बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय

प्रगतिशील लोकतान्त्रिक पार्टीद्वारा पार्टी पुनर्गठनको घोषणा

आइतबार, २४ फागुन २०८२, ११ : ५३
आइतबार, २४ फागुन २०८२

सारांश

  • प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले निर्वाचनको परिणामपछि पार्टी पुनर्गठन गर्ने घोषणा गरेको छ।
  • पार्टीले आफ्ना नेता तथा कार्यकर्तालाई पुनर्गठन प्रक्रियामा सहभागी हुन निर्देशन दिएको छ।
  • अध्यक्ष सन्तोष परियारले रास्वपालाई बधाई दिँदै पुनर्गठनको जानकारी गराएका हुन्।

काठमाडौं । बिहीबार सम्पन्न निर्वाचनको परिणामले नेपाली राजनीतिको दिशा नै परिवर्तन गरिदिएको निष्कर्ष निकाल्दै प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले पार्टीको गम्भीर समीक्षा र समग्र पुनर्गठन गर्ने घोषणा गरेको छ। 

'उन्नत विचारसहितको विकल्प' भन्ने नारा बोकेको सो पार्टीले निकट भविष्यमै आयोजना हुने समीक्षा र पुनर्गठन प्रक्रियामा सहभागी नभई व्यक्तिगत रूपमा कुनै पनि नयाँ राजनीतिक कदम नचाल्न आफ्ना सम्पूर्ण नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ।
पार्टीका अध्यक्ष सन्तोष परियारले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै वर्तमान राजनीतिक अवस्थाको विश्लेषणसहित पुनर्गठनको जानकारी गराएका हुन्। विज्ञप्तिमा गत फागुन २१ गते सम्पन्न निर्वाचनमा अत्यधिक मत ल्याएर सफलता प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई बधाई दिँदै उक्त जनमतको राष्ट्र र जनताको पक्षमा अविस्मरणीय सदुपयोग हुने विश्वाससहित शुभकामना व्यक्त गरिएको छ।

प्रलोपाले एकातिर पुराना र स्थापित दलहरू विघटनको अवस्थामा पुगेको र अर्कोतिर नयाँ दलहरूले जनतामाझ आफ्ना एजेन्डा राम्ररी स्थापित गर्न नपाउँदै निर्वाचनमा होमिनुपरेको यथार्थ औंल्याएको छ। गत मंसिर ७ गते मात्र पार्टी घोषणा गरेर पुस १ र २ गतेको प्रथम विस्तारित बैठकबाट संगठन निर्माण सुरु गरेको प्रलोपाले छोटो समयमै निर्वाचनमा भाग लिएको थियो। आफ्नो हारजितभन्दा पनि संविधान, लोकतान्त्रिक अभ्यास र वर्तमान राजनीतिक व्यवस्थाप्रतिको प्रतिबद्धताकै कारण आफूहरू चुनावमा सहभागी भएको र समय अभावले सांगठानिक तथा निर्वाचन तयारीमा आफ्ना कमीकमजोरी रहेको पार्टीले स्वीकार गरेको छ।

कमजोरीका बाबजुद, प्रगतिशील लोकतान्त्रिक पार्टी जुन विचार, सिद्धान्त र कार्यक्रमका आधारमा निर्माण भएको थियो त्यसको महत्त्व र औचित्यलाई पछिल्लो राजनीतिक परिवर्तनले झन् प्रमाणित गरिदिएको अध्यक्ष परियारको दाबी छ। 

इतिहासको अनुभव, वर्तमानको ठोस बुझाइ र भविष्यको वस्तुगत विश्लेषणका साथ निर्माण गरिएको प्रलोपाको आवश्यकता आगामी दिनमा अझ बढ्ने विश्वास पार्टीले लिएको छ।
यही वस्तुगत परिस्थितिलाई मध्यनजर गर्दै पार्टी अब जबर्जस्त रूपमा समग्र पुनर्गठनको प्रक्रियामा प्रवेश गरेको विज्ञप्तिमा उल्लेख छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप