शुक्रबार, १९ असार २०८३
ताजा लोकप्रिय

कुनै व्यक्ति वा शक्तिलाई देवत्वकरण नगर्न भीमार्जुन आचार्यको सुझाव

बिहीबार, २१ फागुन २०८२, १९ : ५५
बिहीबार, २१ फागुन २०८२

सारांश

  • संविधानविद् भीमार्जुन आचार्यले प्रतिनिधि सभा निर्वाचनको सफलता सबैको सामूहिक प्रयासको फल भएको बताए।
  • निर्वाचन सफल नभए देश भयावह अवस्थामा पुग्न सक्ने जोखिम औंल्याउँदै उनले सामाजिक एकता र राजनीतिक वातावरण आवश्यक रहेको बताए।
  • आचार्यले निर्वाचनमा सबैको भूमिका रहेको र कसैलाई देवत्वकरण गर्ने प्रवृत्ति बन्द गर्नुपर्नेमा जोड दिए।

काठमाडौँ । संविधानविद् भीमार्जुन आचार्यले हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनलाई एउटा महत्त्वपूर्ण उपलब्धिका रूपमा चित्रण गर्दै यसको सफलता कुनै एक पक्षको मात्र नभई सबैको सामूहिक प्रयासको प्रतिफल भएको बताएका छन्। निर्वाचनको नतिजा जसको पक्षमा गए पनि वा आगामी सरकार जुन दलले बनाए पनि तोकिएको समयमा मतदान सम्पन्न हुनु नै मुलुकका लागि सुखद पक्ष भएको उनको ठहर छ। 

निर्वाचन हुन नसकेको अवस्थामा देश भयावह स्थितिमा पुग्न सक्ने जोखिम औँल्याउँदै उनले सामाजिक एकता र सहज राजनीतिक वातावरण नै अहिलेको मुख्य आवश्यकता रहेको उल्लेख गरेका छन्। आचार्यले निर्वाचन सफल हुनुमा विभिन्न पक्षको भूमिकालाई स्मरण गराउँदै कुनै विशेष व्यक्ति वा नेतृत्वलाई देवत्वकरण गर्ने र उनीहरूका लागि भविष्यमा गैर-संवैधानिक जिम्मेवारीको वातावरण सिर्जना गर्ने प्रवृत्ति तत्काल बन्द गर्नुपर्नेमा जोड दिएका छन्। 

संसद्मा रहेका राजनीतिक दलहरूले भाग नलिएको भए, सुरक्षा निकायले सार्थक सहयोग नगरेको भए र निर्वाचन आयोगका कर्मचारीहरू कर्तव्यनिष्ठ नभएको भए यो निर्वाचन सम्भव नहुने उनले प्रस्ट पारेका छन्। साथै, राष्ट्रपतिले दल र सरकारबिच निर्वाह गरेको अभिभावकीय भूमिका र आम नागरिक, मिडिया एवं बुद्धिजीवीहरूले निर्माण गरेको चुनावी माहौललाई पनि उनले सफलताको कडी मानेका छन्।

निर्वाचनमा मतदाताहरूको सक्रिय सहभागिता बिना यो प्रक्रियाले पूर्णता नपाउने भन्दै आचार्यले कसैलाई पनि अनावश्यक रूपमा उचाल्ने वा फुर्काउने मिसनमा नलाग्न आग्रह गरेका छन्। सबैको सामूहिक पहलबाट निर्वाचनको आधा काम सम्पन्न भए पनि मुलुकसामु अझै धेरै चुनौतीहरू बाँकी नै रहेको उनले औँल्याएका छन्। 

संविधान र कानुनको परिधिभित्र रहेर मात्र आगामी राजनीतिक बाटो तय गर्नुपर्ने सुझाव दिँदै उनले देशको दीर्घायु र सुदृढ लोकतन्त्रको कामना समेत गरेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?