स्याङ्जामा 'मृतक मत' विवादपछि सुरक्षा रणनीति परिवर्तन
सारांश
- पोखरामा तीन वर्षअघिको निर्वाचनमा मृत्यु भएका व्यक्तिको नाममा मतदान भएको आरोप लागेको थियो, जसका कारण मतगणना रोकिएको थियो।
- यसपटक सुरक्षालाई कडाई गर्न उच्च तहका सुरक्षा अधिकारी खटाइएको छ र विगतका शंकास्पद स्थानहरूमा निगरानी बढाइएको छ।
- स्याङ्जा २ मा मतदानका बेला धाँधली रोक्न र निष्पक्ष निर्वाचन गराउन सुरक्षा व्यवस्था कडा पारिएको छ।
पोखरा । तीन वर्षअघिको प्रतिनिधिसभा निर्वाचनम मृत्यु भइसकेका व्यक्तिका नाममा पनि मत खसालिएको भन्दै चर्को आलोचना भएको थियो, सोही कारण केही समय मतगणना नै रोकिएको थियो । मतदाताको तुलनामा अस्वाभाविक मत खसेपछि बुथ कब्जा भएको आशंका गरियो । तर, उक्त समयमा पुनः मतदान भएन । जसोतसो रिजल्ट सार्वजनिक गरियो ।
अहिले उक्त क्षेत्रलाई हाइ अलर्टमा राखिएको छ । यसपटक प्रशासनले सुरक्षा रणनीति परिवर्तन गरेको छ । पहिलेका चुनावभन्दा अहिले सुरक्षा अधिकारीहरू पनि उच्च तहकै खटाइएको हो । अघिल्लो निर्वाचनमा चापाकोट नगरपालिका लगायतका क्षेत्रमा मृत्यु भइसकेका र विदेशमा रहेकाहरूको नाममा समेत मतदान भएको भन्दै एमाले र कांग्रेसबिच ठुलो विवाद भएको थियो ।
अहिले पुरानो अवस्था दोहोरिन नदिन सूक्ष्म विश्लेषण गरेर सुरक्षालाई कडा पारिएको सहायक प्रमुख जिल्ला अधिकारी प्रेम सुवेदीले जानकारी दिए । उनका अनुसार विगतको तथ्यांक विश्लेषण गर्दा चापाकोट, कालीगण्डकी र गल्याङका गरी करिब १३ वटा स्थानहरूलाई शंकास्पद सूचीमा राखिएको छ । प्रशासनले यी मतदान केन्द्रमा अति संवेदनशील मानेर निगरानी बढाएको छ ।
‘विगतमा कहाँ कस्तो मत खस्यो भन्ने तथ्यांक हामीले केलाएका छौं । औसतभन्दा बढी मत खसेका र विवादित बनेका ती ठाउँलाई पहिचान गरी सुरक्षाको विशेष प्रबन्ध मिलाइएको छ,’ उनले भने, ‘जिल्लाभर ५६ वटा मतदान केन्द्रलाई अति संवेदनशील सूचीमा राखिएको छ ।’
स्याङ्जा २ को संवेदनशीलतालाई हेरेर नै गृह मन्त्रालयले जिल्लाको नियमित कमान्ड संरचनाभन्दा माथिल्लो दर्जाका अधिकारीहरूलाई खटाएको छ । सामान्य समयमा जिल्लाको सुरक्षा कमान्ड प्रहरी उपरीक्षक (एसपी) ले सम्हाल्ने भए पनि यसपटक नेपाल प्रहरीले वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) लाई कमान्डर तोकेर पठाएको छ । त्यस्तै, सशस्त्र प्रहरी बलमा पनि डीएसपीको कमान्ड रहने ठाउँमा यसपटक एसपीको नेतृत्वमा टोली खटिएको छ ।
नेपाली सेनाले पनि मेजर र कर्णेलस्तरका अधिकृतहरूलाई कमान्डका लागि खटाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । ‘यसपटक सुरक्षामा कुनै सम्झौता हुँदैन । केन्द्रबाटै चासो राखेर थप जनशक्ति र माथिल्लो तहको नेतृत्व खटाइएको हो,’ सुवेदी भन्छन्, ‘शंकास्पद गतिविधि गर्न सक्ने सम्भावित व्यक्तिहरूको पहिचान गरी निगरानीसमेत बढाइएको छ ।’
मतदानमा धाँधली हुन नदिन प्रशासनले कर्मचारी खटनपटनमा पनि कडाइ गरेको छ । स्याङ्जामा ३ सय २२ मतदान केन्द्र र १ सय ९९ मतदान स्थल छन् । त्यसबाहेक कारागारमा एउटा अस्थायी मतदान केन्द्र कायम गरिएको छ । २०७९ को निर्वाचनमा यहाँ कांग्रेसका धनराज गुरुङले एमालेकी पद्माकुमारी अर्याललाई पराजित गरेका थिए ।
त्यसबेला ‘पितृको मत’ सदर गरेको भन्दै निर्वाचन अधिकृत रामचन्द्र शर्मा विवादमा तानिएका थिए । यसपालि कांग्रेसबाट भागवत प्रकाश मल्ल, एमालेबाट खिमबहादुर थापा, नेपाली कम्युनिस्ट पार्टीका रेशम विश्वकर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीका झविलाल डुम्रेलगायत उम्मेदवार छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण