शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

सोयाबिन : शाकाहारीका लागि प्रोटिनको उत्कृष्ट स्रोत

यस्ता छन् सोयाबिन खाँदा स्वास्थ्यमा हुने फाइदा
आइतबार, १७ फागुन २०८२, १५ : ४१
आइतबार, १७ फागुन २०८२

सारांश

  • सोयाबिन प्रोटिनको उत्कृष्ट स्रोत हो, जसले मांसपेशी र हड्डी मजबुत बनाउनुका साथै कोलेस्ट्रोल घटाउन मद्दत गर्छ।
  • सोयाबिनको सेवनले रजोनिवृत्तिका समस्या कम गर्न, हड्डी मजबुत राख्न र रक्तचाप सन्तुलनमा राख्न सहयोग गर्छ।
  • सोयाबिनलाई तरकारी, पुलाउ, सुप, सलादमा मिसाएर वा हल्का भुटेर खान सकिन्छ, तर धेरै सेवन गर्दा साइड इफेक्ट हुनसक्छ।

काठमाडौँ । शाकाहारी खानेकुरा मन पराउने व्यक्तिका लागि सोयाबिन प्रोटिनको उत्कृष्ट स्रोत मानिन्छ। यसमा प्रोटिनसँगै फाइबर, क्याल्सियम, आइरन र म्याग्नेसियमजस्ता आवश्यक पोषक तत्त्व पाइन्छन्। जसले मांसपेशी र हड्डी मजबुत बनाउनुका साथै शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्छ।

एक अनुसन्धानका अनुसार सोयाबिनले कोलेस्ट्रोलको मात्रा घटाउन मद्दत गर्छ। साथै, रजोनिवृत्तिको समयमा महिलामा देखिने अचानक धेरै गर्मी महसुस हुने समस्या कम गर्न पनि सहयोगी हुने बताइएको छ।

केही अध्ययनले स्तन क्यान्सरको जोखिम घट्न सक्ने संकेतसमेत देखाएका छन्। यसले हड्डी मजबुत राख्न र रक्तचाप सन्तुलनमा राख्न पनि मद्दत गर्ने उल्लेख छ। 

यद्यपि, यसको प्रभाव व्यक्तिपिच्छे फरक हुन सक्छ। तर, सन्तुलित मात्रामा सेवन गर्दा सोयाबिन सामान्यतः स्वास्थ्यका लागि लाभदायक मानिन्छ।

सोयाबिनमा पाइने पोषक तत्त्व

युएसडीएका अनुसार १०० ग्राम सोयाबिनमा करिब ५० ग्राम प्रोटिन पाइन्छ। यो मांसपेशीको विकास र रिकभरीका लागि अत्यन्त उपयोगी मानिन्छ। यसमा क्याल्सियम, आइरन र म्याग्नेसियमजस्ता खनिज तत्त्व पनि पर्याप्त मात्रामा पाइन्छन्।

सोयाबिन कसरी तयार गरिन्छ?

१. सोयाबिनबाट तेल निकालेपछि बाँकी रहेको भागलाई प्रशोधन गरेर सोया चंक्स बनाइन्छ।

२. तेल निकालिसकेपछि बाँकी रहेको ‘डि–फ्याटेड सोया फ्लोर’लाई पानीसँग मिसाएर बाक्लो घोल बनाइन्छ।

३. उक्त घोललाई ‘एक्स्ट्रुडर कुकिङ मेसिन’मा उच्च तापक्रम र चापमा पकाइन्छ।

४. पकाइको पेस्टलाई साना टुक्रामा काटिन्छ।

५. उच्च चापका कारण यसले स्पन्जजस्तो बनावट प्राप्त गर्छ।

६. त्यसपछि ड्रायरमा सुकाएर गुणस्तर परीक्षण गरी प्याक गरेर बजार पठाइन्छ।

soyabean 2

सोयाबिनका प्रमुख फाइदा

१. करिब ५२ प्रतिशत प्रोटिन हुने भएकाले मांसपेशीको वृद्धि र मर्मतमा सहयोग गर्छ।

२. फाइबर बढी र बोसो कम हुने भएकाले तौल नियन्त्रणमा सहयोग पुर्‍याउँछ।

३. खराब कोलेस्ट्रोल घटाएर मुटुको स्वास्थ्यमा फाइदा पुर्‍याउँछ।

४. क्याल्सियम र फस्फोरसका कारण हड्डी र दाँत मजबुत हुन्छन्।

५. आइरनका कारण हेमोग्लोबिनको स्तर सुधार हुन्छ।

६. पाचन प्रणाली मजबुत बनाउन मद्दत गर्छ।

७. ब्लड सुगर नियन्त्रणमा सहयोग गर्छ।

८. ‘आइसोफ्लाभोन’ नामक तत्त्वका कारण रजोनिवृत्तिमा देखिने 'हट फ्ल्यास' कम गर्न सहयोग पुग्छ।

९. फस्फोरसले मस्तिष्कको कार्यक्षमता र स्मरणशक्ति बढाउन मद्दत गर्छ।

सोयाबिनलाई आहारमा कसरी समावेश गर्ने?

१. तरकारीका रूपमा

२. पुलाउ वा फ्राइड राइसमा

३. सुपमा

४. उमालेर सलादमा मिसाएर

५. तरकारीसँग हल्का भुटेर

धेरै सेवन गर्दा हुन सक्ने साइड इफेक्ट

धेरै मात्रामा सेवन गर्दा ग्यास भरिने, पेट फुल्ने र पखाला लाग्ने हुन सक्छ। केही व्यक्तिमा सोयाबिनबाट एलर्जी देखिन सक्छ, जसले गर्दा छाला चिलाउने, र्‍यासेस आउने वा सास फेर्न गाह्रो हुने समस्या हुन सक्छ। सोयामा पाइने फाइटो–एस्ट्रोजनका कारण थाइराइडको समस्या भएका व्यक्तिमा हर्मोन असन्तुलन हुन सक्छ।

एक दिनमा कति सोयाबिन खानु सुरक्षित?

विज्ञहरूका अनुसार सामान्य स्वस्थ व्यक्तिले दिनमा २५ देखि ३० ग्राम सोयाबिन सेवन गर्न सक्छन्। पकाएपछि यो मात्रा करिब आधादेखि एक कचौरा बराबर हुन्छ।

soyabean

मधुमेह भएका व्यक्तिले खान मिल्छ कि मिल्दैन?

सोयाबिनको ग्लाइसेमिक इन्डेक्स कम हुने भएकाले यसले रक्तचिनी बिस्तारै बढाउँछ। त्यसैले मधुमेह भएका व्यक्तिका लागि यो राम्रो विकल्प मानिन्छ।

बालबालिकालाई सोयाबिन दिन मिल्छ?

सीमित मात्रामा बालबालिकालाई सोयाबिन दिन सकिन्छ। यसले उनीहरूको वृद्धि, मांसपेशीको विकास र हड्डी मजबुत बनाउन सहयोग गर्छ। यद्यपि, कुनै स्वास्थ्य समस्या भएमा चिकित्सकको सल्लाह लिनुपर्ने विज्ञको सुझाव छ।

कसले सोयाबिन नखाँदा उपयुक्त हुन्छ?

  • सोयाबिनको एलर्जी भएका व्यक्ति
  • थाइराइडको समस्या भएका व्यक्ति
  • हर्मोनसँग सम्बन्धित समस्या भएका व्यक्ति

बजारबाट सोयाबिन किन्दा ध्यान दिनुपर्ने कुरा

  • उत्पादन मिति र म्याद समाप्ति मिति जाँच गर्ने।
  • प्याकेट राम्रोसँग सिल गरिएको छ कि छैन भन्ने सुनिश्चित गर्ने।
  • अस्वाभाविक गन्ध आएको सोयाबिन नकिन्ने।
  • भरपर्दो र चिनिएको कम्पनीको उत्पादन मात्र रोज्ने।
  • सामग्रीको सूची हेरेर अनावश्यक रसायन वा एडिटिभ नभएको सुनिश्चित गरेर किन्दा उपयुक्त हुन्छ।
  • नेपालमा उत्पादित भए खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुज्ञापत्र नम्बर र भारतबाट आयातित भए एफएसएसएआई नम्बर अनिवार्य हेर्ने।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप