अभिषेक शर्माले विपक्षीको रणनीति बुझ्नुपर्छ : फाफ डु प्लेसिस
सारांश
- फाफ डु प्लेसिसले २०२६ टी२० विश्वकपमा अभिषेक शर्माको ब्याटिङ रणनीतिबारे सुझाव दिएका छन्।
- अभिषेक शर्माले चार खेलमा जम्मा १५ रन बनाएका छन्, जसमा लगातार तीन 'डक' पनि समावेश छन्।
- डु प्लेसिसका अनुसार विपक्षीले अभिषेकलाई स्लोअर बल गरिरहेका छन्, र उनले अवस्थाअनुसार खेल्न सुझाव दिए।
काठमाडौँ । दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिसले २०२६ टी–२० विश्वकपमा भारतीय ओपनर अभिषेक शर्माले विपक्षी टोलीले अपनाइरहेको रणनीति बुझेर ब्याटिङ गर्नुपर्ने बताएका छन् । उत्कृष्ट फर्ममा प्रतियोगितामा प्रवेश गरेका अभिषेकले चार खेलमा जम्मा १५ रन मात्र बनाएका छन्, जसमा लगातार तीन ‘डक’ पनि समावेश छन् ।
विपक्षी टोलीहरूले पावरप्लेमा उनको आक्रामक अफ–साइड स्ट्रोक रोक्न रणनीतिक रूपमा फिल्ड सेट गरिरहेका छन् । प्रायः डीप पोइन्ट र डीप एक्स्ट्रा कभरमा फिल्डर राखेर उनको मनपर्ने क्षेत्र बन्द गरिएको छ । अमेरिकाविरुद्ध उनी पहिलो बलमै डीप कभरमा क्याच आउट भएका थिए । दक्षिण अफ्रिकाविरुद्धको पछिल्लो खेलमा पनि उनी स्लोअर बलविरुद्ध संघर्षरत देखिए, जहाँ डीप ब्याकवर्ड पोइन्ट र डीप कभरमा फिल्डर राखेर उनको रन बनाउने क्षेत्र सीमित पारिएको थियो ।
दक्षिण अफ्रिकन लिजेन्ड डु प्लेसिसले भने, ‘रणनीतिक रूपमा खेल निकै स्मार्ट भइसकेको छ । विश्लेषकहरू र टोलीहरूले कसरी ब्याट्सम्यानलाई आउट गर्ने भन्नेमा गहिरो अध्ययन गर्छन् । अभिषेकविरुद्ध अहिले डीप पोइन्ट र डीप एक्स्ट्रा कभर राखिन्छ, किनकि उनी अफ–साइडमा उत्कृष्ट सट खेल्छन् ।’
उनले थपे, ‘क्रिजमा पुगेपछि विपक्षीले मलाई कसरी आउट गर्न खोजिरहेको छ भन्ने बुझ्नुपर्छ । के म आफ्नो बलियो पक्षमै टिकिरहन्छु ? कि जोखिम घटाएर ग्राउन्ड सट खेल्दै एक–दुई रन लिने प्रयास गर्छु ? अभिषेकजस्तो खेलाडीले सायद कभरमाथि छक्का प्रहार गर्ने प्रयास गर्छन्, तर त्यो निर्णय ब्याट्सम्यानले अवस्थाअनुसार लिनुपर्छ ।’
डु प्लेसिसका अनुसार विपक्षी बलरहरूले अभिषेकलाई धेरै स्लोअर बल गरिरहेका छन्, किनकि उनको स्विङ लामो र आकर्षक छ । बलको गति घटाएर टाइमिङ बिगार्ने प्रयास भइरहेको उनले बताए । यस्तो अवस्थामा अभिषेकले अगाडि बढेर खेल्ने वा बल नजिक आउन दिएर सट चयन गर्नुपर्ने सुझाव उनले दिए ।
‘जब बलरहरूले स्लोअर बल गरिरहेका हुन्छन्, म कहिलेकाहीँ विकेटतिर अघि बढ्छु, ताकि म आफैंले गति सिर्जना गर्न सकूँ । वा पछाडि बसेर बलको प्रतीक्षा गर्छु, जसले गर्दा हात अगाडि नजाओस्,’ उनले भने ।
डु प्लेसिसले अभिषेकलाई धेरै प्राविधिक सल्लाह आवश्यक नभएको पनि स्पष्ट पारे । केही खेलपछि अभिषेकले यो विश्वकपमा उत्कृष्ट इनिङ्स खेल्ने उनले विश्वास व्यक्त गरे ।
‘अहिले सबैले उनको बारेमा कुरा गरिरहेका छन् । सयौँ धारणा र सल्लाह आउनेछन् । २५ वर्षको उमेरमा पहिलो विश्वकप खेल्दै गर्दा यो कठिन अवस्था हो । तर उनले पछिल्ला वर्षहरूमा आईपीएलमा अविश्वसनीय प्रदर्शन गरेका छन् । उनी नयाँ पुस्ताका टी–२० खेलाडी हुन्, जसले रक्षात्मक खेलभन्दा आक्रामक विकल्पमा बढी विश्वास गर्छन्,’ उनले भने ।
‘मुख्य कुरा भनेको बाहिरको हल्ला बन्द गरेर आफ्नै बलियो पक्षमा ध्यान केन्द्रित गर्नु हो । केही इनिङ्सभित्रै उनले उत्कृष्ट प्रदर्शन गर्नेमा मलाई कुनै शंका छैन,’ डु प्लेसिसले सल्लाह दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
-
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
Indian Premier League 2026