‘अहिलेका ‘नयाँ’ उम्मेदवार देख्दा पनि देखिँदैनन्, छाम्दा पनि भेटिँदैनन्’
सारांश
- मोरङ क्षेत्र नम्बर ६ मा एमालेबाट विनोद ढकाल प्रतिनिधि सभा सदस्यको उम्मेदवार छन्।
- ढकालले पार्टी भित्रको एकता बलियो रहेको र कांग्रेसका शेखर कोइरालासँगको प्रतिस्पर्धालाई सहज लिएको बताए।
- उनले आफ्नो चुनावी एजेन्डा, पार्टी भित्रको अवस्था र मतदाताको प्रतिक्रिया बारेमा जानकारी दिए।
फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनको सरगर्मी देशभर बढ्दो छ। राजनीतिक दल र उम्मेदवारहरू मतदाताको घरदैलोमा पुगेर आफ्ना एजेन्डा र प्रतिबद्धता राख्दै मत मागिरहेका छन्।
यसै सन्दर्भमा, रातोपाटीको स्थलगत रिपोर्टिङ टोली मोरङ निर्वाचन क्षेत्र नम्बर ६ पुगेको छ। यस क्षेत्रबाट प्रतिनिधि सभा सदस्यमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का तर्फबाट विनोद ढकाल चुनावी मैदानमा छन्।
विगतका चुनावहरूमा पराजय भोगे पनि यस पटक जित्नेमा उनी विश्वस्त देखिन्छन्। आफ्नो पार्टीभित्रको आन्तरिक एकता बलियो रहेको दाबी गर्ने ढकालले, नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालासँगको प्रतिस्पर्धालाई समेत सहज रूपमा लिएको बताएका छन्। चुनाव प्रचारप्रसार, पार्टीभित्रको गुटबन्दीको चर्चा र उनका चुनावी एजेन्डाहरूका विषयमा केन्द्रित रहेर उम्मेदवार विनोद ढकालसँग गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ:
- निर्वाचन अभियानको बिचमा तपाईंको पारिवारिक दुःखद घटना भयो, त्यसका लागि हामी समवेदना व्यक्त गर्दछौँ। अहिले निर्वाचन अभियान कसरी अगाडि बढिरहेको छ?
म लगभग १२ दिन मेरो बुवाको निधनका कारण धर्म र संस्कृतिअनुसार काजकिरियामा बसें। अस्तिको दिनबाट मात्र म निर्वाचन अभियानमा निस्किएको छु। हिजो र आज सबै मतदातालाई भेट्ने अभियानमा छु। स्वाभाविक रूपमा क्षेत्र ठूलो छ, १ लाख ३७ हजार मतदाता छन्। सबैको घर–घरमा पुग्न नसकिने भएकाले चोक–चोकमा कोणसभा गर्दै हिँडिरहेको छु। मैले मंसिर १७ गतेसम्मका लागि यसरी नै कार्यक्रम तय गरेको छु।
- मतदाताको प्रतिक्रिया कस्तो पाउनुभएको छ?
पार्टीका नेता र कार्यकर्ताहरूले एकसरो घरदैलो अभियान सम्पन्न गरिसक्नुभएको छ। विभिन्न वडामा पनि कार्यक्रमहरू चलिरहेका छन्। जनताका केही गुनासा, आक्रोश र सुझावहरू छन्। ती कुराहरूलाई सम्बोधन गर्दै र सुझावहरू ग्रहण गर्दै हामी अगाडि बढेका छौं।
तर, विगतका चुनावहरूमा जस्तो यस पटक जनता र कार्यकर्तामा धेरै उत्साह देखिएको छैन। यो चुनाव आकस्मिक रूपमा अघिल्लो संसद् विघटनपछि आयोजना भएकाले पनि मानिसहरूमा उत्साह कम भएको हुन सक्छ। तैपनि चुनावी माहोल अघि बढिरहेकै छ।
- जनताले ‘एमालेभित्र केपी ओलीसँग लडाइँ लडेर मोरङ जिल्ला र प्रदेशमै प्रभाव जमाउने विनोद ढकाल, निर्वाचनमा चाहिँ सधैं पराजित हुने’ कुरा उठाउँदा रहेछन्। यसलाई कसरी लिनुहुन्छ?
म सधैं पराजित भएको त होइन। एकपटक म विराटनगरको मेयरमा उठें, त्यहाँ प्रतिस्पर्धामा पराजित भएँ। अघिल्लो पटक म चुनावमा उठ्दा सबै दलको गठबन्धन थियो र हामी एक्लै थियौं, जसकारण परिणाम राम्रो आएन।
तर यस पटक यो क्षेत्रका मतदाताले मलाई मतदान गरेर विजयी गराउनुहुन्छ भन्ने पूर्ण विश्वास छ। चुनावमा हारजित हुनु स्वाभाविक हो। परीक्षा दिने मान्छे कि फेल हुन्छ कि पास हुन्छ, घोडा चढ्ने मान्छे नै लड्ने हो। मैले विगतका हारलाई सामान्य रूपमै लिएको छु। तर यस पटक विगतका सबै चुनावको साटो फेर्ने गरी म विजयी हुनेछु।
- तपाईंलाई पार्टीभित्रको आन्तरिक सन्तुलन र विवाद मिलाउन ठूलो चुनौती छ भनिन्छ। पार्टीभित्रैबाट असहयोग भएको कुरा पनि बाहिर आएको छ नि?
त्यस्तो केही छैन, यो बाहिर चलाइएको हल्ला मात्रै हो। विगतमा हामीले पार्टीभित्र आन्तरिक प्रतिस्पर्धा गर्यौं, ती सबै जित्ने प्रतिस्पर्धा थिए, हार्ने होइनन्। यो आम निर्वाचन भनेको हारजितको प्रतिस्पर्धा हो। यस्तो चुनावमा पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धाले प्रभाव पार्दैन। यदि पर्थ्यो भने त यहाँ मात्र होइन, देशभरि नै पर्थ्यो होला।
त्यसैले, मलाई लाग्छ यो विरोधीहरू र मिडियाले चलाएको हल्ला मात्र हो। मोरङका ६ वटै निर्वाचन क्षेत्रमा एमालेभित्र कुनै आन्तरिक समस्या छैन। हाम्रो पार्टी एकढिक्का छ र हामी एकताबद्ध भएर चुनावी अभियानमा छौं।
- कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइराला तपाईंको प्रतिस्पर्धी हुनुहुन्छ। यसलाई कसरी हेर्नुभएको छ?
विगतमा उहाँ प्रभावशाली हुनुहुन्थ्यो होला। तर उहाँ ११ वर्ष यो क्षेत्रबाट जितेर सांसद हुनुभयो। म अहिले मतदाताको बिचमा जाँदा, ‘शेखर कोइरालाको पहलमा यहाँ कुन योजना आयो त?’ भनेर सोध्छु, कसैले पनि एउटा योजनाको नाम लिन सक्दैनन्। ‘एक करोड पैसा नै आयो नि त?’ भन्दा, ‘एक ट्याक्टर गिट्टी पनि झरेको छैन’ भन्नुहुन्छ।
त्यसैले अहिले उहाँको प्रभाव अत्यन्तै न्यून छ। अहिलेको माहोल हेर्दा उहाँसँग दरो प्रतिस्पर्धा होला जस्तो मलाई लाग्दैन, हामी सहज रूपमै जित्छौं।
- त्यसो भए तपाईंको प्रतिस्पर्धी को त?
मूलतः यो क्षेत्रमा कांग्रेस र एमालेबिच नै प्रतिस्पर्धा हुने हो। प्रतिस्पर्धा पनि ‘नेक–टु–नेक’ होला जस्तो लाग्दैन, सहज प्रतिस्पर्धामै हामी जित्छौं।
- भनेपछि शेखर कोइराला तपाईंको निकटतम प्रतिद्वन्द्वी पनि होइन?
प्रतिद्वन्द्वी त हो नै। तर निकटतम हो कि परतम हो भन्ने कुरा चाहिँ परिणामले देखाउनेछ।
- तपाईंका मुख्य एजेन्डा के हुन्? जनताले तपाईंलाई भोट किन दिने?
पहिलो कुरा, मुलुकको राजनीतिक स्थायित्वका लागि एमालेलाई मत दिनुपर्छ भन्ने हाम्रो राष्ट्रिय एजेन्डा हो। त्यसैगरी, ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने अभियान हामीले घोषणापत्रमै राखेका छौं। एमालेले विगतमा थालेका भौतिक पूर्वाधार, विकास निर्माण र सामाजिक सुरक्षाका कामहरूलाई निरन्तरता दिनका लागि हामीले भोट मागेका छौं।
स्थानीय स्तरको कुरा गर्दा, आम मतदाताको मुख्य गुनासो नै जनप्रतिनिधि जनतासँग नजोडिएको भन्ने छ। ‘चुनावका बेला आउँछन्, भोट माग्छन्, जितेर गएपछि अर्को चुनावमा मात्रै अनुहार देखाउँछन्’ भन्ने जनताको भनाइ छ। त्यसैले मैले के प्रतिबद्धता जनाएको छु भने, म साँचो अर्थमा जनताको प्रतिनिधि हुनेछु। संसद्मा भूमिका खेल्ने बाहेकको समय म यसै क्षेत्रका जनतालाई दिनेछु। यहाँको शिक्षा, स्वास्थ्य, रोजगारी सिर्जना, विद्यालयको भौतिक पूर्वाधार र सडक निर्माण जस्ता कुराहरूमा मेरो पहल हुनेछ। पार्टीको केन्द्रीय घोषणापत्र र मेरा यिनै स्थानीय प्रतिबद्धताका आधारमा म चुनावी अभियानमा छु।
- अहिले ‘घण्टी’को निकै चर्चा छ। त्यसले तपाईंको मनमा कस्तो घण्टी बजाइरहेको छ?
मेरो मनमा त खासै घण्टी बजेको छैन। तर आम मानिसमा नयाँ दलले केही गर्थे कि भन्ने चासो छ, त्यसलाई हामी चिर्दैछौं। विचार, नीति र कार्यक्रम समयसापेक्ष परिवर्तन हुने भएकाले पुराना दलहरू कहिल्यै पुराना हुँदैनन्। हाम्रा विचार, कार्यक्रम र प्रतिबद्धता नयाँ छन्।
जनताले उम्मेदवारको विगत, इतिहास र लोकतन्त्रप्रतिको योगदान पनि हेर्छन्। अहिलेका नयाँ उम्मेदवारहरू त ‘देख्दा पनि देखिँदैनन्, छाम्दा पनि भेटिँदैनन् र बोलाउँदा पनि सुनिँदैनन्’ जस्ता छन्। यस्ताको पछाडि मतदाता लाग्छन् भन्ने मलाई लाग्दैन। केही उमेर नपुगेका वा मतदाता नामावलीमा नामै नभएका युवा र विद्यार्थीहरूमाझ सोसल मिडियाले अलि हल्लाखल्ला गराएको मात्र हो। देशलाई माया गर्ने आम मतदातालाई यी नयाँ भनिनेहरूले बहकाएको मैले देखेको छैन।
- तपाईंहरूले आफ्ना पार्टी अध्यक्ष केपी शर्मा ओली लाई निकै लोकप्रिय भन्नुहुन्छ, तर यस पटक चुनाव प्रचारमा उहाँको फोटो कतै देखिएको छैन नि? उहाँ धेरै लोकप्रिय भएर नराखिएको हो?
सामान्यतया उहाँ आफैं झापामा उम्मेदवार हुनुहुन्छ। हामीले पार्टीका नीति, विचार र घोषणापत्र लिएर जाने हो। उहाँले सरकारको नेतृत्व गर्दा गरेका कामहरूको प्रचार हामीले गरिरहेकै छौं।
तर निर्वाचन क्षेत्रमा भोट त सम्बन्धित उम्मेदवारलाई माग्ने हो, त्यसैले सम्बन्धित उम्मेदवारकै प्रचार बढी हुन्छ। यसमा कुनै नियोजित ढंगले उहाँको फोटो नराखिएको भन्ने होइन। यसलाई अनावश्यक रूपमा विवादमा ल्याउनु उपयुक्त हुँदैन।
- तपाईं पूर्वराष्ट्रपति विद्या भण्डारी निकटको उम्मेदवार भएकाले ओली पक्षले असहयोग गर्छ कि भन्ने चर्चा पनि छ नि?
यो बेकारको कुरा हो। यो हाम्रो पार्टीभित्र हुँदै नभएको विभाजन ल्याउने प्रयत्न मात्र हो। म पत्रकार साथीहरूलाई पनि यस्तो नहुने काम र धन्दामा नलाग्न आग्रह गर्दछु।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण