पहाडी वनको ‘मदना चाँचर’ शुक्लाफाँटामा
सारांश
- शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पहिलोपटक ‘मदना चाँचर’ चरा देखा परेको छ।
- पहाडी क्षेत्रमा पाइने चरा तराईमा देखिनु जलवायु परिवर्तनको संकेत हो।
- नयाँ पाहुनाको आगमनले शुक्लाफाँटाको जैविक विविधता बढाएको छ।
कञ्चनपुर । जैविक विविधताले भरिपूर्ण शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पहिलोपटक ‘मदना चाँचर’ चरा देखापरेको छ । विशेष गरी मध्यपहाडी र हिमाली वन क्षेत्रमा पाइने यो चरा तराईको समथर क्षेत्रमा पाइनुलाई संरक्षणका हिसाब्ले महत्त्वपूर्ण मानिएको छ ।
यस चरालाई पहिलोपटक निकुञ्जमा नेपाल पन्छी संरक्षण सङ्घ (विसिएन) का वरिष्ठ चराविज्ञ हिरूलाल डगौरा, दिलीप चन्द ठकुरी, सुमन चौधरी, डा विकल्प पाण्डेलगायत टोलीले निकुञ्जमा चरा अवलोकनका क्रममा अभिलेख गरेका हुन् । ‘मदना चाँचर’को वैज्ञानिक नाम टर्डस बुबुल रहेको छ । यो थ्रस (चाँचर) परिवारमा पर्ने चरा हो ।
अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आयुसिएन)ले यसलाई विश्वस्तरमा ‘कम चिन्ताजनक’ अर्थात् सामान्य श्रेणीमा राखेको भए पनि शुक्लाफाँटाका लागि भने यो नितान्त नयाँ र दुलर्भ प्रजातिका रूपमा रहेको चराविज्ञ डगौराले बताए ।
उनका अनुसार यो चरा मुख्यतः मध्यपहाडी र हिमाली क्षेत्रका आर्द्र वनमा बस्ने गर्छ । सामान्यतया १८०० देखि २७०० मिटर उचाइमा पाइने यो प्रजाति जाडो याममा केही तल झर्न सक्छ । तर तराईको समथर भूभागमा देखिनुलाई असामान्य मान्न सकिने चराविज्ञ डगौराले बताए ।
“विश्वस्तरमा सामान्य भए पनि शुक्लाफाँटामा देखिनु स्थानीय रूपमा दुर्लभ घटना हो”, उनले भने, “यसले वातावरणीय अवस्था वा बसाइसराइको ढाँचामा आएको परिवर्तनलाई देखाउँछ ।” मदना चाँचर करिब २८–२९ सेन्टिमिटर लामो हुन्छ । भाले चरा कालो रङको र पखेटामा खैरो दाग भएको देखिन्छ भने पोथी चरा खैरो रङको हुन्छ । भालेको चुच्चो पहेँलो र पोथीको हल्का पहेँलो वा खैरो हुन्छ ।
“नेपालदेखि उत्तरी भियतनामसम्मका पहाडी क्षेत्रमा सीमित मानिने यो प्रजातिको चरा तराईमा देखिनुले जलवायु परिवर्तनको असर वा पारिस्थितिक प्रणालीमा भइरहेको फेरबदलको सङ्केत हो”, चराविज्ञ डगौराले भने, “पहाडी क्षेत्रमा सीमित मानिने चरा तराईमा भेटिनुले शुक्लाफाँटाको जैविक विविधताको दायरा अझ फराकिलो बन्दै गएको छ ।” शुक्लाफाँटामा यो नयाँ पाहुनाको आगमनसँगै निकुञ्जमा पाइने चराहरूको सङ्ख्यामा थप वृद्धि भएको छ ।
पहाडी क्षेत्रको यो चरा शुक्लाफाँटामा अभिलेख भएसँगै यस निकुञ्जलाई चरा अवलोकन र वैज्ञानिक अनुसन्धानको दृष्टिले अझ महत्त्वपूर्ण गन्तव्यका रूपमा स्थापित गर्न मद्दत पुग्ने विश्वास गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
-
फेवाताल किनारमा नकुहिने फोहोरको डङ्गुर (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण