शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
झापा–१

समानुपातिकको ट्याग मेटाउँदै संसद्‌मा डाँगीको ‘दोस्रो इनिङ्स’

आइतबार, २४ फागुन २०८२, ०२ : ५८
आइतबार, २४ फागुन २०८२

सारांश

  • निशा डाँगीले झापा क्षेत्र नम्बर १ बाट भारी मतका साथ प्रतिनिधिसभा सदस्यको निर्वाचन जितिन्।
  • उनले पुरानो राजनीतिक भाष्य तोड्दै कांग्रेस र एमालेको किल्ला भत्काएकी हुन्।
  • डाँगीले पत्रकारिताको अनुभव र युवा पुस्ताको समर्थनको आधारमा चुनाव जितिन्।

काठमाडौँ । राजनीतिमा एउटा भाष्य निकै प्रचलित छ । ‘समानुपातिक सांसद हुनु र प्रत्यक्ष निर्वाचित हुनुको राजनीतिक वजन फरक हुन्छ।’

तर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की युवा नेतृ निशा डाँगीले यही भाष्यलाई आत्मसाथ मात्र गरिनन्, आफूमाथि लागेको समानुपातिक ट्यागलाई जनताको प्रत्यक्ष अभिमतबाट सानदार रूपमा धोएर पखालिदिएकी छन् ।

डाँगी भारी मतका साथ प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा क्षेत्र नम्बर १ बाट निर्वाचित भएकी छन् । उनले उक्त क्षेत्रमा जित मात्रै नभएर नेपाली कांग्रेस र नेकपा एमालेजस्ता पुराना र बलिया दलहरूको परम्परागत किल्लालाई नराम्ररी भत्काइदिएकी छन् । उनले ४५ हजार ६ सय ८० मतसहित फराकिलो जित निकालेकी छन् । उनका प्रतिद्वन्द्वी कांग्रेसका केशव राज पाण्डेले १० हजार ५५० मत पाए । यसरी उनले पाण्डेलाई ३५ हजार १३० को मतान्तरले जित निकालेकी हुन् । 

यस्तै श्रम संस्कृति पार्टीका केवलराम राईले १० हजार ४ मत पाए । नेकपा एमालेका रामचन्द्र उप्रेतीले ७ हजार ६५९ मत ल्याएका छन् । उनी २०७९ को निर्वाचनमा रास्वपाबाट समानुपातिकबाट सांसदमा सबैभन्दा कान्छी सांसद बनेकी थिइन् ।

तर उनले समानुपातिक सांसदको ट्याग तोड्ने भन्दै चुनावी मैदानमा होमिएकी थिइन् । रास्वपाको देशैभर लहर आउँदा झापा १ मा सहज जित निकाल्न सफल भएकी छन् । नेपाली राजनीतिमा युवा पुस्ताप्रतिको आकर्षण र पुराना दलप्रतिको वितृष्णाको मत उनको लागि जितको आधार बनेको देखिन्छ । 

पुराना दलको गढमा जेनजी सांसदको इन्ट्री

झापा निर्वाचन क्षेत्र नम्बर १ ऐतिहासिक रूपमा पुराना दलहरूको वर्चस्व रहेको क्षेत्र हो । २०७९ को निर्वाचनमा यही क्षेत्रबाट कांग्रेसका तत्कालीन महामन्त्री विश्वप्रकाश शर्माले जितेका थिए । त्यो बेलामा शर्माले ३९ हजार ६२४ मत ल्याएर एमालेका अग्निप्रसाद खरेललाई पराजित गरेका थिए । यस्तो बलियो र प्रतिस्पर्धी किल्लामा यसपटक निशाले ४५ हजार ६८० मत र निकटतम प्रतिद्वन्द्वी कांग्रेसका केशवराज पाण्डेले पाएको १० हजार ५५० मत बिचको खाडल हेर्दा झापा–१ निकै फरक देखिन्छ । उनले 'एकलौटी' जितिन् । 

तेस्रो स्थानमा रहेका श्रम संस्कृति पार्टीका केवलराम राई १० हजार ४ र चौथो स्थानमा खुम्चिएका एमालेका रामचन्द्र उप्रेतीले ७ हजार ६५९ को मत पाए । यो परिणाम बहुपक्षीय भिडन्तमा पनि निशालाई आएको जनलहर हो । 

पहिलो कार्यकालको 'पुँजी' र सचेतकको भूमिका

निशाको यो जित रातारात चमत्कार रुपमा भने भएको होइन, २०५३ सालमा झापाको भद्रपुरमा भीमबहादुर र देवीमाया डाँगीको कोखबाट जन्मिएकी २९ वर्षीया निशाले २०७९ को संसद्मा ‘कान्छी माननीय’ का रूपमा पाइला टेकेकी थिइन् । समानुपातिक सांसदका रूपमा संसद् प्रवेश गरे पनि उनले आफूलाई कहिल्यै ‘ब्याकबेन्चर’का रूपमा सीमित राखिनन् । नीति निर्माणका बहसमा सक्रियता, जेनजी पुस्ताका मुद्दाहरूको उठान गरिन् । उनलाई पार्टीले पनि विश्वास गरेर रास्वपाको सचेतकजस्तो जिम्मेवारी दियो । उक्त जिम्मेवारीलाई उनले कुशलतापूर्वक निर्वाह गरिन् । 

अघिल्लो संसद्मा समानुपातिक सांसदको रूपमा संसदीय गतिविधिमा उनले देखाएको परिपक्व छविले झापा–१ का मतदाताले उनलाई सहज रूपमा विश्वास गरे । 

पत्रकारितादेखि दोस्रो पटक संसदीय यात्रा

निशाले त्रिभुवन विश्वविद्यालयबाट पत्रकारितामा स्नातकोत्तर गरेकी छन् । राजनीतिमा आउनुअघि करिब पाँच वर्ष पत्रकारितामा सक्रिय थिइन् । पाँच वर्ष पत्रकारिता गर्दा उनले समाजका पीरमर्का, सार्वजनिक बहस र नीतिगत त्रुटिहरूलाई नजिकबाट बुझ्ने मौका पाइन्। पत्रकारिताको त्यही चेत र सामाजिक कार्यको अध्ययनले उनलाई विकास निर्माण र जनचाहनासँग जोडिन सहज बनायो । 

निशाका अगाडि यसपटक प्रतिकूलताहरू कम थिएनन् । समानुपातिकबाट प्रत्यक्षतर्फ ओर्लिंदाको जोखिम, पुराना दलहरूको बलियो जरा र कांग्रेस, एमाले, राप्रपा लगायतका बहुपक्षीय उम्मेदवारहरूको भिडन्त उनका लागि ठूला चुनौती थिए । 

तर, आफ्नो युवा छवि, बौद्धिक व्यक्तित्व र परिवर्तनको संवाहकको रूपमा आफूलाई उभ्याउँदै उनले ती सबै प्रतिकूलतालाई अनुकूलतामा बदलिन् । उनले झापा–१ का स्थानीय समस्या, विकासका प्राथमिकता र युवा पुस्ताको निराशालाई सम्बोधन गर्ने प्रतिबद्धता जनाइन्, जसलाई मतदाताले अनुमोदन गरे। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अनिष मिजार
अनिष मिजार
लेखकबाट थप