‘म दुई अतिवादलाई परास्त गर्न आएको हुँ, बिचैमा मैदान छोडेर भाग्दिनँ’
सारांश
- झापा क्षेत्र नम्बर ५ मा रञ्जित तामाङले युवा पुस्ताको विद्रोह र सहिदको सपना पूरा गर्ने एजेन्डा लिएर चुनाव लड्दै छन्।
- तामाङले पुरानो राजनीतिक दल र प्रणाली असफल भएको दाबी गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीको वकालत गरेका छन्।
- उनले निर्वाचनमा उम्मेदवारी फिर्ता लिने हल्लालाई खारेज गर्दै दुई ठूला शक्तिको बीचमा आफूलाई एजेन्डाको आधारमा स्थापित गर्ने बताए।
आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत झापा क्षेत्र नम्बर ५ यतिबेला राष्ट्रिय राजनीतिको केन्द्रमा छ। ‘हेभीवेट’ नेताहरूको प्रतिस्पर्धा भइरहेको यस क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट उम्मेदवार बनेका युवा अनुहार हुन्– रञ्जित तामाङ।
झापा-५ लाई दुई फरक अतिवादको चेपुवामा परेको बताउने तामाङ नवपुस्ताको विद्रोह र सहिदको सपना पूरा गर्ने मुख्य एजेन्डासहित चुनावी मैदानमा होमिएका छन्। प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली, सुशासन र भ्रष्टाचारविरोधी बलियो कानुन निर्माणलाई आफ्नो प्रमुख मुद्दा बनाएका उनी पुराना राजनीतिक दल र प्रणाली असफल भइसकेको दाबी गर्छन्।
ठुला नेताहरूबिच आफूलाई ‘कठैबरा’ वा निरीह उम्मेदवारको रूपमा नहेर्न आग्रह गर्दै उनले एजेन्डा र निष्ठाका आधारमा जनताको मन जितिसकेको बताएका छन्। निर्वाचनको अन्तिम समयमा आएर उम्मेदवारी फिर्ता लिने वा अरूलाई समर्थन गर्ने बजार हल्लालाई उनले पूर्ण रूपमा खारेज गरेका छन्। प्रस्तुत छ, झापाको दमकमा उम्मेदवार तामाङसँग गरिएको संक्षिप्त कुराकानी :
- झापा-५ मा तपाईं एक प्रकारले भिडन्त वा भनौँ रक्तपातविहीन युद्धमा सहभागी हुँदै हुनुहुन्छ होइन?
यसलाई त्यो भन्दा पनि फागुन २१ गते सुखानी सहिद दिवस पर्छ। सहिदहरूको सपना पूरा गर्ने गरी झापामा नवपुस्ताको विद्रोहबाट बाँकी रहेको क्रान्तिको कार्यभार पूरा हुँदैछ भन्दाखेरि राम्रो सुनिएला।
- यहाँ जुन प्रकारको भिडन्त भइरहेको देखिन्छ, यसमा कतै आफू मिचाइमा परेको वा चेपुवामा परेको महसुस भएको छैन?
छैन। यो अतिवादले देश आक्रान्त छ र देशको विनाश पनि यसैले गरिरहेको छ। त्यो अतिवाद अहिले यहाँ झापाको क्षेत्र नम्बर ५ सम्म आएर टकराइराखेको छ। यसले मलाई मिचाइमा पारेको भन्दा पनि अझै जनतालाई आफ्नो कुरा स्पष्ट गर्न सजिलो भएको छ। हामीले हिजो टाढाबाट जे देखेका थियौँ, आज तपाईंकै अगाडि आमनेसामने र प्रत्यक्ष रूपमा घरआँगन र सडकमा देखिराख्नुभएको छ भनेर जनतालाई बुझाउन सहज भएको छ।
- यहाँ एउटाको नारा ‘सुशासन’ छ, अर्काको ‘समृद्धि’ छ। तपाईंको मूल नारा चाहिँ के हो नि?
मेरो मूल कुरा भनेको नवपुस्ताको निराशालाई आशामा बदल्ने हो। देशमा जुन प्रकारको असन्तुष्टि, कुशासन र भद्रगोल छ, त्यसलाई विधिसम्मत राज्य प्रणालीमा ल्याउने हो। पुरानै संसद् र पुरानै प्रणाली असफल जस्तै भइसक्यो। त्यसैले नवपुस्ताले उठाएको प्रत्यक्ष निर्वाचित कार्यकारी, भ्रष्टाचारविरुद्ध बलियो कानुन, स्वास्थ्य, शिक्षा, रोजगार, खानेपानी, बिजुली बत्तीमा सबैको पहुँच, भूमिहीन सुकुम्बासीलाई अधिकार र किसानहरूलाई प्रोत्साहनसहितको स्थानीय प्राथमिकताका आधारमा विकास गर्ने नै मेरो एजेन्डा हो। समग्रमा विभिन्न क्षेत्रहरूलाई व्यवस्थित गर्ने कुरा नै मेरो मूल नारा हो।
- तपाईंको अघिल्लो निर्वाचनमा एउटा चुनाव चिह्न थियो, अहिले अर्कै चुनाव चिह्न छ, पार्टी पनि फरक छ। यो नयाँ चुनाव चिह्नले चुनावमा कस्तो असर गर्छ?
यसले केही असर गर्दैन। आजको दुनियाँ भनेको डिजिटल दुनियाँ हो। धेरै पार्टीहरू मिलेर नयाँ नाम र नयाँ चुनाव चिह्न बनेको छ। यो नयाँ चुनाव चिह्न यति छिटो हरेक मतदाताको मनमनमा बस्न सफल भएको छ कि त्यो नै हाम्रो जितको एउटा आधार र आम जनताको स्वीकारोक्ति पनि हो।
सीमान्तकृत र पछाडि पारिएका कतिपय समुदायहरूमा भने हामीले मतदाता शिक्षाको रूपमा यसलाई अलिकति बढी लैजानुपर्ने जरुरी छ। तर, अन्य व्यापारी, व्यवसायी, बुद्धिजीवी, शिक्षक, कर्मचारीदेखि लिएर समाजका हरेक अगुवाहरूलाई आज स्पष्ट भइसकेको छ कि झापा क्षेत्र नम्बर ५ मा सूर्य अस्ताउँछ र तारा उदाउँछ। सबैलाई यो अनुभूति भइसकेको छ। घाम डुब्छ, रात पर्छ अनि तारा झुल्किन्छ नि, त्यसैगरी अब सूर्य डुब्छ र तारा उदाउँछ भन्ने सबैलाई थाहा भइसकेको छ।
- धेरैको कुरा सुन्दा तपाईंले कतै अन्तिममा उम्मेदवारी नै छोड्नुहुन्छ कि, वा कसैलाई समर्थन गर्नुहुन्छ कि भन्ने पनि सुनिन्छ। तपाईंको संयोजकले पनि त्यस्तै आशयको कुरा बोलेको सुनिन्छ नि, यो के हो?
नवपुस्तालाई मार्न उक्साउने र मार्नेहरूलाई म कुनै हालतमा छोड्दिनँ, यो मेरो वाचा भयो। म भर्खरै तपाईंसँग कुरा गर्नुभन्दा अगाडि हाम्रो पार्टीको संयोजकसँग कुरा गरेर आएको हुँ। बाहिर बजारमा आएजस्तो कुनै हल्ला सत्य होइन। उहाँले मलाई 'निर्बाध रूपमा दुई अतिवादलाई परास्त गरेर आउनुहोस्, म तपाईंलाई भनेजस्तो ढंगबाट झापाली जनताको सम्मान हुने गरी भोलिको दिनमा मन्त्रालय दिन्छु' भन्नुभएको छ।
यहाँ दुईजना प्रधानमन्त्रीका दाबेदारहरू भिडिराखेका छन्। दुईटा प्रधानमन्त्रीलाई ढालेर आएपछि त मन्त्री त कसो नमिल्ला र भन्ने कुरा पनि हो नि त यो (हाँस्दै)। म एकदम ढुक्क हुन आग्रह गर्छु– दुई अतिवादलाई परास्त गर्न भनेर आएको म, बिचैमा छोडेर, अत्तालिएर, ब्याक हटेर त्यति सजिलै जानेवाला छैन। भ्रम नछर्दा हुन्छ।
- बाहिरबाट हेर्दा तपाईंलाई दुई ठूला शक्तिको बिचमा ‘कठैबरा’जस्तो पनि देखिन्छ। यो दुई अतिवादको घेराबाट तपाईं कसरी उम्किनुहुन्छ होला?
‘कठैबरा’ भन्दा पनि एजेन्डा र मुद्दाको हिसाबले मैले जनताको मन जितिसकेको छु। यहाँ भएका उम्मेदवारहरूमध्ये एजेन्डा र मुद्दाको दृष्टिकोणले सबैभन्दा अब्बल र योग्य उम्मेदवार रञ्जित तामाङ हो भन्ने कुरा हरेक मतदाताले भन्नुहुन्छ, सबै पार्टीका मान्छेले भन्नुहुन्छ। त्यो कुरालाई मैले आफ्नो सम्पत्ति र सकारात्मक पक्षको रूपमा हेरेको छु।
राष्ट्रिय तथा स्थानीय एजेन्डा र मुद्दाप्रतिको जवाफदेहिता, उत्तरदायित्व र आम मतदातासँगको मेरो आफ्नै प्रस्तुतिको हिसाबले पनि म ‘कठैबरा’ भनिने उम्मेदवार होइन। मैले मतदाताको बिचमा आफूलाई सक्षम र योग्य उम्मेदवारको रूपमा प्रमाणित गर्ने अवसर पाएको छु।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६ सुरु
-
राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो
-
चलचित्र ‘काला हिरण’ विवाद : निर्माता भन्छन्, ‘यो सलमान खानको बायोपिक होइन’
-
‘डन ३’ विवादमा रणवीरलाई राहत, असहयोगको निर्णय फिर्ता
-
तेस्रो पटक विवाह बन्धनमा बाँधिँदै आमिर खान
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण