शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय
प्रतिनिधिसभा निर्वाचन-२०८२

संसदीय यात्रामा गणेश पराजुलीको दोस्रो इनिङ्स

शनिबार, २३ फागुन २०८२, ०१ : ०४
शनिबार, २३ फागुन २०८२

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले काठमाडौं-७ मा फराकिलो मतान्तरसहित जित हासिल गरे।
  • पराजुलीले कांग्रेसका प्रमोदहरि गुरागाईंलाई २३ हजार ८२३ मतले पराजित गर्दै दोस्रो पटक संसद यात्रा तय गरे।
  • पराजुलीले यस क्षेत्रमा वामपन्थीहरूको किल्ला तोड्दै रास्वपाको प्रभाव स्थापित गरे, जसले यस क्षेत्रलाई रणनीतिक रूपमा महत्त्वपूर्ण बनाएको छ।

काठमाडौं । कुनै समय वामपन्थीहरूको अभेद्य गढ मानिने काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गणेश पराजुलीले सानदार जितसहित दोस्रो पटक संसदीय यात्रा तय गरेका छन् । 

शुक्रबार राति सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार पराजुली २७ हजार ८०५ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रमोदहरि गुरागाईं ३ हजार ९८२ मतमा सीमित हुन पुगे । यस हिसाबले पराजुली २३ हजार ८२३ मतान्तरले निर्वाचित भए । 

पराजुली खोटाङमा जन्मिएर काठमाडौंमा हिमालयन ह्याण्डीक्राफ्ट प्रालि चलाइरहेका व्यवसायी हुन् । जतिबेला रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खोले, त्यसबेलासम्म उनी हिमालयन ह्याण्डीक्राफ्ट प्रालि चलाइरहेका थिए । 

रविले पार्टीमा सँगै काम गर्न प्रस्ताव गरेपछि उनी रास्वपामा आवद्ध भए । २०७९ को निर्वाचनमा सहभागी भएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए । यसपटक फेरि उनी काठमाडौं-७ बाटै निर्वाचित भएका छन् अझ फराकिलो मतान्तरमा । 

निर्वाचनमा रास्वपाको मतदातामा क्रेज राम्रो देखिएको थियो । २०७९ सालको निर्वाचनमा ८ हजार ७४३ मत ल्याएर विजयी भए पनि यसपटक परिस्थिति फरक थियो । अघिल्लोपटक पुराना दलहरूले रास्वपालाई गम्भीरतापूर्वक लिएका थिएनन् तर यसपटक उनलाई हराउन एमाले र कांग्रेसले विशेष रणनीति बुनेका थिए । एमालेले बागी उम्मेदवारको समस्या सुल्झाउँदै कडा तयारी गरेको थियो भने कांग्रेसले पनि कार्यकर्ता तहमा पुगेर छुट्टै अभियान चलाएको थियो । 

अघिल्लो कार्यकालमा उनी संसद् र संसदीय समितिमा निकै सक्रिय बने । संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा रहेर सक्रियता देखाए । तर अन्तिम नतिजाले पुराना दलका सम्पूर्ण रणनीतिलाई विफल साबित गरिदियो ।

काठमाडौं–७ को राजनीतिक पृष्ठभूमि निकै ऐतिहासिक छ । २०१५ सालमा कांग्रेसका सर्वमान्य नेता गणेशमान सिंहले जितेयता यो क्षेत्रमा कांग्रेसले कहिल्यै संसदीय निर्वाचन जित्न सकेको छैन ।

२०४८ सालमा सहाना प्रधानदेखि राजेन्द्र श्रेष्ठ, मंगलसिद्धि मानन्धर हुँदै माओवादीकी हिसिला यमी र एमालेका रामवीर मानन्धरले यहाँबाट जित निकाले । कुनै समय एमालेका तत्कालीन महासचिव मदन भण्डारी समेत दुईपटक निर्वाचित भएको यो भूगोललाई वामपन्थीहरूको परम्परागत प्रभाव इलाका मानिन्छ ।

तर २०७४ सालसम्म अभेद्य रहेको यो ‘वाम किल्ला’लाई २०७९ मा पहिलोपटक रास्वपाका पराजुलीले भत्काएका थिए । यसपटकको भारी मतान्तर सहितको जितले उक्त क्षेत्र अब रास्वपाको बलियो गढमा परिणत गरेका छन् । 

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ रास्वपाका लागि रणनीतिक रूपमा पनि निकै महत्त्वपूर्ण छ । देशभरका ६ हजार ७४३ वटा वडामध्ये रास्वपाको जनप्रतिनिधि रहेको एक मात्र वडा (काठमाडौं महानगरपालिका वडा नम्बर १६) यही निर्वाचन क्षेत्रभित्र पर्छ । २०८१ मंसिर १७ गते भएको उपनिर्वाचनमा रास्वपाकी रेजिना श्रेष्ठ यहाँबाट वडाध्यक्षमा निर्वाचित भएकी थिइन् ।

वडाध्यक्षको जितले निर्माण गरेको मनोवैज्ञानिक प्रभाव र पराजुलीले आफ्नो पहिलो कार्यकालमा देखाएको सक्रियताले यसपटक उनलाई २७ हजार भन्दा बढी मतको विशाल जनसमर्थन प्राप्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अनिष मिजार
अनिष मिजार
लेखकबाट थप