बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
‘टक फर्वार्ड’मा क्रिकेटर ज्ञानेन्द्र मल्ल

‘पार्टीगत राजनीतिमा आएपछि हेर्ने नजर फरक हुँदो रहेछ’

शनिबार, १६ फागुन २०८२, २० : ३२
शनिबार, १६ फागुन २०८२

सारांश

  • पूर्व कप्तान ज्ञानेन्द्र मल्ल राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजनीतिमा प्रवेश गरेका छन्।
  • उनले राजनीति खेलकुदभन्दा फरक भएको र यसले समाजका सबै क्षेत्रलाई समेट्ने बताए।
  • मल्लले राजनीति सफा गर्न जिम्मेवार नागरिकको हैसियतले परिवर्तन ल्याउनुपर्ने धारणा राखे।

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल नयाँ मैदानमा प्रवेश गरेका छन् राजनीतिको मैदानमा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक उम्मेदवार रहेका ज्ञानेन्द्र खेलकुदको अनुशासित भूमिका राजनीतिमा पनि निर्वाह गर्ने अठोट लिएर नयाँ यात्रामा निस्किएका हुन् । 

रातोपाटी पडकास्ट ‘टक फर्वार्ड’मा उनी समाजका विभिन्न पाटो, समस्या, खेलकुद क्षेत्रमा गर्नुपर्ने काम लगायत विषयमा राम्रैसँग खुले । 

‘राजनीति खेलकुदभन्दा पक्कै पनि फरक छ । क्रिकेट एउटा निश्चित विधा हो र यसको दायरा सीमित हुन्छ । तर राजनीतिले समाजका सबै क्षेत्र र हरेक वर्गलाई समेट्छ,’ उनले भने, ‘राजनीतिमा जोडिएपछि समाजका विभिन्न विधाका मानिसहरूसँग जोडिनुपर्ने, उहाँहरूका मुद्दाहरूलाई सम्बोधन गर्नुपर्ने र अझ बृहत् सञ्जालमा काम गर्नुपर्ने हुँदो रहेछ । यो अलि फरक र व्यापक ढंगले अगाडि बढ्ने क्षेत्र हो ।‘

उनलाई सोधियो- खेल मैदानमा हुँदा तपाईं सबैको साझा र प्यारो हुनुहुन्थ्यो, तर राजनीतिमा आएपछि कुनै न कुनै पक्षको बन्नुपर्छ । दबाब महसुस भएको छ कि छैन ?

‘पार्टीगत राजनीतिमा आइसकेपछि हेर्ने नजर परिवर्तन हुँदो रहेछ । हिजो खेलाडीका रूपमा मन पराउनेहरूले आज राजनीतिकर्मीका रूपमा मन नपराउन पनि सक्छन् । यो अनुमान मैले पहिल्यै गरेको थिएँ,’ ‘अहिले धेरै शुभचिन्तकहरूले मलाई ‘तपाईं राजनीतिमा नआएको भए हुन्थ्यो, क्रिकेटले दिएको नाम राजनीतिले डुबाउँछ कि’ भनेर चिन्ता पनि व्यक्त गर्नुभएको छ । म उहाँहरूको चिन्ता र माया बुझ्छु ।‘

तर राजनीति फोहोरी खेल भनेर पन्छिने हो भने सफा गर्ने कोही पनि नहुने उनी बताउँछन् । ‘हामी सधैँ राजनीति फोहोर भयो भनेर पन्छिने हो भने यसलाई सफा कसले गर्छ ? एउटा जिम्मेवार नागरिकका हैसियतले परिवर्तन ल्याउन कोही न कोही त अगाडि सर्नैपर्छ,’ ज्ञानेन्द्र भन्छन् ।

‘टक फर्वार्ड’मा ज्ञानेन्द्रसँग राजनीतिमा प्रवेश गर्नुको कारण, राजनीतिक एजेन्डादेखि टी-२० विश्वकप क्रिकेटदेखि खेलकुद क्षेत्रका समस्यासम्मका विषयमा कुराकानी गरिएको छ । अन्तर्वार्ता भिडियोमा हेर्न-सुन्न सकिन्छ ।

भिडियो : आयुष धामी/रातोपाटी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

खेम रिसाल
खेम रिसाल

खेम रिसाल रातोपाटीका कपी एडिटर हुन् ।

लेखकबाट थप