बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बाफ्टा अवार्ड्समा मणिपुरी फिल्म ‘बुङ’ को ऐतिहासिक सफलता

मङ्गलबार, १२ फागुन २०८२, १२ : ५९
मङ्गलबार, १२ फागुन २०८२

लण्डन । बेलायती एकेडेमी अफ फिल्म एण्ड टेलिभिजन आर्ट्स (बाफ्टा) २०२६ मा भारतीय चलचित्र ‘बुङ’ ले इतिहास रचेको छ। ७९औँ बाफ्टा अवार्ड्समा फरहान अख्तरद्वारा निर्मित मणिपुरी फिल्मले ‘चिल्ड्रेन्स एण्ड फेमिली फिल्म’ विधामा उत्कृष्ट चलचित्रको अवार्ड जितेको हो। 

लण्डनमा आयोजित भव्य समारोहका बिच फिल्मका निर्माता रितेश सिधवानी, फरहान अख्तर, एलन म्याकएलेक्स र निर्देशक लक्ष्मीप्रिया देवीले यो प्रतिष्ठित पुरस्कार ग्रहण गरे। अन्तर्राष्ट्रिय मञ्चमा निकै प्रतिस्पर्धात्मक मानिएको यो विधामा ‘बुङ’ ले हलिउडका 'जुयोटपिया २', 'लिलो एण्ड स्टिच' र 'आर्को' जस्ता ठूला ब्यानरका चलचित्रलाई पछि पार्न सफल भएको छ। 

सन् २०२४ मा रिलिज भएको यस चलचित्रलाई लक्ष्मीप्रिया देवीले निर्देशन गरेकी हुन्। फिल्मले एक सानो बालकको भावनात्मक यात्राको कथा भन्छ, जो आफ्नी आमालाई एउटा विशेष उपहार दिएर छक्क पार्न चाहन्छ। 

आफ्नो घर छाडेर टाढा बसेका बुबालाई फिर्ता ल्याउनु नै आमाका लागि सबैभन्दा ठूलो उपहार हुने सोचेर उनी बुबाको खोजीमा निस्कन्छन्। बुबा खोज्ने क्रममा उनले गर्ने संघर्ष र अन्त्यमा उनले सोच्दै नसोचेको अनौठो उपहार प्राप्त गरेको दृश्यलाई फिल्ममा मार्मिक ढंगले उतारिएको छ।

विश्वका प्रतिष्ठित टोरोन्टो इन्टरनेशनल फिल्म फेस्टिभल र वारसा इन्टरनेशनल फिल्म फेस्टिभलमा समेत प्रदर्शन भई प्रशंसा बटुलेको यस फिल्मले बाफ्टा जितेसँगै भारतीय क्षेत्रीय चलचित्रको साख विश्वभर बढाएको छ। विशेषगरी मणिपुरी भाषा र परिवेशमा बनेको फिल्मले विश्वस्तरको अवार्ड जित्नुलाई दक्षिण एसियाली सिने क्षेत्रका लागि ठूलो उपलब्धिका रूपमा हेरिएको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप