बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
प्रतिनिधि सभा निर्वाचन

भोलिसम्म सबै जिल्लामा पुर्‍याइँदै मतपत्र

उपत्यकाबाट नजिकका केही र तराईका ३ वटा जिल्लामा पुग्न बाँकी
मङ्गलबार, १२ फागुन २०८२, १८ : ४३
मङ्गलबार, १२ फागुन २०८२

सारांश

  • प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतपत्र नेपाली सेनाको स्कर्टिङमा जिल्लाहरूमा पठाइँदैछ।
  • निर्वाचन आयोगका अनुसार, मंगलबार रातिसम्ममा ७० जिल्लामा मतपत्र पुगिसक्नेछ।
  • उच्च हिमाली जिल्लामा चिसोका कारण ढुवानीमा समस्या देखिएपछि हेलिकप्टरबाट सामग्री पठाउनेबारे छलफल भइरहेको छ।

काठमाडौँ । फागुन २१ मा हुन लागेको प्रतिनिधीसभा सदस्य निर्वाचनको मतपत्र नेपाली सेनाको स्कर्टिङमा जिल्लाहरूमा पठाउने काम भइहरेको छ । मंगलबार राति सम्ममा ७० जिल्लामा मतपत्र पुगिसक्ने निर्वाचन आयोगका अधिकृतहरू बताउँछन् ।

भक्तपुरको सानोथिमीस्थित जनक शिक्षा सामग्री केन्द्रमा मतपत्र छपाइको सुरक्षा सेनाले गरेको छ । मतपत्र ढुवानीको स्कर्टिङ पनि सेनाले नै गरेर जिल्लाहरूमा पठाउने काम भइरहेको छ ।

काठमाडौँ उपत्यकाबाट नजिकका केही र तराईका ३ वटा जिल्लामा मतपत्र पुग्न बाँकी रहेको निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले रातोपाटीलाई बताए । उनले भने, ‘केही जिल्लामा पुग्न बाँकी छ, भोली साँझसम्म सबै जिल्लामा मतपत्र पुग्छ ।’

निर्वाचन आयोगले मतपत्रबाहेक अन्य निर्वाचन सामग्री पनि अधिकांश जिल्लामा पठाइसकेको छ । निर्वाचन सामग्री ढुवानीको स्कर्टिङ सशस्त्र प्रहरी बलले गरिरहेको छ । ७७ वटै जिल्लामा निर्वाचन सामग्री पुगेको सशस्त्र प्रहरीका प्रवक्ता (डीआईजी) विष्णु प्रसाद भट्टले रातोपाटीलाई बताए । उनले भने, ‘कतिपय जिल्लामा सशस्त्रको टोलीले स्कर्टिङ गरेर लगिरहेको छ, सबैतिर आज रातिसम्म पुगिसक्छ ।’

निर्वाचन सामग्री सदरमुकाममा पुगे पनि उच्च हिमाली जिल्लामा चिसोका कारण कसरी ढुवानी गर्ने भन्नेबारे मंगलबार निर्वाचन आयोगमा बसेको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकमा छलफल भएको थियो । हुम्ला, डोल्पा, मुगु र मनाङस्थित उच्च हिमाली क्षेत्रमा चिसोका कारण ढुवानीमा समस्या रहेको छलफल भएको बैठकमा सहभागी एक उच्च सुरक्षा अधिकारीले रातोपाटीलाई बताए । चार वटा जिल्लामा मतदाता र सुरक्षाकर्मीहरू समेत चिसो छल्न बेसी झरेका छन् । चिसो मौसमको प्रभाव रहेका जिल्लामा हेलिकप्टरबाट निर्वाचन सामग्री र जनशक्ति पठाउनेबारे आयोगले छलफल गरिरहेको जनाएको छ ।

निर्वाचनअघि तराईमा परेको होली र जनकपुरमा हुने माध्यमिकी परिक्रमा मेलाका कारण निर्वाचनमा सुरक्षामा चुनौती देखिन सक्ने आकलन गरिएको छ । फागुन १९ मा तराईमा होली पर्व मनाइँदै छ । जनकपुरमा हुने माध्यमिकी परिक्रमा मेलामा भारतको सीतामढीबाट हिँडेर हजारौँ मानिस जानकी मन्दिरमा आएर फागुन १८ मा फर्किन्छन् । सो परम्परा र होलीलाई कसरी व्यवस्थापन गर्ने भन्नेबारे आयोगलको उच्च सुरक्षा अधिकारीहरूसँग छलफल गरेको छ । बैठकमा सहभागी निर्वाचन आयोगका एक अधिकृत भन्छन्, ‘मौन अवधिमा होली पर्व परेकाले कसरी व्यवस्थापन गर्ने भन्नेबारे छलफल भएको छ ।’

उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, निर्वाचन आयोगका सचिव कृष्ण बहादुर राउत, नेपाल प्रहरीका आईजीपी दान बहादुर कार्की, सशस्त्र प्रहरीका आईजी राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख र नेपाली सेनाका प्रतिनिधीहरू सहभागी थिए ।

हिमाली जिल्लामा चिसोका कारण निर्वाचनमा खटिने सुरक्षाकर्मीलाई लेक लाग्ने समस्या आउन सक्छ । चुनाव गराउने अन्य कर्मचारीहरूलाई पनि सो समस्या देखिने आकलन गर्नै त्यसलाई व्यवस्थापन गर्नेबारे छलफल भएको सुरक्षा अधिकृतहरू बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप