सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

‘राजसंस्थाको एजेण्डालाई बाहिरैबाट सघाउँछु’

सोमबार, २५ फागुन २०८२, ०७ : २८
सोमबार, २५ फागुन २०८२

सारांश

  • रवीन्द्र मिश्रले दलीय राजनीतिबाट बिदा लिने निर्णय गरेका छन्।
  • उनले राजसंस्था पुनर्स्थापनाको मुद्दालाई बलियो बनाउन नयाँ रणनीति लिने संकेत दिए।
  • मिश्रले चुनावी हारपछि सडक र बौद्धिक बहसमार्फत दबाब सिर्जना गर्ने बाटो रोजेका हुन्।

काठमाडौँ । नेता रवीन्द्र मिश्रले दलीय राजनीतिबाट तत्कालका लागि विदा लिने निर्णय गरेका छन्। निर्वाचनमा लगातार तेस्रो पटक पराजय भोगेका मिश्रले कतिपय साथी र शुभेच्छुकहरू आफ्नो निर्णयबाट दुःखी भएको भन्दै एक स्पष्टीकरणमार्फत आफ्नो पछिल्लो कदमको बचाउ गरेका हुन्।

उनले अब दलीय अनुशासनको घेराभन्दा बाहिर बसेर राजसंस्था पुनर्स्थापनाको मुद्दालाई थप बलियो बनाउने नयाँ रणनीति अख्तियार गरेको संकेत दिएका छन्। मिश्रले देशको दीर्घकालीन हितका लागि प्रजातान्त्रिक ढाँचाभित्र राजसंस्थालाई स्थान दिनुपर्ने आफ्नो अडान दोहोर्‍याउँदै केवल सुशासनको नाराले मात्र वर्तमान जटिल भूराजनीति र आन्तरिक परिस्थितिलाई थेग्न नसक्ने दाबी गरेका छन्। उनले राजसंस्था पुनर्स्थापना राप्रपाको मुख्य आधार भएको भए पनि पार्टीको नेतृत्व मात्र सो मुद्दालाई स्थापित गर्न पर्याप्त नदेखिएको टिप्पणी गरे।

संसदभित्र पुगेर राजसंस्थाको पक्षमा आवाज बुलन्द गर्ने आफ्नो चाहना चुनावी हारका कारण अधुरो रहेको भन्दै उनले अब सडक र बौद्धिक बहसमार्फत दबाब सिर्जना गर्ने बाटो रोजेका हुन्।

लगातार तीन पटक चुनाव हारेपछि आफैँलाई मूल्याङ्कन गर्न समय लिनु आवश्यक ठानेर यो निर्णयमा पुगेको उनले प्रष्ट पारेका छन्। दलीय सीमाभित्र बस्नुभन्दा बाहिर रहँदा एजेण्डामा बढी योगदान पुग्ने उनको विश्वास छ।

मिश्रले आफू एजेण्डाबाट टाढा नभएको र एजेण्डा बलियो भए मात्र सबैको राजनीतिक भविष्य सुरक्षित हुने जिकिर गरेका छन्। सीमित नेताको हितभन्दा समग्र एजेण्डाको शक्तिमा उनले जोड दिएका छन्।

 पार्टीभित्र बसेर एजेण्डा बलियो बनाउन नसक्नुलाई आफ्नो कमजोरीका रूपमा स्वीकार गर्दै मिश्रले अबको समय बाहिरैबाट प्रयास गर्ने बताएका छन्। उनले कार्यकर्ताहरूलाई पार्टीभित्रै रहेर प्रयास जारी राख्न आग्रह गर्दै एजेण्डा बलियो भएमा फेरि सबैको मिलन सम्भव हुने सन्देश दिएका छन्।

 यदि एजेण्डा कमजोर भएमा सबैको क्रमिक विखण्डन र क्षयीकरण हुने चेतावनी दिँदै उनले राजसंस्थावादीहरूलाई मन, वचन र कर्मले इमानदार हुन आह्वान गरेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप