बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
डोटीबाट भरत खड्का विजयी

२३ वर्षमै प्रधानपञ्च, अहिले फेरि सांसद

आइतबार, २४ फागुन २०८२, ०० : ३९
आइतबार, २४ फागुन २०८२

सारांश

  • भरत बहादुर खड्का डोटीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।
  • खड्काले नेकपा एमालेका दीपकबहादुर धामीलाई ७८७ मतले पराजित गरेका हुन्।
  • उनले आफ्नो अनुभव र क्षमता अब संसद्मा देखाउने बताएका छन्।

धनगढी । डोटीबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका भरतबहादुर खड्का निर्वाचित भएका छन् । लामो समयदेखि डोटीको राजनीति र जनप्रतिनिधि बनेर सक्रिय भएका खड्का यस पटकको निर्वाचनमा प्रतिस्पर्धी उम्मेदवारलाई पछि पार्दै संसद पुग्न सफल भएका हुन् । 

doti-1-2026-03-08-00-35-48

पूर्वीचौकी गाउँपालिका–१ फुलौट, डोटीका स्थायी बासिन्दा खड्काको जन्म साविक खिरसैन गाविसमा २०१४ सालमा भएको हो । उनले आफ्नो राजनीतिक यात्रा विद्यार्थी जीवनबाट सुरु गरेका थिए । २०३२ सालतिर नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ नेविसंघको इकाई उपसभापति बनेर उनले औपचारिक रूपमा राजनीति सुरु गरेका हुन् । त्यतिबेला उनी डोटी बहुमुखी क्याम्पस, सिलगढीमा अध्ययनरत थिए । 

२०३६ सालको जनमतसंग्रहका बेला उनले बहुदलको पक्षमा प्रचारप्रसार गरेका थिए । सो समय उनी पूर्वमन्त्री शिवराज पन्तको समूहसँग मिलेर अभियानमा सक्रिय भएका थिए । विद्यार्थी राजनीतिमा सक्रिय रहँदै उनले नेविसंघको डोटी क्याम्पस इकाई समितिको उपसभापतिको जिम्मेवारी पनि सम्हालेका थिए । उनले २०३९ सालमा स्नातक तह पूरा गरेका हुन् । 

औपचारिक जनप्रतिनिधिको रूपमा खड्काको यात्रा पनि २०३९ सालबाटै सुरु भयो । त्यही वर्ष भएको गाउँ पञ्चायत निर्वाचनमा उनी २३ वर्षको उमेरमै साविक खिरसैन गाउँ पञ्चायतको प्रधानपञ्चमा निर्वाचित भएका थिए । त्यसपछि उनी जिल्लाको राजनीतिमा निरन्तर सक्रिय रहँदै २०४४ सालमा डोटी जिल्ला पञ्चायतको सभापति बने । 

बहुदल स्थापना भएपछि पनि उनले नेपाली कांग्रेसमै रहेर राजनीति अघि बढाए । २०४९ सालको स्थानीय निकाय निर्वाचनमा उनी जिल्ला विकास समिति (जिविस) उपसभापतिमा निर्वाचित भए । त्यसपछि २०५४ सालमा जिविस सभापति बनेर जिल्लाको विकास नेतृत्व गर्ने अवसर पनि उनले पाए । 

गणतन्त्र स्थापना पछिका राजनीतिक प्रक्रियामा पनि उनी सक्रिय रहे । २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा खड्का समानुपातिकतर्फबाट संविधानसभा सदस्य बनेका थिए । पछि २०७४ सालको निर्वाचनमा उनी डोटी प्रदेशसभा क्षेत्र १ (१) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । 

यस पटकको प्रतिनिधिसभा निर्वाचनमा खड्काले १४ हजार ८९७ मत प्राप्त गर्दै विजय हासिल गरे । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका दीपकबहादुर धामीले १४ हजार ११० मत प्राप्त गरेका थिए । खड्काले धामीलाई ७८७ मत अन्तरले पराजित गरेका हुन् । 

चुनाव जितेपछि खड्काले आफ्नो अनुभव र क्षमता अब संसद्मा देखाउने बताए । ‘विगतमा पनि मैलेँ संसद् धेरै आवाज उठाएँ, अब अझ् संशक्त रूपमा लाग्ने छु,’ उनले भने, ‘म तपाईंहरूको हुँ । तपाईंहरूको सुख–दुःख, आशा–अपेक्षा र सपना अब मेरो जिम्मेवारी हो । इमानदारी, निष्ठा र समर्पणका साथ हाम्रो क्षेत्रको विकास, समृद्धि र जनताको सेवा गर्न निरन्तर लागिरहने बाचा गर्दछु।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप