बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

इरान–अमेरिका आणविक वार्तामा ‘ब्रेक थ्रु’ भएकाे छ : ओमानी विदेशमन्त्री

शनिबार, १६ फागुन २०८२, ११ : ४१
शनिबार, १६ फागुन २०८२

सारांश

  • ओमानका विदेशमन्त्रीका अनुसार इरान र अमेरिका आणविक वार्तामा ठूलो प्रगति भएको छ।
  • इरानले आणविक बम बनाउन सक्ने कुनै पनि सामग्री भण्डारण नगर्ने सहमति जनाएको छ।
  • ओमानले इरान र अमेरिकाबीचको तेस्रो चरणको अप्रत्यक्ष वार्ताको मध्यस्थता गरेको थियो।

मस्कट । ओमानका विदेशमन्त्री बद्र बिन हमद अल बुसैदीले इरान–अमेरिका आणविक वार्तामा ठूलो प्रगति भएको बताएका छन् । इरानले कहिल्यै पनि समृद्ध युरेनियम भण्डारण नगर्ने सहमति जनाएको खुलासा गर्दै उनले सो कुरा बताएका हुन् । 

उनले यो विकासलाई ‘महत्वपूर्ण ब्रेकथ्रु’ भनेका छन् । शुक्रबार वासिङ्टन डीसीमा सीबीएस न्यूजसँगको अन्तर्वार्तामा अल बुसैदीले कूटनीतिलाई पर्याप्त ठाउँ दिइएमा केही महिनाभित्र इरान र अमेरिकाबिचको विवाद मैत्रीपूर्ण र व्यापक रूपमा समाधान हुन सक्ने विश्वास व्यक्त गरेका थिए । ओमानले जेनेभामा बिहीबार सम्पन्न इरान–अमेरिका बिचको तेस्रो चरणको अप्रत्यक्ष वार्ता मध्यस्थता गरेको थियो ।

‘शान्ति सम्झौता हाम्रो पहुँचभित्र छ,’ उनले भने–  ‘यदि कूटनीतिलाई काम गर्न दिइयो भने हामी त्यहाँ पुग्न सक्छौँ ।’ उनका अनुसार वार्ताको मुख्य उपलब्धि भनेको इरानले आणविक बम बनाउन सक्ने कुनै पनि सामग्री कहिल्यै भण्डारण नगर्ने सहमति हो ।

अल बुसैदीले शून्य भण्डारणको अवधारणालाई अत्यन्त महत्वपूर्ण उपलब्धि भन्दै समृद्ध युरेनियम सञ्चय गर्न नपाए इरानले आणविक हतियार बनाउन असम्भव हुने तर्क गरे । इरानले हाल रहेको आफ्नो आणविक सामग्रीको भण्डारलाई पनि सम्भव भएसम्म न्यून स्तरमा झार्ने र त्यसलाई इन्धनमा रूपान्तरण गर्ने सहमति जनाएको बताइएको छ । उक्त इन्धन अपरिवर्तनीय हुने दाबी उनले गरेका छन् । 

ओमान लामो समयदेखि इरान र अमेरिकाबिच मध्यस्थकर्ताको भूमिकामा रहँदै आएको छ । पछिल्लो प्रगतिले मध्यपूर्वमा तनाव कम गर्ने सम्भावना बढेको विश्लेषण गरिएको छ । यद्यपि, अन्तिम सम्झौता हुन अझै केही प्राविधिक र राजनीतिक विषय टुंग्याउन बाँकी रहेको कूटनीतिक स्रोतहरूले जनाएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप