४४ वर्षमा १९ पटक मन्त्री : यसपटक के होला शरतसिंहको रेकर्ड ?
महोत्तरी । महोत्तरी क्षेत्र नम्बर–२ मा यसपटक पनि शरतसिंह भण्डारी उम्मेदवार छन् । जनता समाजवादी पार्टी, नेपालमा आबद्ध छन् उनी अहिले ।
४४ वर्षदेखि निरन्तर चुनाव लडिरहेका उनले यसपटक ‘अन्तिम हो’ हो भन्दै मतदातासँग भोट मागिरहेका छन् । चार दशकभन्दा लामो चुनावी यात्रामा उनले मात्र दुई पटक हार बेहोर्नुपरेको छ । २०४८ सालमा भाग लिएनन् भने ०७० सालमा भने उनी जनताबाट चुनिन पाएनन् ।
७१ वर्ष पुगेका भण्डारी अहिले मतदातासँग यसो भन्दै भोट मागिरहेका छन्– ‘चुनाव लड्ने मन नै थिएन, पार्टीले जबर्जस्ती पठायो ।’
- मतदाताको गुनासो
महोत्तरी लोहरपट्टीका ब्रजेश यादव भन्छन्, ‘शरतजीले यसपटक मात्र होइन, हरेक पटक यस्तै गरी मत माग्दै आउनुभएको छ । गत चुनावमा पनि उहाँले यही क्षेत्रमा यस्तै भनेर मत माग्नुभएको थियो ।’ त्यतिबेला आफूहरूले ‘यति पुरानो नेताले अन्तिम पटक’ भनेकाले भोट दिएको ब्रजेश बताउँछन् ।
शरतसिंह १९ पटक त मन्त्री नै भइसके । ‘एउटै व्यक्ति १९ पटक मन्त्री बन्नु चानचुने कुरा होइन । एकपटकको कार्यकालमा एउटा मात्र काम गरेको भए अहिलेसम्म यो क्षेत्र तथा जिल्लामा १९ वटा काम हुन्थ्यो,’ सोही क्षेत्रका मतदाता रामेश्वर यादव बताउँछन् ।
यो क्षेत्रमा सडकको अवस्था उस्तै छ, कृषि र सिँचाइको अवस्था पनि त्यस्तै । भरपुर्रा–लोहरपट्टी सडक, पिपरारी सडक, रतौली सडकलगायत शिलान्यास भएको ७–८ वर्षभन्दा बढी भइसक्यो, तर अझै निर्माण भएको छैन । खुटादेखि टिकुलियासम्मको सडकको अवस्था त झन् बिजोग छ । जलेश्वर–बर्दिबासको सडक पनि जीर्ण छ । ‘यहाँको सडकमा हिँड्दा लाग्छ, यो क्षेत्रमा नेता तथा सांसद नै छैनन्,’ ब्रजेश थप्छन् ।
महोत्तरी–२ मा छ वटा पालिका छन्, कुनैमा पनि अस्पताल छैन । जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीको तथ्यांकअनुसार अस्पताल मात्र होइन, एकडारा, महोत्तरी, बलवा र भङ्गहामा प्राथमिक स्वास्थ्य केन्द्रसमेत छैन । स्वास्थ्य चौकीकै भरमा छन् यहाँ स्थानीय । थप उपचार गर्नुपरे जलेश्वर वा सीधै जनकपुर नै पुग्नुपर्ने बाध्यता छ ।
तर जसपा नेपालका नेता अमित ठाकुर भने कुनै पनि कुरामा रातारात सुधार नहुने तर्क गर्छन् । ‘पहिला महोत्तरीको अवस्था कस्तो थियो, अहिले कस्तो छ, एकपटक आएर हेर्नुस् । कुनै पनि गाउँमा गाडी जाने अवस्था थिएन । भण्डारीजी आएपछि अहिले प्रत्येक गाउँमा पक्की सडक पुगेको छ,’ उनले गाउँमा गाडी गएको अवस्थालाई विकाससँग जोडेर बताए ।
स्वास्थ्य, शिक्षा तथा कृषिमा पनि व्यापक सुधार भएको उनको दाबी छ । उनको जवाफ थियो, ‘महोत्तरी–२ सँगै जलेश्वर टाँसिएको छ, त्यहाँ अस्पताल छन् । जनता उपचारका लागि त्यहाँ जान्छन् । बलवामा अस्पताल बनिरहेको छ । स्वास्थ्य केन्द्र तथा बर्थिङ सेन्टरहरू छन् । जनतालाई उपचारको समस्या छैन ।’
- ‘मधेसको आवश्यकता हुन् भण्डारी’
जसपा, नेपालका केन्द्रीय नेता जासर यादव शरतसिंह भण्डारी मधेसका लागि आवश्यक नेता रहेको बताउँछन् । ‘भण्डारी पहाडी समुदायका भए पनि मधेसको सबभन्दा बढी मुद्दा उठाउने उनी नै हुन्,’ जासर दाबी गर्छन्, ‘उनी सांसद र मन्त्री भएपछि महोत्तरी जिल्लामा व्यापक सुधार भएको छ, अरू क्षेत्रभन्दा यो क्षेत्रमा थोरै भए पनि विकास बढी नै हो ।’
उनले प्रतिप्रश्न गरे, ‘यदि त्यहाँ विकास नभएको भए, जनताले विश्वास नगरेको भए ४४ वर्षदेखि कसरी चुनाव जित्दै आउनुभएको छ त ?’
केही नगरेको भए जनता एक पटक, दुई पटक, तीन पटक झुक्किने तर पटक–पटक नझुक्किने उनी बताउँछन् । ‘शरतसिंह भण्डारी आवश्यक नेता भएका कारणले उहाँले पटक पटक त्यहाँ जित्दै आउनुभएको छ, यसपटक पनि उहाँको जित निश्चित छ,’ उनले बढाइचढाइसहित थपिरहे ।
भण्डारीले आफू चुनाव नलड्ने कुरा पार्टीसँग राखेका जासरले पनि बताए । भण्डारीले सुरिता साहलाई टिकट दिन आग्रह गरे पनि नमानेपछि उनैले लिन बाध्य भएको जासर तर्क गर्छन् । ‘भण्डारीजीलाई चुनाव लड्ने मन थिएन, पार्टीले निर्देशन दिएपछि उहाँ लड्नुभएको हो,’ उनले भने ।
- चुनाव र मन्त्रीको यात्रा
भण्डारीले ०३८ र ०४३ सालमा राष्ट्रिय पञ्चायतको निर्वाचन जितेका थिए । ०४३ सालमा पञ्चायत व्यवस्थाका अन्तिम प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठ नेतृत्वको सरकारमा उनी पहिलो पटक पञ्चायत तथा स्थानीय विकास सहायकमन्त्री बनेका थिए । ०४४ सालमा मन्त्रिपरिषद् पुनर्गठन हुँदा उनी वाणिज्य राज्यमन्त्री भए । ०४६ सम्म निरन्तर मन्त्री रहे ।
२०४८ सालमा भएको निर्वाचनमा भाग नलिएका उनी ०५१ मा स्वतन्त्र उठे र जिते । ०५२ सालमा राज्यमन्त्री, २०५३ मा मन्त्री तथा ०५४ मा पनि मन्त्री बने । ०५६ सालमा महोत्तरीबाट चुनाव जितेपछि उनी फेरि मन्त्री बने, ०५८ मा पनि फेरि मन्त्री भए ।
२०६३ सालमा संसद् पुनस्र्थापना हुँदा भण्डारी सांसद भएका थिए । ०६४ मा तत्कालीन मधेसी जनअधिकार फोरम, नेपालबाट उनले फेरि चुनाव जिते र ०६६ र ०६८ सालमा मन्त्री भए । रक्षामन्त्री भएको बेला सेनामा मधेसीको सामूहिक प्रवेशलाई लिएर दिएको अभिव्यक्तिका कारण उनी पदबाट बर्खास्त भएका थिए ।
२०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा उनी महोत्तरी–१ र ६ बाट उम्मेदवार बनेका थिए, दुवै ठाउँबाट उनी हारे ।
त्यसपछि ०७४ र ०७९ सालमा भएका प्रतिनिधिसभा निर्वाचनमा लगातार जित निकाले । ०७८, ०७९, ०८१ र ०८२ सालमा मन्त्री बन्न सफल भए ।
- यसपटक कांग्रेससँग हुन सक्छ मुख्य प्रतिस्पर्धा
यसपटक महोत्तरी–२ मा ३७ जना उम्मेदवार छन् । र यहाँ त्रिपक्षीय प्रतिस्पर्धा हुने देख्छन् स्थानीय पत्रकार गोपाल बराल । नेपाली कांग्रेसकी किरण यादव र भण्डारीबिच कडा प्रतिस्पर्धा हुने उनले अनुमान गरे । किरणले यस क्षेत्रबाट दुई पटक चुनाव हारिसकिन् । भण्डारी पटक–पटक चुनाव जितेका कारण जनताले यसपटक परिवर्तन खोजेका आफूले रिपोर्टिङका क्रममा पाएको उनले बताए ।
‘गगन थापाका कारण कांग्रेस झन् राम्रो संगठन बनेको छ, जनताको झुकाव देखिएको छ,’ उनले भने, ‘महोत्तरीमा यादव (समुदाय)को निर्णायक मत छ । तर यादवको मत पनि भण्डारीसँग छ ।’
भण्डारीसँगै नेकपा एमालेबाट कसिफ नदाफ, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट लक्ष्मण कुमार यादव, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट दीपक कुमार साह, राप्रपाबाट रामलखन साह कानु, जनमत पार्टीबाट जयकुमार पाण्डेयलगायत यहाँ उम्मेदवार छन् । रास्वपा वरिष्ठ नेता बालेनका कारण देशभर रास्वपाको माहोल बनिरहेकाले दीपक पनि यहाँ प्रतिस्पर्धामा छन् ।
भण्डारीले लामो समयदेखि चुनाव जित्दै आएकाले पुस्तान्तरणको कुरा यो क्षेत्रमा व्यापक उठेको पत्रकार बराल बताउँछन् । २० पटक मन्त्री भइसके पनि विकासको कामले त्यहाँको जनताको मत जित्न नसकेको गुनासो पनि क्षेत्रमा भइरहेको उनको बुझाइ छ ।
गत निर्वाचनमा लोसपा नेपालबाट उम्मेदवार बनेका भण्डारीले २५ हजार १९० मत ल्याएका थिए भने तमलोपाका डा. विजय सिंह यादवले ११ हजार १२० मत ल्याएर दोस्रो भएका थिए । एमाले तेस्रो र जनमत चौथो भएको थियो । यहाँ कांग्रेसको समर्थन भण्डारीलाई नै थियो, रास्वपा भने यहाँ तेस्रो भएको थियो ।
२०७४ सालमा भने भण्डारीले यहाँबाट ३० हजार ७२२ मत ल्याएर विजयी भएका थिए भने कांग्रेसकी किरण यादवले १३ हजार ९७४ मत ल्याएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण