भरत पराजुली : खानेपानी अभियन्तादेखि सांसदसम्म
सारांश
- सिन्धुपाल्चोकका भरतप्रसाद पराजुली रास्वपाबाट निर्वाचित, उनले पूर्व माओवादी उम्मेदवारलाई पराजित गरे।
- पराजुलीले सिन्धुपाल्चोकमा खानेपानी अभियान चलाएका थिए र उनले स्थानीयको मतबाट जित हासिल गरे।
- पराजुलीले जलविद्युतमा दुई दशक काम गरे, र अब उनले नीति निर्माणमा जोड दिने बताएका छन्।
काठमाडौँ । हाम्रो समाजमा एउटा पुरानो र निकै प्रचलित उक्ति छ– पानी खुवाउनुजस्तो ठुलो धर्म अरु केही हुन्न ।
यही भनाइलाई आफ्नो जीवनको कर्म बनाएका व्यक्ति हुन् सिन्धुपाल्चोकका भरतप्रसाद पराजुली । रास्वपाका उम्मेदवार उनी फागुन २१ गते भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट निर्वाचित भएका छन् । सिन्धुपाल्चोकमा लामो समय राजनीतिमा जरा गाडेका प्रतिस्पर्धीहरूलाई पछि पार्दै पराजुलीले जित निकालेका हुन् ।
२०७९ सालको निर्वाचनमा ३० हजार ४०८ मत ल्याएर जितेका माओवादी केन्द्रका माधव सापकोटालाई यसपटक पराजुलीले ७ हजार ८५ मतान्तरले पराजित गरे ।
अन्तिम मत परिणाम अनुसार रास्वपाका पराजुलीले २४ हजार ४१२ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपाका सापकोटाले १७ हजार ३२७ मतमात्र पाए । त्यसैगरी, एमालेका सरेश नेपाल ११ हजार ९६१ र नेपाली कांग्रेसका जंगबहादुर लामा ११ हजार २६१ निकै पछाडि परे ।
अघिल्लो चुनावमा यस क्षेत्रमा रास्वपाले जम्मा ३ हजार ५०३ मत पाएको थियो, तर यसपटक पराजुलीको व्यक्तिगत छवि र पार्टीको लहरले चुनावी नतिजा नै उल्टाइदियो ।
पराजुलीले कुनै बेला सिन्धुपाल्चोकका काकाकुल बस्तीहरूमा पानीको धारा पु¥याएर सामाजिक अभियन्ताको पहिचान बनाएका थिए ।
२०२५ साल भदौ १९ गते सिन्धुपाल्चोकको साबिक बलेफी गाउँपालिका–६ मा जन्मिएका पराजुलीले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर गरेका छन् । उनको यात्रा राजनीति वा व्यापारबाट भन्दा पनि विशुद्ध समाजसेवाबाट सुरु भएको थियो ।
कुनै बेला सिन्धुपाल्चोकका सुक्खा गाउँहरूमा घण्टौँ हिँडेर खोलाबाट पानी बोक्नुपर्ने बाध्यता थियो । सरकारी संयन्त्रको उपस्थिति कमजोर रहेको त्यो समयमा पराजुलीले २०५५ सालदेखि खानेपानी अभियानको अगुवाइ गरे । साबिकको माङ्खा गाविसस्थित जोगीडाँडाका ६० भन्दा बढी घरधुरीमा पहिलोपटक धारा पु¥याएर उनले यो अभियानको थालनी गरेका थिए ।
एकीकृत ग्रामीण विकास तथा वातावरण संरक्षण मञ्चको महासचिवका रूपमा उनले करिब ७ वर्षसम्म मान्द्रा, पिस्करको जलजले, धुस्कुन, थुम्पाखर, चिलाउने, धुस्कोट, सिक्रे–मार्मिङ, नागपुजे र सिम्लेलगायतका दर्जनौँ बस्तीमा खानेपानी, सरसफाइ, साक्षरता र आयआर्जनका योजनाहरू सफलतापूर्वक सञ्चालन गरेका थिए । अहिले उनै पुराजुलीलाई त्यहाँका मतदाताले मत दिँदै नीति निर्माण गर्ने ठाउँमा प्रतिनिधि बनाएका छन ।
गाउँमा खानेपानी पु¥याउने अभियानबाट सुरु भएको उनको जल–यात्रा ऊर्जा विकासमा मोडियो । करिब दुई दशकभन्दा बढी समयदेखि उनी जलविद्युत् क्षेत्रमा सक्रिय थिए ।
नेपालभर ८० भन्दा बढी जलविद्युत् आयोजनासँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोडिएका पराजुली स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का केन्द्रीय कार्यसमिति सदस्यसमेत थिए ।
हाल उनी एकीकृत व्यापार कम्पनी तथा जुगल गाउँपालिका–२ मा निर्माणाधीन ४५ मेगावाट क्षमताको ब्रह्मायणी खोला जलविद्युत् आयोजनाका प्रमुख प्रवर्द्धक तथा अध्यक्ष हुन् । यस आयोजनामार्फत उनले २०० भन्दा बढी स्थानीयलाई प्रत्यक्ष रोजगारी दिएका छन् ।
विकासको प्रतिफल गाउँमै रहनुपर्छ भन्ने मान्यता राख्ने उनले आगामी दिनमा स्थानीय बासिन्दालाई प्रमोटर सेयरमार्फत जलविद्युतको साझेदार बनाउने योजना अघि सारेका छन् ।
एमालेको पृष्ठभूमिदेखि रास्वपाको लहरसम्म
सुरुवाती दिनदेखि नै राजनीतिक गतिविधिमा चासो राख्ने पराजुली लामो समय नेकपा एमालेको राजनीतिमा सक्रिय रहे । समाजसेवा र व्यवसायमा स्थापित भए पनि उनले सार्वजनिक पद लिएका थिएनन् ।
तर, देशमा विकास, सुशासन र परिणाममुखी राजनीति गर्ने सोचमा थिए । त्यही सोचसँगै रास्वपाबाट उनी अन्ततः सिन्धुपाल्चोक–१ को उम्मेदवार बनेर जित हासिल गरेका छन् ।
संसदीय अनुभव नभए पनि व्यवस्थापन क्षमता, व्यावसायिक नेतृत्व र ऊर्जा क्षेत्रको अगाध ज्ञान नै पराजुलीको सबैभन्दा ठुलो पुँजी हो । निजी क्षेत्रको अनुभवलाई नीति निर्माण र राजनीतिसँग जोड्दै ऊर्जा विकास, स्थानीय रोजगारी सिर्जना, पूर्वाधार विस्तार र दिगो आर्थिक विकासलाई उनले आफ्नो प्रमुख एजेन्डा बनाएका छन् । त्यो व्यवहारमा कति लागु गर्छन्, त्यो हेर्न बाँकी छ ।
हिजो सिन्धुपाल्चोकका गाउँ–गाउँमा पानीको धारा पु¥याएर जनताको तिर्खा मेटाउने पराजुली आज तिनै जनताको अमूल्य मत पाएर देशको नीति निर्माण गर्ने थलो संसदमा पुगेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिराहा मोबाइल नष्ट प्रकरण: संयुक्त विद्यार्थी सङ्गठनद्वारा आन्दोलन घोषणा
-
शिक्षा मन्त्रीको राजीनामा माग्दै दिल्लीमा ‘कक्रोच जनता पार्टी’को ५ घण्टे प्रदर्शन
-
सेमिफाइनल खेल्ने क्रममा घाइते भएकी विमलाको सफल शल्यक्रिया
-
द्विपक्षीय भेटवार्ता : भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण
-
भारतीय क्रिकेटमा नयाँ इतिहास: १५ वर्षे वैभवले तोडे सचिनको कीर्तिमान, श्रेयस बने नयाँ टी-ट्वान्टी कप्तान
-
१९ वर्षीया मिरा एन्ड्रीभालाई पहिलो ग्रान्ड स्लाम उपाधि, पोल्यान्डकी च्वालिन्स्काको सपना अधुरै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण