सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

किन अचानक बदलियो काङ्ग्रेसको निशाना ?

बुधबार, ०९ साउन २०७५, १२ : २५
बुधबार, ०९ साउन २०७५

काठमाडौं– साउन ७ पछि नेपाली काङ्ग्रेसको निशाना बदलिएको छ । यसअघि सरकारको नेतृत्वकर्ता तथा नेकपाका अध्यक्ष केपी ओलीप्रति लक्षित गरेर कडा प्रतिकृया जनाउने प्रमुख प्रतिपक्ष काङ्ग्रेसले साउन ७ पछि भने सोही पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलक्षित आक्रोश पोख्न थालेको छ । 

नेकपाले साउन ७ गते काठमाडौँमा आयोजना गरेको कार्यक्रममा प्रचण्डले काङ्ग्रेसमाथि चर्को हमला गरेका थिए । गत निर्वाचनयता काङ्ग्रेसप्रति नरमजस्तै देखिएका प्रचण्ड सोमबार आफ्नो मौनता तोड्दै काङ्ग्रेसप्रति अचानक खनिएका थिए । 

सो कार्यक्रममा प्रचण्डले डा. केसीको जीवन रक्षाबारे काङ्ग्रेसलाई मात्रै बढी चिन्ता भएको जसरी अभिव्यक्ति दिने र आन्दोलन नै चर्काउने गरेको भन्दै उसको उछितो काढेका थिए । 

ओलीले दुई हिताई बहुमत पाएको पार्टीमा सरकारको बचाउमा लेख्ने र बोल्ने मान्छे नभएको भन्दै असन्तुष्टि जनाएपछि प्रचण्डको विपक्षीमाथि आक्रामक अभिव्यक्ति आएको हो । प्रचण्डले ओलीलाई मंचमै राखेर काँग्रेसमाथि निशाना लगाएका थिए । काँग्रेसका नेता–कार्यकर्ताले सामाजिक संजालमा पनि प्रचण्डमाथि नै प्रहार गरेका छन् । 

लास शब्दले निशाना प्रचण्डतर्फ 

‘डा. केसीको जीवनरक्षा गर्ने दायित्व सरकारको हो, अर्को पक्ष गम्भीर छैन । तथाकथित लोकतान्त्रिक भन्ने तागत सायद उहाँको हत्या गर्न चाहन्छ । के काङ्ग्रेसले लासको राजनीति गर्न चाहेको हो ? काङ्ग्रेसले खोजेको के हो ? डा. केसीको पुच्छर समाएर लोकतान्त्रिक गणतन्त्र हरण गर्न खोजेको हो ? काङ्ग्रेस यति निम्छरो, कमजोर र अलोकतान्त्रिक भइसकेको हो ?’ प्रचण्डले सम्बोधनका क्रममा भनेका थिए । 

प्रचण्डको यही अभिव्यक्ति काङ्ग्रेसका लागि ‘मसला’ बन्यो र निशाना प्रचण्डतिर सोझियो । ‘त्यो दिन अध्यक्ष प्रचण्डले लासको राजनीतिसँग काङ्ग्रेसलाई जोडेकाले नेताहरूको अभिव्यक्ति त्यसतर्फ केन्द्रित हुनु स्वभाविक हो’, काङ्ग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले रातोपाटीसँग भने, ‘तर हाम्रो मुख्य लडाइँ भने सरकारसँगै हो, प्रधानमन्त्रीसँगै हो ।’ 

यद्यपि सरकारकै नेतृत्व गर्ने पार्टीका एक अध्यक्षबाट त्यस्तो अभिव्यक्ति आउला भन्ने आफूहरूले नसोचेको काङ्ग्रेस नेताहरूको भनाइ छ । 

‘ओलीभन्दा प्रचण्ड केही सुझबुझका साथ बोल्नुहुन्छ भन्ने हामीलाई लागेको थियो तर त्यो दिनको उहाँको बोली ओलीको भन्दा फरक भएन, हामीलाई पनि अचम्म लाग्यो’ नेता महतले भने । 

ओली र प्रचण्डले काङ्ग्रेसमाथि हमला गरेकै दिन काङ्ग्रेसले प्रधानमन्त्री ओली र प्रचण्डबाट व्यक्त धारणाप्रति आपत्ति जनायो । काङ्ग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले  विज्ञप्ति नै जारी गरी ओली र प्रचण्डका अभिव्यक्ति ‘दयनीय र आपत्तिजनक’ भएको भन्दै  सरकार र सत्तापक्षलाई यस्ता हलुका र दम्भयुक्त शब्दको लफ्फाजीभन्दा माथि उठ्न सचेत गराए ।

सत्तारुढ दलका शीर्ष नेता र मन्त्रीमाथि पालौपालो हमला गरेर विपक्षी दलले राजनीतिक मुद्दा उठाउन खोजेको छ । यहीँबीचमा कानुनमन्त्रीको पनि राजीनामा आएको छ । काँग्रेसले मन्त्री शेरबहादर तामाङको राजीनामा मागेको थियो । 

स्वरूप बदल्ने तयारी

प्रधानमन्त्री ओली र प्रचण्डले डा.केसीको अनशन र काङ्ग्रेसप्रति ‘तीतो’ पोखेको भोलिपल्टबाट नै लामो समयदेखिको संवादहीनता तोडिएको छ र वार्ता सुरु भएको छ । यदि केसीसँगको वार्तामा सहमति जुटे काङ्ग्रेसले आफ्नो आन्दोलनको स्वरूप बदल्ने रणनीति बनाएको छ । 

‘डा. केसीका माग सम्बोधन नहुँदासम्म अरू विषयभन्दा केसीकै विषयमा आन्दोलन केन्द्रित हुन्छ, यदि केसीका माग पूरा भए आन्दोलनको स्वरुप परिवर्तन हुन्छ तर सरकार हटाउने आन्दोलन हुँदैन’, नेता महतले रातोपाटीसँग भने । 

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीमा यसबारे छलफल भइरहेको बताए । 

‘केसीबाहेक पनि अरू मुद्दा धेरै छन्, ती विषयलाई काङ्ग्रेसले सशक्त मुद्दा बनाउँछ, सचेतता अपनाउन र विधिको शासन सञ्चालन गर्नेतर्फ सरकारलाई सजग गराउनु प्रतिपक्षको धर्म नै हो’, काङ्ग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘सभामुख उपसभामुखको विषय छ, महँगी भ्रष्टाचारलगायतका विषयमा पनि काङ्ग्रेस बोल्छ ।’ 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप