बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस : सङ्घर्ष, चेतना र नयाँ सभ्यताको कार्यभार

आइतबार, २४ फागुन २०८२, १४ : ५३
आइतबार, २४ फागुन २०८२

सारांश

  • अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमा महिलाहरूको संघर्ष र योगदानको स्मरण गर्दै शुभकामना व्यक्त गरियो।
  • महिलाहरूले समाज र राज्यमा भोग्नुपरेका विभेद र हिंसाको स्मरण गर्दै समान अधिकारको लागि संघर्ष जारी राख्नुपर्ने कुरा उल्लेख गरियो।
  • नयाँ चेतना र सभ्य समाज निर्माणका लागि महिलाहरूको भूमिका महत्त्वपूर्ण रहेको र उनीहरूको सशक्तीकरण आवश्यक रहेको कुरामा जोड दिइयो।

आज अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस सत्य, न्याय, समानता र स्वतन्त्रताको निम्ति इतिहासभरि सङ्घर्ष गर्दै आएका विश्वका सम्पूर्ण वीराङ्गना आमाहरू, दिदीबहिनीहरूलाई हार्दिक सम्मान र शुभकामना । 

मानव सभ्यताको इतिहास केवल विकास र प्रगतिका कथा मात्र होइन, त्यो पीडा, अन्याय र संघर्षले रङ्गिएको इतिहास पनि हो। आमा भएकै कारण जिउँदै चितामा जलाइएका आमाहरू, कुरूप वा असहाय भएकै कारण समाजद्वारा  कथित बोक्सीको आरोप लगाई अमानवीय यातना भोग्न बाध्य बनाइएका महिलाहरू, परिवारदेखि राज्यसम्मको हिंसा, हत्या, बलात्कार, अपमान र विभेदको आगो निल्न विवश ती महान् आमाहरू  तिनको रक्तमुछेल इतिहास र तितो वर्तमानलाई हामीले कहिल्यै बिर्सनु हुँदैन। 

समय बदलिँदै छ। तर इतिहासको पीडा, सङ्घर्ष र आशा अझै पनि मानव सभ्यताको अँध्यारो सुरुङभित्र बगिरहेकै छन्।  विश्वका प्रत्येक समाज, प्रत्येक घर र प्रत्येक आन्दोलनमा आमाहरूको चेतनाले नयाँ युग निर्माणका लागि आफ्नो विशिष्ट योगदान दिँदै आएको छ।

आज आमाहरुलाई बुझ्ने सन्दर्भमा पुराना भाष्यहरू क्रमश: बदलिँदै छन्। केवल सहने, सुन्ने र नबोल्ने परम्परागत पिँजडाबाट बाहिर निस्केर आमाहरू परिवर्तनको चेतना, विचारको उज्यालो र भविष्यको मार्गदर्शक शक्ति बनिसकेका छन्। 

हामी यस्तो ऐतिहासिक मोडमा उभिएका छौँ जहाँ महिलाहरू केवल अधिकारको विषयका रूपमा होइन, सभ्यताको नेतृत्व गर्ने शक्ति रूपमा बुझ्नुपर्ने समय आएको छ। 

नेपालमा हालै सम्पन्न निर्वाचनले पनि यो प्रश्नलाई फेरि उजागर गरेको छ। नयाँ होस् वा पुराना-सबै राजनीतिक दलहरूले महिलाको सहभागितालाई अझै पनि सम्मानजनक प्रतिनिधित्वका रूपमा स्वीकार गर्न सकेका छैनन्। महिलाको सामाजिक र राजनीतिक प्रतिनिधित्व आज पनि राज्यका लागि दया र कृपाको विषय  बनेको छ। त्यसैले समान अधिकार र सम्मानको यात्रामा हामीले अझै पनि पैतालादेखि मस्तिष्कसम्मअविचलित रूपमा सङ्घर्ष जारी राख्नुपर्ने आवश्यकता छ। 

प्रिय आमा, दिदीबहिनीहरू,

तपाईंहरू प्रेम, समर्पण, बलिदान र मानवताको सबैभन्दा ठुलो विद्यालय हुनुहुन्छ। तपाईंहरूको ममता, श्रम, सङ्घर्ष र चेतनाले नै समाजको चरित्र निर्माण गर्छ। अब समय केवल पीडाको इतिहास सम्झने मात्र होइन, नवीन चेतनाको नयाँ इतिहास लेख्ने समय हो। 

आजको विश्व गम्भीर संकटको मोडमा छ। विभाजन, हिंसा, युद्ध, निराशा र अन्यायले मानव सभ्यतालाई गहिरो अस्थिरतातर्फ धकेलिरहेको छ। यस्तो समयमा सहअस्तित्व, समानता र करुणामा आधारित नयाँ सभ्यता निर्माण गर्ने शक्ति आमाहरूको चेतनामै निहित छ। 

त्यसैले आजको दिन केवल उत्सव होइन-यो एक गम्भीर प्रतिज्ञा पनि हो। 

आउनुहोस्, हामी सबै मिलेर यस्तो भविष्य निर्माण गरौँ जहाँ कुनै छोरीले छोरी भएकै कारण आफ्नो सपना सानो बनाउन नपरोस्, कुनै महिलाले आफ्नो अस्तित्व प्रमाणित गर्न सङ्घर्ष गर्न नपरोस्, र मानव समाज सत्य, समानता, सम्मान र स्वतन्त्रताको आधारमा दृढतापूर्वक उभिन सकोस्। 

विश्वका सम्पूर्ण आमा, दिदीबहिनीहरूलाई श्रम, सभ्यता, सत्य, न्याय, समानता र चेतनाको उज्यालो मार्ग निर्माण गर्ने यात्रामा हार्दिक सम्मान र अभिवादन।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुनिता बुढाथोकी
सुनिता बुढाथोकी
लेखकबाट थप