मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय
टी-२० विश्वकप सेमिफाइनल

लगातार तेस्रो पटक सेमिफाइनलमा भिड्दै भारत र इंग्ल्याण्ड, वानखेडेमा कसको पल्ला भारी?

बिहीबार, २१ फागुन २०८२, ०९ : ३०
बिहीबार, २१ फागुन २०८२

सारांश

  • भारत र इंग्ल्याण्डबिच टी-२० विश्वकपको दोस्रो सेमिफाइनल मुम्बईको वानखेडे स्टेडियममा हुँदैछ।
  • दुवै टोली टी-२० विश्वकपको सेमिफाइनलमा तेस्रो पटक भिड्दै छन्, र अघिल्ला दुई सेमिफाइनलमा १-१ खेल जितेका थिए।
  • भारत र इंग्ल्याण्डबीचको खेलमा सूर्यकुमार यादव र आदिल रसिद जस्ता खेलाडीहरूको प्रदर्शन महत्त्वपूर्ण हुनेछ।

मुम्बई । टी-२० विश्वकपको दोस्रो सेमिफाइनल आज भारत र इंग्ल्याण्डबिच खेलिँदैछ। यो खेल मुम्बईको वानखेडे स्टेडियममा साँझ ७:१५ बजे सुरु हुनेछ ।

दुवै टोली सेमिफाइनलमा लगातार तेस्रो पटक भिड्न लागेका हुन्। यसअघि २०२२ र २०२४ मा पनि यी दुईबिच सेमिफाइनलमै प्रतिस्पर्धा भएको थियो, जसमा दुवैले १-१ खेल जितेका थिए। रोचक कुरा के छ भने, सेमिफाइनलमा एकअर्कालाई हराउने टोलीले नै ती वर्षको विश्वकपको उपाधि उचालेका थिए।

दुवै टोलीको यो छैटौँ सेमिफाइनल

भारतीय टोली छैटौँ पटक टी-२० विश्वकपको सेमिफाइनलमा पुगेको हो। यसअघि भारतले सन् २००७, २०१४, २०१६, २०२२ र २०२४ मा पनि शीर्ष ४ मा स्थान बनाएको थियो, जसमध्ये ५ मा ३ सेमिफाइनल जितेको थियो।

त्यस्तै, इंग्ल्याण्डले पनि छैटौँ पटक सेमिफाइनल खेल्दैछ। यसअघि इंग्लिस टोली सन् २०१०, २०१६, २०२१, २०२२ र २०२४ मा यस चरणसम्म पुगेको थियो, जसमा ३ सेमिफाइनल जितेर फाइनलको यात्रा तय गरेको थियो।

विश्वकपमा छैटौँ पटक आमनेसामने

भारत र इंग्ल्याण्डबीच हालसम्म कुल २९ टी-२० अन्तर्राष्ट्रिय खेल भएका छन्। जसमा भारतले १७ र इंग्ल्याण्डले १२ खेल जितेका छन्। टी-२० विश्वकपको इतिहासमा भने दुवै टोलीले ५ खेल खेलेका छन्, जसमा भारत ३ र इंग्ल्याण्ड २ खेलमा विजयी भएका छन्।

कप्तान सूर्या भारतका टप स्कोरर

यस टी-२० विश्वकपमा भारतका लागि कप्तान सूर्यकुमार यादव सानदार लयमा देखिएका छन्। उनले ७ खेलमा २३१ रन बनाएका छन्, जसमा उनको उत्कृष्ट स्कोर ८४ रन रहेको छ। बलिङतर्फ वरुण चक्रवर्तीले उत्कृष्ट प्रदर्शन गर्दै ७ खेलमा १२ विकेट लिएका छन्।

आदिल रसिद इंग्ल्याण्डका मुख्य हतियार

यस विश्वकपमा इंग्ल्याण्डका लागि ह्यारी ब्रुक ब्याटिङमा सबैभन्दा प्रभावशाली खेलाडी साबित भएका छन्। उनले ७ खेलमा २२८ रन बनाएका छन्। 

बलिङ विभागमा स्पिनर आदिल रसिदले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै ७ खेलमा ११ विकेट आफ्नो नाम गरेका छन्।

जसमाथि हुनेछ नजर 

  • अभिषेक शर्मा 

गत फेब्रुअरी २०२५ मा वानखेडेमा इंग्ल्याण्डविरुद्ध खेल्दा अभिषेक शर्माले यस्तो सानदार ब्याटिङ गरेका थिए कि टी-२० ब्याटिङको परिभाषा नै परिवर्तन भएको जस्तो भान भएको थियो। ७ चौका र उत्कृष्ट १३ छक्का प्रहार गर्दै उनले इंग्ल्याण्डको पेस आक्रामणलाई ध्वस्त पारेका थिए। 

इंग्ल्याण्डका प्रमुख हतियार आदिल रसिदमाथि पनि उनी त्यत्तिकै खनिएका थिए। ५४ बलमा १३५ रन बनाएर आउट हुनुअघि उनले रसिदको ३ ओभरमै ४१ रन कुटेका थिए (संयोगवश, गत महिना यही मैदानमा नेपालले रसिदविरुद्ध बनाएको रनभन्दा यो एक रनले मात्र बढी हो)।

यद्यपि, यसबिचमा समय निकै छिटो परिवर्तन भएको छ। सेमिफाइनल जस्तो महत्त्वपूर्ण खेलमा सुरुदेखि नै निडरता आवश्यक हुन्छ। अभिषेकले आफ्नो पुरानो लय समात्न ती सुखद क्षणहरुलाई याद गर्नुपर्ने हुन सक्छ। उनको यस विश्वकपको सुरुवात अमेरिका, पाकिस्तान र नेदरल्यान्ड्सविरुद्ध लगातार तीन 'डक' (शून्य) आउटबाट भएको थियो। 

जिम्बाब्वेविरुद्ध २६ बलमा अर्धशतक बनाएर लयमा फर्किएको संकेत दिए पनि वेस्ट इन्डिजविरुद्ध ११ बलमा १० रन बनाएर उनी फेरि संघर्षरत देखिए। तर समग्रमा हेर्दा, उनी इंग्ल्याण्डका ओपनरभन्दा धेरै राम्रो मानसिक स्थितिमा छन्।

  • जोस बटलर

जोस बटलरको अभियान भने पूर्ण रूपमा संकटमा छ। तर ड्रेसिङ रुममा उनको उचाइ र हैसियत यस्तो छ कि इंग्ल्याण्डले उनलाई बेन डकेट वा रेहान अहमदको लागि बाहिर राख्ने कुरा सोच्न पनि सक्दैन। अब सबै कुरा यो सेमिफाइनलको प्रदर्शनमा निर्भर गर्दछ। के इंग्ल्याण्डका महान् ह्वाइट-बल ब्याटरले आवश्यक परेको बेला आफ्नो लय फर्काउन सक्लान्?

josh butler

टी-२० क्रिकेटमा फर्मलाई मापन गर्न गाह्रो हुन्छ। बटलरले लगातार पाँच इनिङ्समा एउटा पनि बाउन्ड्री प्रहार गर्न सकेका छैनन् र २७ बलमा जम्मा १५ रन बनाउँदा उनको फुटवर्क निकै कमजोर देखिएको छ। राम्रो कुरा के हो भने उनको सुरुवात नेपाल र वेस्ट इन्डिजविरुद्ध वानखेडेमै सामान्य लयबाट भएको थियो। तर नराम्रो कुरा, ती खेलहरुमा उनले मात्र २६ र २१ रन बनाएर आउट भए, जुन समयमा पुरानो बटलर आक्रामक हुन्थे।

टिम न्युज

खेलाडीहरु पूर्ण रूपमा फिट भएमा वेस्ट इन्डिजविरुद्धको क्वार्टरफाइनल सरहको खेल जितेको भारतीय टोलीमा कुनै परिवर्तन हुने सम्भावना छैन।

  • सम्भावित भारतीय टोली: १. अभिषेक शर्मा, २. सञ्जु सामसन (विकेटकिपर), ३. इशान किशन, ४. तिलक वर्मा, ५. सूर्यकुमार यादव (कप्तान), ६. हार्दिक पाण्ड्या, ७. शिवम दुबे, ८. अक्षर पटेल, ९. अर्शदीप सिंह, १०. जसप्रित बुमराह, ११. वरुण चक्रवर्ती।

न्युजिल्याण्डविरुद्ध रेहान अहमदको चामत्कारिक प्रदर्शनले उनको उज्ज्वल भविष्यको संकेत त गर्यो, तर इंग्ल्याण्डको वर्तमान आवश्यकतामा उनी त्यति फिट देखिएनन्। उनलाई हटाएर जेमी ओभरटनलाई ल्याउने लगभग पक्का छ। बटलर संघर्षरत भए पनि इंग्ल्याण्डले तत्कालै आफ्नो ह्वाइट-बल लेजेन्डलाई विश्राम दिने छैन।

  • सम्भावित इंग्लिस टोली: १. फिल साल्ट, २. जोस बटलर (विकेटकिपर), ३. ह्यारी ब्रुक (कप्तान), ४. ज्याकब बेथेल, ५. टम ब्यान्टन, ६. साम करन, ७. विल ज्याक्स, ८. जेमी ओभरटन, ९. लियाम डसन, १०. जोफ्रा आर्चर, ११. आदिल रसिद।

पिच रिपोर्ट र रेकर्ड

वानखेडे स्टेडियमको पिच सामान्यतया ब्याटरहरुका लागि अनुकूल मानिन्छ। मौसम सफा रहने भएकाले शीत (ड्यू) ले पनि महत्त्वपूर्ण भूमिका खेल्न सक्छ, जसका कारण टस जित्ने टोलीले पहिले बलिङ गर्ने निर्णय लिन सक्छ।

यहाँ खेलिएका १६ टी-२० अन्तर्राष्ट्रिय खेलमा ८ पटक लक्ष्य पछ्याउने टोली र ८ पटक पहिले ब्याटिङ गर्ने टोलीले जित निकालेका छन्। यस मैदानको उच्च स्कोर २५४ रन हो, जुन यसै विश्वकपमा वेस्ट इन्डिजले जिम्बाब्वेविरुद्ध बनाएको थियो। यहाँ ३२ इनिङ्समा ६ पटक २०० प्लस स्कोर बनिसकेको छ।

ipl-2018-wankhede-stadium-mumbai-indians-chennai-superkings-1366x768

यस विश्वकपमा यहाँ ७ खेल खेलिएका छन्। सुरुवाती ३ खेल पहिले ब्याटिङ गर्ने टोलीले जितेका थिए। त्यसपछि लगातार ३ खेलमा लक्ष्य पछ्याउने टोलीले सफलता पाए। अन्तिम खेलमा वेस्ट इन्डिजले पहिले ब्याटिङ गर्दै जिम्बाब्वेलाई १०७ रनले हराएको थियो।

भारतले वानखेडेमा ७ टी-२० खेल खेलेको छ, जसमा ५ जित र २ हार व्यहोरेको छ। त्यस्तै, इंग्ल्याण्डले यहाँ ६ खेल खेलेको छ, जसमा ३ जित र ३ हारको नतिजा छ। भारत र इंग्ल्याण्ड यस मैदानमा दुई पटक भिडिसकेका छन् र दुवैले १-१ जित हात पारेका छन्।

  • मुम्बईमा वर्षाको सम्भावना छैन, सेमिफाइनलका लागि रिजर्भ डे

बिहीबार मुम्बईको आकाश पूर्ण रूपमा सफा रहनेछ र वर्षाको कुनै सम्भावना छैन। दिनको अधिकतम तापक्रम करिब ३३ डिग्री र रातिको तापक्रम २५ डिग्री सेल्सियसको हाराहारीमा रहने अनुमान छ।

मुम्बईमा वर्षाको सम्भावना नभए पनि आईसीसीले सावधानीस्वरूप रिजर्भ डे राखेको छ। यदि कुनै कारणवश मार्च ५ मा खेल पूरा हुन सकेन भने, मार्च ६ (शुक्रबार) का दिन रिजर्भ डेमा खेल हुनेछ। यदि रिजर्भ डेमा पनि सेमिफाइनल हुन सकेन भने, नियमअनुसार इंग्ल्याण्ड सिधै फाइनलमा प्रवेश गर्नेछ। यसको कारण सुपर-८ चरणमा इंग्ल्याण्ड ग्रुप-१ मा पहिलो स्थानमा थियो भने भारत दोस्रो स्थानमा थियो।

कसले के भने ?

‘हामी यहाँसम्म आइपुगेको यात्राले हामीलाई धेरै आत्मविश्वास दिएको छ। हामीले केही कडा प्रतिस्पर्धात्मक खेलहरु जितेका छौँ, जुन विश्वकपमा निकै महत्त्वपूर्ण सावित हुन्छन्। हामी अहिलेसम्म कुनै पनि खेलबाट पूर्ण रूपमा बाहिर भएका छैनौँ जस्तो लाग्छ, जसले यस्ता विश्वस्तरीय प्रतियोगितामा तपाईंलाई बलियो स्थितिमा राख्छ।’ 

– ह्यारी ब्रुक (कप्तान, इंग्ल्याण्ड)

वानखेडेमा सधैँ अलिकति अतिरिक्त बाउन्स हुन्छ। ब्याटरहरुले बाउन्समा विश्वास गरेर लाइनमा प्रहार गर्न सक्छन्। तर यसले बलरलाई पनि खेलमा फर्काउने अवसर दिन्छ। यहाँ बाउन्ड्री छोटो भएकाले गल्ती गर्ने छुट कम हुन्छ। यस्तो पिचमा ब्याटरको शक्ति नै उसको कमजोरी बन्न सक्छ। त्यसैले रक्षात्मक नभई निरन्तर आक्रमण गर्नु राम्रो हुन्छ, किनकि विकेट लिने अवसरहरु आइरहन सक्छन्।’ 

– मोर्ने मोर्केल (बलिङ प्रशिक्षक, भारत)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप