बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
चुनावी Ground Zero : धनुषा- ३

‘मतदातालाई अनुहार मात्र देखाउने राजनीति अब चल्दैन’

रामायण पुस्तकालयदेखि कुटी संरक्षणसम्म मेरा योजना छन् : मनिष झा (रास्वपा उम्मेदवार, धनुषा–३)
बुधबार, १३ फागुन २०८२, १५ : ४१
बुधबार, १३ फागुन २०८२

सारांश

  • रास्वपाका उम्मेदवार मनिष झाले निर्वाचन अनुभव र चुनावी एजेण्डाबारे कुराकानी गर्दै मतदाताको चासो र असन्तुष्टिबारे चर्चा गरे।
  • उनले कृषि व्यवसायिकीकरण, जनकपुर-जयनगर रेल सञ्चालन, जानकी मन्दिरको संरक्षण र युवा लक्षित योजनाहरू आफ्नो प्राथमिकतामा रहेको बताए।
  • झाले स्रोत व्यवस्थापन र कार्यान्वयनको सम्भावनाबारे प्रकाश पार्दै विपक्षीको चुनौती सामना गर्न आफू तयार रहेको बताए।

आगामी निर्वाचनका लागि रातोपाटी ‘ग्राउन्ड जिरो’ टोली यतिखेर जनकपुर आइपुगेको छ। यसै सन्दर्भमा हामीले धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मनिष झासँग कुराकानी गरेका छौँ। 

प्रस्तुत छ, उक्त कुराकानीको सम्पादित अंश :

तपाईँको निर्वाचनको पहिलो अनुभव र प्रत्यक्ष प्रतिस्पर्धाको यो यात्रा कस्तो भइरहेको छ ? घरदैलो र व्यक्ति भेट्दाको प्रतिक्रिया कस्तो छ ?

सुरुमा घरदैलो सुरु गर्नुअघि हामी टोलटोलमा गएर क्लस्टर मिटिङ र समूहगत बैठक गर्थ्यौँ। त्यतिबेला तुलनात्मक विश्लेषण, बहस र घोषणापत्रका विषयमा धेरै कुराकानी हुन्थ्यो। तर ६२–६३ को आन्दोलनपछि, धेरै मतदाताले उम्मेदवारलाई चिनेका वा देखेका हुँदैनथे। त्यसैले अनुहार देखाउने चलन सुरु भयो।

तर यसले गर्दा उम्मेदवारको प्रभावकारिता घट्दै गयो। मतदाताको चाहना पनि ‘उम्मेदवार म कहाँ आउँछ कि आउँदैन’ भन्नेमै सीमित भयो। जसले गर्दा उम्मेदवारको पृष्ठभूमि, विचार, योजना वा क्षमताका कुराहरू ओझेलमा परे। ‘मेरो घरमा आयो कि आएन, फोन उठायो कि उठाएन’ जस्ता कुराहरू प्राथमिकतामा पर्न थाले।

यसको एउटा सकारात्मक पक्ष भनेको मानिसहरूमा राजनीतिप्रतिको चासो बढेको छ। पहिले मानिसहरू ढोकासम्म खोल्दैनथे, अहिले त घरको ढोकामै आएर ‘को रैछ हेरौँ न’ भन्दै नमस्कार फर्काउनेसम्मको परिवर्तन आएको छ।

मतदाताहरूले उम्मेदवारहरूलाई प्रश्न गर्न पनि थालेका छन् रे हो ? 

हो, प्रश्न गर्न थालेका छन्। यो एउटा सुखद पक्ष हो। तर सँगसँगै मानिसहरूमा राजनीतिप्रति असन्तुष्टि पनि व्याप्त छ। म पहिलोपटक प्रत्यक्षतर्फको उम्मेदवार हुँ। तर सात पटकदेखि चुनाव लडिरहेकाहरूप्रतिको रिस पनि मतदाताले मैमाथि पोख्ने गर्छन्।

एउटा उदाहरण दिन्छु। म धनुषा ३ कै एउटा गाउँमा गएको थिएँ। त्यहाँ पुगेपछि मैले आफ्नो परिचय नदिइकन यसपालि कसलाई भोट दिने विचार छ ? भनेर सोधेँ। उहाँहरू अचानक रिसाएर झम्टिनुभयो । तर ५ मिनेटपछि थाहा भयो कि उहाँहरूको रिस त ‘भोट माग्न आउनेलाई होइन, हामी त घण्टी बाहेक कसैलाई भोट दिन्नौँ’ भन्ने पो रहेछ। यो सुन्दा मलाई रमाइलो लाग्यो अनि बल्ल मैले म नै हुँ घण्टीको उम्मेदवार भनेर पर्चा देखाएँ। यस्ता रमाइला घटनाहरू पनि भइरहन्छन्। तर समग्रमा राजनीतिक दल र नेताहरूप्रति मानिसहरूमा आक्रोश र वितृष्णा पनि धेरै छ।

तपाईँको मुख्य चुनावी एजेन्डा के–के हुन् ?

मेरा एजेन्डाहरू धेरै छन्। केन्द्रबाट सयवटा बुँदा निकालिएको छ भने मैले व्यक्तिगत रूपमा १५ वटा बुँदा तयार गरेको छु। मेरो पहिलो प्राथमिकता भनेको कृषिलाई व्यवसायीकरण गर्नु हो। अहिलेको निर्वाहमुखी कृषिलाई परिवर्तन गरेर दिगो र वृद्धिमुखी बनाउनु जरुरी छ। किसानहरूलाई धनी बनाउने योजना मेरो छ।

दोस्रो, जनकपुर र भारतको बोर्डर जयनगरबिचको रेल कनेक्टिभिटी छ। अहिले रेलमा मानिसहरू मात्रै आवतजावत गर्छन्। यदि त्यसमा मालवाहक बोगी पनि थप्ने हो भने भारतीय सामानहरू सोझै जनकपुर आउँछन्, जसले गर्दा ढुवानी खर्च घट्छ र सामानको मूल्य पनि सस्तो हुन्छ। यसले नेपाल र भारत दुवैको व्यापारमा मद्दत पुग्छ।

तेस्रो, जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने कुरा। यसका लागि राजनीतिक नारा मात्रै होइन, यसको व्यावहारिक सूचकहरूमा पनि ध्यान दिनुपर्छ। मन्दिर वरपर कति पार्किङ स्पेस छ ? मन्दिरभन्दा अग्ला भवनहरू कति छन् ? यस्ता कुराहरूमा हामीले ध्यान दिएका छैनौँ। हामीले यसलाई व्यवस्थित गर्नुपर्छ। मन्दिरभित्रका मार्बलहरू फुट्न थालेका छन्, डुप्लिकेट मार्बल प्रयोग गरिएको छ भन्ने सुनिन्छ। यसमा अख्तियारको मुद्दा पनि परेको छ। यसलाई सम्बोधन गर्नुपर्छ।

चौथो, मलाई रमाइलो लाग्ने विषय भनेको गुठी संस्कार हो। काठमाडौँमा जसरी गुठीले सांस्कृतिक संरक्षण गरेको छ, जनकपुरमा पनि कुटी संस्कारलाई महत्त्व दिनुपर्छ। १७ औँ शताब्दीमा सेन राज्यका राजा इन्द्र विधाता सेनले १४०० बिघा जग्गा दान दिएर यहाँका ७२ कुण्ड र ५२ कुटीहरूको संरक्षण गरेका थिए। तर आजभोलि ती कुटीहरू अस्तव्यस्त छन् ।

त्यसैले, कुटीहरूको उचित व्यवस्थापन, डकुमेन्टेसन र स्ट्रिट म्यापिङ गर्नुपर्छ। पोखरामा जसरी स्ट्रिट नम्बरहरू छन्, जनकपुरमा पनि त्यस्तै व्यवस्था गर्न सकिन्छ। हामीले ५ हजार गुगल म्याप्स प्रयोग गरेर म्यापिङको तयारी गरिसकेका छौँ।

पाँचौँ, जनकपुरमा ७२ वटा कुण्ड छन्, तर चापाकलमा पानी आउँदैन। किनभने हामीले पोखरीहरूको संरक्षण गरेका छैनौँ । पोखरी सफा नहुँदा वाटर रिचार्ज हुन सकेको छैन। त्यसैले पोखरीहरूको सरसफाइ र संरक्षण गर्नु जरुरी छ।

छैटौँ, खुला सिमानाका कारण यहाँ लागुऔषधको समस्या बढ्दो छ। युवाहरूमा खर्च गर्न सक्ने पैसा छ तर त्यसलाई सही ठाउँमा लगानी गर्ने योजना छैन। त्यसैले युवाहरूलाई लागुऔषधबाट टाढा राख्न जिम क्लब, स्पोर्ट्स क्लब जस्ता कुराहरूमा आकर्षण बढाउनुपर्छ। जनक लिडरसिप एकेडेमी जस्ता संस्थाहरू स्थापना गर्न सकिन्छ।

यहाँका प्रतिस्पर्धी उम्मेदवारहरूले तपाईँले उठाएका कतिपय कुराहरूलाई सम्बोधन नगरेको जस्तो लाग्छ ?

हो, धेरै जसो उम्मेदवारहरूले विकासको कुरा गर्दा पुल र सडकको मात्रै कुरा गर्छन्। तर यहाँको भौगोलिक र वातावरणीय अवस्थाबारे धेरैलाई थाहा छैन। उदाहरणका लागि, सहरीकरण र नदीको बहावबिचको सम्बन्ध। नदीमा पानी सुक्दै जाँदा सहरमा शीतलहरको समस्या बढ्दै गएको छ। यसले गर्दा हवाई यातायात पनि प्रभावित हुन्छ। रूखहरू काटिएका कारण तापक्रम बढेको छ। यस्ता विषयहरूमा कसैले ध्यान दिएको छैन।

अर्को कुरा, युवाहरूको रोजगारी। स्वरोजगारमा जोड दिनुपर्छ र विदेश जाने युवाहरूलाई पनि सीप सिकाएर मात्रै पठाउनुपर्छ भन्ने मेरो मान्यता छ।

तपाईँले भनेका कुराहरू राम्रा छन्, तर स्रोत जुटाउने र कार्यान्वयन गर्ने कुरामा चाहिँ कत्तिको सम्भव छ ?

हामीले ग्राउन्ड रियालिटी बुझ्नुपर्छ र सिंहदरबारभित्रको प्रक्रिया पनि थाहा हुनुपर्छ। कसलाई भन्दा काम हुन्छ, कसलाई भन्दा बजेट पर्छ र कसरी प्रस्तुतीकरण गर्नुपर्छ भन्ने कुरा मलाई राम्ररी थाहा छ।

जस्तै, जनकपुर रामजानकीको सहर हो। तर यहाँ रामायण अध्ययन गर्ने पुस्तकालय छैन । त्यसैले मैले रामायण पुस्तकालयका लागि ३ करोड बजेट छुट्याउन सहजीकरण गरेको छु। त्यस्तै, रामजानकी अन्तर्राष्ट्रिय बहुउद्देश्यीय रंगशालाका लागि १७ बिघा जमिन हस्तान्तरण भइसकेको छ।

यसको पार्किङ, शौचालय र ड्रेसिङ रुम निर्माणका लागि ३ करोड बजेट छुट्याइएको छ। कुटी संरक्षणका लागि पनि काम सुरु भइसकेको छ। यी सबै कुराहरू मैले कानुनी र प्रक्रियागत रूपमै अगाडि बढाएको छु।

विपक्षी उम्मेदवारहरूबाट तपाईँमाथि कुनै किसिमको चुनौती वा आक्रमण हुने सम्भावना कत्तिको देख्नुहुन्छ ?

राजनीतिमा यस्ता कुराहरू सामान्य हुन्। म मानसिक रूपमा तयार छु। चुनावको बेला मिडियाले कडा प्रश्न सोध्न सक्छन्, विपक्षीले चरित्रहत्या गर्न सक्छन्, वा मतदातालाई भड्काउने प्रयास हुन सक्छ। तर म अचम्ममा पर्दिनँ।

हाम्रो पार्टीका उपसभापति स्वर्णिम वाग्ले दाइले भनेजस्तै, संसारमा यस्ता घटनाहरू पहिलोपटक भइरहेका छैनन्, तर तपाईँको जीवनमा चाहिँ पहिलोपटक भइरहेका छन् । त्यसैले म यी सबै कुराहरूको सामना गर्न तयार छु। चुनावमा कति पैसा खर्च हुन्छ, कस्तो प्रवृत्ति देखिन्छ भन्ने कुरा मलाई थाहा छ र त्यसको व्यवस्थापन कसरी गर्ने भन्ने पनि सोचेको छु।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रोहित दाहाल
रोहित दाहाल
लेखकबाट थप