बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अर्थतन्त्र जोगाउने चुनौतीबिच चान्सलर मर्ज चीन भ्रमणमा

बुधबार, १३ फागुन २०८२, ११ : ००
बुधबार, १३ फागुन २०८२

सारांश

  • जर्मनीका चान्सलर फ्रेडरिक मर्ज व्यापारिक प्रतिनिधिमण्डलसहित चीन पुगेका छन्, चीनसँगको व्यापारिक खाडल बढ्दै गएपछि उनको भ्रमण भएको हो।
  • जर्मनीले चीनबाट गर्ने आयातको तुलनामा निर्यात आधा मात्रै रहेको छ, जसले गर्दा जर्मन अर्थतन्त्रमा असर परेको छ।
  • मर्जको भ्रमणले व्यापारिक असन्तुलन सुधार्ने र युक्रेन युद्ध अन्त्यका लागि चीनलाई रूसमाथि दबाब दिन मनाउने लक्ष्य राखेको छ।

टोकियो । जर्मनी र चीनबिचको व्यापारिक खाडल अस्वाभाविक रूपमा बढ्दै गएपछि जर्मन चान्सलर फ्रेडरिक मर्ज एक ठूलो व्यापारिक प्रतिनिधिमण्डलसहित बेइजिङ ओर्लिएका छन् ।

जर्मन उद्योगीहरूले चिनियाँ आयातको बाढीले आफ्नो देशको अर्थतन्त्रको मेरुदण्ड नै भत्काउन लागेको चेतावनी दिइरहेका बेला मर्जको यो भ्रमणलाई निकै महत्त्वका साथ हेरिएको छ । विशेषगरी कार, मेसिनरी र रसायन क्षेत्रमा चीनको बढ्दो प्रभुत्वले युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र जर्मनीलाई रक्षात्मक अवस्थामा पुर्‍याएको छ ।

गत वर्षको तथ्याङ्क अनुसार जर्मनीले चीनबाट गर्ने आयातको तुलनामा निर्यात आधा मात्रै रहेको छ । सन् २०२५ मा जर्मनीले चीनबाट १७०।६ अर्ब युरो बराबरको सामान भित्र्याउँदा मात्र ८१।३ अर्ब युरोको सामान पठाउन सक्यो ।

अघिल्लो वर्षको तुलनामा आयात झण्डै ९ प्रतिशतले बढ्नु र निर्यात १० प्रतिशतले घट्नुले जर्मन अर्थतन्त्रमा चिनियाँ झट्का लागेको विश्लेषण गरिएको छ । चान्सलर मर्जले बेइजिङ प्रस्थान गर्नुअघि आफूले चीनसँग सन्तुलित, भरपर्दो र निष्पक्ष साझेदारी चाहेको प्रस्ट पारेका थिए ।

जर्मन आर्थिक संस्थानका विज्ञहरूका अनुसार चीनले आफ्नो उद्योगलाई दिने भारी अनुदान र मुद्राको अवमूल्यनका कारण चिनियाँ सामानहरू सस्तो भएका हुन् । यसले गर्दा जर्मन उत्पादनहरूले बजारमा प्रतिस्पर्धा गर्न सकिरहेका छैनन् ।

विशेषगरी विद्युतीय सवारी साधनको क्षेत्रमा चीनको एकाधिकारले जर्मनीको गौरव मानिने कार उद्योगमा व्यापक रोजगारी कटौती भइरहेको छ । एकातिर अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको महसुल नीतिका कारण त्रसित युरोप अर्कोतिर चीनसँगको व्यापारिक युद्धमा फस्न चाहँदैन, तर आफ्ना उद्योग जोगाउनुपर्ने बाध्यतामा छ ।

चान्सलर मर्जका सामु व्यापारिक असन्तुलन सुधार्ने मात्र नभई युक्रेन युद्ध अन्त्यका लागि रूसमाथि दबाब दिन चीनलाई मनाउनुपर्ने अर्को जटिल कार्यभार पनि छ । विगतमा एन्जेला मर्केलले व्यापारका माध्यमबाट सम्बन्ध सुधार्ने नीति लिए पनि अहिले त्यो रणनीति असफल सिद्ध भएको देखिन्छ ।

मर्जले चीनसँगको सम्बन्ध पूर्ण रूपमा विच्छेद गर्ने पक्षमा नरहेको तर जोखिम कम गर्ने नीतिलाई निरन्तरता दिने बताएका छन् । यो भ्रमणले जर्मनीले आफ्नो खस्कँदो उद्योगलाई कसरी पुनर्जीवित गर्छ र चीनसँगको निर्भरता कसरी घटाउँछ भन्ने कुराको फैसला गर्नेछ । –बीबीसी 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप