बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

निर्वाचन सुरक्षाः मधेसमा ५० हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

सोमबार, १८ फागुन २०८२, २० : ३६
सोमबार, १८ फागुन २०८२

जनकपुरधाम । मधेस प्रदेशमा प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ । 

निर्वाचन आचारसंहिता उल्लंघन हुन नदिन, निर्वाचन भाँड्ने गतिविधि रोक्न तथा निष्पक्ष र शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गराउन सुरक्षा तयारी पूरा भइसकेको मधेस प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले जनाएको छ । 

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी कमल थापाले रातोपाटीसँग कुरा गर्दै निर्वाचन सुरक्षाका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा म्यादी प्रहरीसहित ५० हजारभन्दा बढी सुरक्षाकर्मी खटाइएको जानकारी दिए । उनले प्रदेशका आठवटै जिल्लाका मतदान स्थल तथा केन्द्रहरूको सुरक्षा अनुगमन र निरीक्षण कार्य सम्पन्न भइसकेको पनि जानकारी गराए । 

प्रदेश प्रहरी कार्यालयका अनुसार मधेस प्रदेशमा रहेका दुई हजार १६० मतदान स्थलमध्ये एक हजार २४६ अतिसंवेदनशील मानिएका छन् । प्रतिनिधिसभाका ३२ निर्वाचन क्षेत्र रहेको यस प्रदेशमा ७५५ मतदानस्थल संवेदनशील र १५९ सामान्य अवस्थामा छन् । भारतीय सीमासँग जोडिएका अधिकांश मतदान स्थललाई अतिसंवेदनशील सूचीमा समावेश गरिएको छ । सप्तरीमा रहेका २९६ मतदान स्थलमध्ये २०९ उच्च जोखिममा छन् । 

मधेस प्रहरी कार्यालय, जनकपुरधामका प्रमुख डीआईजी गोविन्द थपालियाले रातोपाटीसँग कुरा गर्दै भयरहित र शान्तिपूर्ण वातावरणमा निर्वाचन गराउन सुरक्षा व्यवस्था योजनाबद्ध रूपमा अघि बढाइएको बताएका छन् । उनका अनुसार नेपाल-भारत सीमाक्षेत्र लगायत विभिन्न स्थानमा जाँचचौकी स्थापना गरी विशेष निगरानी बढाइएको छ । निर्वाचन सुरक्षा तयारी पूर्ण भइसकेको र प्रत्येक मतदान स्थल तथा केन्द्रको अनुगमन पनि सम्पन्न भइसकेको उनले जानकारी गराए । 

आज साँझदेखि सुरक्षाकर्मीहरू मतदान बुथमा पुग्ने, बुथको जिम्मा लिने, सूचना टाँस गर्ने, चार किल्ला निर्धारण गर्ने तथा सम्बन्धित मतदान स्थल वरिपरि र नगर क्षेत्रमा समेत प्रहरी परिचालन गरिने योजना रहेको छ ।
निर्वाचन सुरक्षाका लागि मधेस प्रदेशका आठ जिल्लामा चार जना एसएसपीलाई जिल्लागत सुरक्षा कमान्डको जिम्मेवारी दिइएको छ । जसमा एसएसपी कमल थापाले धनुषा र महोत्तरी, एसएसपी भीमबहादुर दाहालले सिरहा र सप्तरी, एसएसपी शान्तिराज कोइरालाले बारा र पर्सा तथा एसएसपी सुरेश काफ्लेले रौतहट र सर्लाही जिल्लाको सुरक्षा कमान्ड सम्हाल्नेछन् । उनीहरूलाई निर्वाचन पूर्वको सुरक्षा अवस्था मूल्यांकन र योजना निर्माणको जिम्मेवारी तोकिएको छ । 

मधेसका सिरहा, सर्लाही, रौतहट र पर्सा जिल्लालाई बढी सुरक्षा चुनौती भएका जिल्लाका रूपमा लिइएको छ । प्रमुख नेताहरूको उम्मेदवारी, दल परिवर्तन, धार्मिक संवेदनशीलता तथा विगतका निर्वाचनमा भएका घटनालाई ध्यानमा राख्दै सुरक्षा सतर्कता बढाइएको छ । 

त्यस्तै सिरहाका १५४, धनुषाका १९४, महोत्तरीका १६३, सर्लाहीका १५८, रौतहटका १५२ तथा बाराका १४५ मतदान स्थललाई पनि अतिसंवेदनशील सूचीमा राखिएको छ । मधेस प्रदेशमा कुल चार हजार ४७१ मतदान केन्द्र रहेका छन् भने निर्वाचनमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी एक हजार २८ जना उम्मेदवार प्रतिस्पर्धा गर्दैछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप