विश्वास होइन, अविश्वास बढाउँछ । हामीलाई ठूला महल होइन, सुखदुःखमा साथ दिने र जितेपछि पनि फर्केर आउने नेता चाहिएको छ ।’ पुरीको गुनासो सुनेपछि बास्तोलाले आफू सानैदेखि यही क्षेत्रमा खेलेर हुर्किएको भन्दै चुनावको परिणाम जे आए पनि यस क्षेत्रमा बारम्बार फर्किने आश्वासन दिइन् ।
कांग्रेसकी बास्तोलालाई मात्र होइन, अन्य दलका उम्मेदवारको घरदैलोमा पनि मतदाताले यही प्रश्न सोध्ने गरेका छन् । रातोपाटी टोली पुग्दा कार्यकर्ताको भिडभाडका साथ रास्वपाका डीपी अर्याल चन्द्रागिरि–१३ नैकापमा घरदैलो गर्दै थिए । सोही क्रममा ५१ वर्षीय नवराज केसीले उम्मेदवार अर्याललाई प्रश्न गरे, ‘अहिले नमस्कार गर्ने र पछि बिर्सिनेलाई केको नमस्कार ?’
_hyYufFpbVK.jpg)
‘अहिले जसरी आउनुभएको छ, जितेपछि पनि त्यसरी नै आउनुहुन्छ नि ?,’ उनले अर्यालतर्फ प्रश्न थपे, ‘भोलिका दिनमा काम गराउन खुट्टा ढोग्नुपर्ने अवस्था त आउँदैन नि ?’
केसीको प्रश्नमा अर्यालले मतदातालाई एउटा समयसीमा नै दिए । उनले भने, ‘यदि मैले जितेँ भने २१ दिनभित्र यही क्षेत्रमा फर्केर सबै मतदातालाई भेट्नेछु ।’ आफू यस क्षेत्रबाट पहिलो पटक उम्मेदवार बनेको भन्दै विगतमा को आए वा आएनन् भन्ने आफूलाई थाहा नभएको अर्यालले बताए ।
रातोपाटी टोली पुग्दा नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का उम्मेदवार माइला लामा चुनावी गीत घन्काउँदै काठमाडौँ महानगरपालिका–१४, कलङ्कीस्थित खड्का गाउँका मतदाता भेट्दै थिए ।

उता, नेकपा एमालेका उम्मेदवार डा. अजयक्रान्ति शाक्य भने प्रदेश सांसदका उम्मेदवार केशव पोखरेलसहित नागार्जुन नगरपालिका–६ को सेतोगुम्बा आसपासका स्थानमा भोट माग्दै थिए ।
लामा र शाक्यलाई पनि मतदाताले ‘बेरोजगारी हटाउने तपाईंहरूको योजना के छ ?’, ‘चुनावको बेलामा मात्रै हो कि भोलि पनि आउने हो ?’ जस्ता प्रश्न गर्दै दुवैलाई चुनावपछि पनि गाउँ फर्किन सुझाएका थिए ।
लामाले मतदातालाई आफू यही माटोको मान्छे भएको र जितेपछि पनि जनताकै सेवामा समर्पित हुने कसम खाए । यस क्षेत्रको विकास अब आफ्नो जिम्मा भएको भन्दै लामाले मतदातालाई ढुक्क हुन आग्रह गरे ।
त्यस्तै, एमाले उम्मेदवार डा. अजयक्रान्ति शाक्यले २०७४ मा पनि आफू यसै क्षेत्रबाट प्रदेश सांसदको उम्मेदवार बनेको बताउँदै यस क्षेत्रसँग आफू सधैँ नजिक रहेको र कहिल्यै टाढा हुन नसक्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण