भोजपुरको मतपेटिकामा भेटियो ‘भावनात्मक चिठी’
सारांश
- भोजपुरमा एक मतदाताले मतपत्रसँगै देशप्रतिको चिन्ता व्यक्त गर्दै चिठी मतपेटिकामा राखे।
- चिठीमा देश विकास, सुशासन, राष्ट्रिय एकता र सहिदको सपना साकार पार्न सुझावहरू थिए।
- निर्वाचन अधिकृतका अनुसार यस्ता पत्रहरूले मतदाताको सचेतता र देशप्रतिको चिन्ता देखाउँछन्।
विराटनगर । निर्वाचनमा जनताले आफ्ना प्रतिनिधि छान्नका लागि मतदान गर्छन् । तर भोजपुरमा एक मतदाताले मतपत्रसँगै आफ्नो भावना र देशप्रतिको चिन्तालाई एउटा चिठीमा कोरेर मतपेटिकामा खसालेको पाइएको छ ।
भोजपुर नगरपालिकाको मतगणना जारी रहँदा वडा नम्बर २ को मतपेटिकामा उक्त हस्तलिखित पत्र फेला परेको हो । भोजपुरका मुख्य निर्वाचन अधिकृत नारायणप्रसाद दाहालले मतपेटिकामा चिठी फेला परेको कुरालाई पुष्टि गरेका छन् ।
‘मतगणनाका क्रममा एउटा चिठी भेटिएको थियो । त्यो चिठीमा कसैलाई गालीगलौज गरिएको छैन, बरू देश विकास र सुशासनका लागि केही सकारात्मक सुझावहरू लेखिएका छन्,’ उनले भने, ‘यो चिठीले अन्य मतपत्रहरूलाई कुनै असर गरेको छैन, न त यो कुनै कानुनी कारबाहीको विषय नै हो । एउटा मतदाताले आफ्नो मनमा लागेको कुरा व्यक्त गर्ने माध्यमका रूपमा यसलाई प्रयोग गरेको देखिन्छ ।’
के छ चिठीमा ?
कापीको पानामा हातले लेखिएको उक्त पत्रमा पाँचवटा बुँदाहरू समेटिएका छन् । पत्रको अन्त्यमा प्रत्येक बुँदापछि ‘हाम्रो मत खेर जान नदेऊ गगन’ भन्ने पदावली दोहोर्याइएको छ । जसले नेपाली कांग्रेसका सभापति गगन थापालाई सम्बोधन बुझिन्छ ।
चिठीमा हाम्रो मतले समृद्ध नेपाल र सम्मानित नेपालीको खाका कोरोस्, सबै नेपालीमा मेलमिलाप छाओस् र राष्ट्रिय एकता मजबुत होस्, देशमा व्याप्त बेथिति र भ्रष्टाचारको अन्त्य होस् र सुशासन कायम गरियोस्, पाँच वर्षको अवधिभर निर्वाचित प्रतिनिधिहरूले जनमतको सम्मान गरुन् र बारम्बारको अस्थिरता नहोस्, सहिदहरूको सपना साकार पारियोस् । नेपालको भू–परिवेश र अन्तर्राष्ट्रिय जगतमा भारत र चीनसँगको सम्बन्ध सन्तुलित राखियोस् र नेपालको स्वाधीनताको रक्षा गरियोस् भन्ने उल्लेख छ । चिठीको अन्त्यमा ‘जय नेपाल, जय नेपाली, जय नेपाली आमा’ भन्दै ‘राष्ट्र निर्माणको जय होस्, अवसरवादीको अन्त्य होस्’ भन्ने नारा लेखिएको छ ।

पछिल्लो समय राजनीति र नेताहरूप्रति जनतामा बढेको असन्तुष्टि र आशाको मिश्रण यस चिठीमा स्पष्ट देखिन्छ । निर्वाचन अधिकृत दाहालका अनुसार यस्ता पत्रहरूले मतदाताको सचेतता र देशप्रतिको चिन्तालाई झल्काउँछ ।
भोजपुरमा मतगणना जारी छ । यो समाचार तयार पार्दासम्मका मतगणना अनुसार श्रम संस्कृति पार्टीका ध्रुवराज राईले ८ हजार ७९८, नेकपा एमालेका शेरधन राईले ७ हजार ३८३ र नेपाली कांग्रेसका बालकृष्ण थापाले ४ हजार ७६३ मत पाएका छन् । भोजपुरमा रास्वपाका रमेशप्रसाद ओझाले ३ हजार ८९३ र नेपाली कम्युनिस्ट पार्टीका अजम्बर राई काङमाङले ३ हजार ३५७ मत ल्याएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण