बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
कालो सुनको कथा

जब पहिलो पटक जमिनबाट तेल निस्कियो, रातारात बदलियो संसार

बुधबार, २७ फागुन २०८२, ०७ : १५
बुधबार, २७ फागुन २०८२

सारांश

  • सन् १८५९ मा एडविन ड्रेकले चट्टानी तेलबाट मट्टितेल निकाल्ने प्रयास गरे, जसले संसारमा ठूलो परिवर्तन ल्यायो।
  • तेल पत्ता लागेपछि पिटहोल सिटीमा एकाएक दश हजार मानिसको बसोबास भयो, तर दिगो अर्थतन्त्र कायम हुन सकेन।
  • तेलको बढ्दो माग, राजनीतिक प्रभाव र स्वच्छ ऊर्जाको आवश्यकताले तेलको मूल्य र महत्त्वलाई निर्धारण गर्छ।

वर्ष सन् १८५९ र तारिख थियो २७ अगस्ट। अमेरिकी व्यापारी एडविन ड्रेकले एउटा सन्देश पाए, जुन पढेर उनले आफ्नो होस नै गुमाए। सन्देशमा लेखिएको थियो, ‘आफ्नो ऋण तिर, हार मान र घर फर्क।’

त्यतिबेला ड्रेक रक आयल (चट्टानी तेल) को खोजीमा थिए। यो एक प्रकारको खैरो रङको कच्चा तेल हो। पश्चिमी पेन्सिलभेनियाको जमिनमा यस तेलका फोकाहरू देखिएका थिए। ड्रेकको उद्देश्य यसै रक आयलबाट मट्टितेल निकालेर बत्ती बाल्ने थियो।

त्यस जमानामा बत्ती बाल्नका लागि ह्वेल माछाबाट निकालिएको तेलको प्रयोग हुन्थ्यो र त्यो बिस्तारै निकै महँगो हुँदै गइरहेको थियो।

यद्यपि, उक्त निराशाजनक सन्देश पाउनुभन्दा केही समयअघि मात्रै एउटा उत्खननका क्रममा तेल भेटिएको थियो। जब त्यो तेल बाहिर निस्कियो, त्यसको दबाब यति धेरै थियो कि जमिनबाट २१ मिटरको उचाइसम्म यसको फोहोरा पुगेको थियो।

यही एउटा घटनाले लाखौँ ह्वेल माछाहरूको ज्यान बचायो र संसारको मुहार फेरिने सिलसिलाको सुरुवात भयो।

तेल पत्ता लागेको एक वर्षपछि

ड्रेकले जुन ठाउँमा यो तेल फेला पारेका थिए, त्यसको केही किलोमिटर दक्षिणमा जे-जस्ता कुराहरू भए, त्यसले आगामी वर्षहरूमा संसारको भविष्य कस्तो हुनेछ भन्ने संकेत गरिरहेको थियो।

98966a50-1c4d-11f1-801d-ed3cff6bf876.jpg

न्युयोर्क टाइम्सको एक रिपोर्टअनुसार सन् १८६४ मा पेन्सिलभेनियाको पिटहोल सिटीमा जब तेलको खोज भएको थियो, त्यसबेला त्यहाँ वरपरको महिनौँ माइलको दायरामा ५० जना मानिस पनि बस्दैनथे। तर तेल पत्ता लागेको एक वर्षभित्रै पिटहोल सिटीमा दश हजार मानिस बस्न थाले। त्यहाँ ५० वटा होटल, देशकै व्यस्तमध्येको एक हुलाक कार्यालय, दुईवटा टेलिग्राम सेन्टर र दर्जनौँ वेश्यालयहरू खुले।

बदलिएको परिस्थितिमा त्यहाँ केही मानिसहरू रातारात नवधनाढ्य भए। तर पिटहोल सिटीले एउटा दिगो अर्थतन्त्रका लागि आवश्यक पर्ने अन्य सर्तहरू पूरा गर्दैनथ्यो। नतिजास्वरूप, पिटहोलको चमक एक वर्षभित्रै फिक्का हुन पुग्यो।

पिटहोलको तेलमा निर्भर अर्थतन्त्रले गति लिन सकेन, तर तेलप्रतिको मानवजातिको तिर्खा भने बढ्दै र बढ्दै गयो।

विश्वको ऊर्जा आवश्यकता

अहिले त अवस्था यस्तो बनेको छ कि विश्वको अर्थतन्त्र नै तेलले भिजेको छ भन्न सकिन्छ। यसले विश्वको समग्र ऊर्जा आवश्यकताको एक तिहाइ माग पूरा गर्छ। यो कोइलाभन्दा धेरै हो र परमाणु, जलविद्युत् र गैर-परम्परागत ऊर्जा स्रोतहरूको संयुक्त क्षमताभन्दा पनि दोब्बर हो।

1ece92b0-1c4d-11f1-801d-ed3cff6bf876.jpg

तेल र ग्यासले हाम्रो बिजुली आवश्यकताको एक चौथाइ माग पूरा गर्छ। यति मात्र होइन, यसले प्लास्टिक उद्योगका लागि कच्चा पदार्थ पनि उपलब्ध गराउँछ।

यसका अलावा यातायातको क्षेत्र त छँदैछ। सुरुमा एडविन ड्रेकलाई लागेको थियो- ‘पेट्रोलियम कसले किन्ला र?’ तर कम्बसन इन्जिनको आविष्कारले उनको यो प्रश्नको जवाफ दिइहाल्यो। कारदेखि ट्रकसम्म, मालवाहक जहाजदेखि जेट विमानसम्म, आज यो तेल नै हो जसले हाम्रो संसार चलाइरहेको छ।

त्यसैले ‘तेलको मूल्य’ नै सम्भवतः संसारको सबैभन्दा महत्त्वपूर्ण मूल्य हो।

सन् १९७३ मा जब केही अरब देशहरूले धनी देशहरूलाई तेल बिक्रीमा रोक लगाउने घोषणा गरेका थिए, त्यतिबेला मात्र ६ महिनाभित्रै तेलको मूल्य प्रति ब्यारेल ३ डलरबाट बढेर १२ डलर पुगेको थियो। यस घटनापछि विश्वभर नै आर्थिक सुस्तताको माहोल देखियो। सन् १९७८, १९९० र सन् २००१ मा तेलको मूल्य बढेपछि अमेरिकामा आर्थिक मन्दी नै आएको थियो।

कतिपय अर्थशास्त्रीहरू त के पनि मान्छन् भने, तेलको मूल्यमा भएको ऐतिहासिक वृद्धि नै सन् २००८ को विश्वव्यापी आर्थिक मन्दीको मुख्य कारण थियो, यद्यपि त्यसको दोष बैंकिङ संकटलाई दिइएको थियो। जसै-जसै तेलको मूल्य उकालो लाग्छ, देशका अर्थतन्त्रहरूले पनि त्यही बाटो पछ्याउँछन् ।

तर यहाँनेर प्रश्न उठ्छ- हामी यस कुरामा यति धेरै किन निर्भर भयौँ? डेनियल येरगिनको तेलको इतिहाससम्बन्धी चर्चित पुस्तक ‘द प्राइज’को सुरुवात बेलायती नेता विन्स्टन चर्चिलको एउटा दुविधाबाट हुन्छ।

सन् १९११ मा चर्चिललाई रोयल नेभीको प्रमुख नियुक्त गरिएको थियो। उनका सुरुवाती निर्णयहरूमध्ये एउटा यस्तो निर्णय लिनु थियो, जसले बेलायती साम्राज्यको भविष्य तय गर्दै थियो: के बेलायतले विस्तारवादी जर्मनीको चुनौतीको सामना गर्न वेल्सको कोइला प्रयोग गर्ने कि टाढाको फारस (हालको इरान) को तेलबाट चल्ने नयाँ युद्धपोतहरूको भर पर्ने?

यस्तो असुरक्षित र टाढाको स्रोतमाथि कसले किन भरोसा गर्थ्यो? किनभने तेलबाट चल्ने युद्धपोतहरू छिटो बनाउन सकिन्थ्यो र इन्धनबाट चल्ने भएकाले यसमा कम जनशक्तिको आवश्यकता पर्थ्यो। साथै, युद्धपोतमा हतियार र गोलाबारुद राख्ने क्षमता पनि बढी हुन्थ्यो।

कोइलाभन्दा राम्रो इन्धन थियो तेल

4ab63270-1c4d-11f1-9120-a910fc22c6ac.jpg

अप्रिल १९१२ मा चर्चिलको निर्णयले त्यही तर्कलाई स्थापित गर्‍यो, तेलमा हाम्रो निर्भरता आवश्यक छ। र, त्यसै बिन्दुबाट विश्वव्यापी राजनीतिको स्वरूप नै बदलियो।

चर्चिलको निर्णयपछि, ब्रिटिस ट्रेजरीले बीपी (मूल रूपमा ब्रिटिस पेट्रोलियम) को पूर्ववर्ती ‘एङ्ग्लो-पर्सियन आयल कम्पनी’मा बहुमत हिस्सेदारी किन्यो। सन् १९५१ मा, इरान सरकारले उक्त तेल कम्पनीको राष्ट्रियकरण गर्‍यो। अंग्रेजहरूले विरोध गरे, ‘यो हाम्रो कम्पनी हो।’

इरानीहरूले कडा जवाफ दिए, ‘यो हाम्रो तेल हो।’ पछिल्ला दशकहरूमा सम्पूर्ण विश्वमा यही तर्कलाई दोहोर्‍याइयो।

तेलको क्षेत्रमा केही देशहरूले धेरै राम्रो प्रगति गरे। साउदी अरब पृथ्वीकै सबैभन्दा धनी देशहरूमध्ये एक हो, जसको सम्पूर्ण श्रेय त्यहाँको विशाल तेल भण्डारलाई जान्छ। त्यहाँको सरकारी तेल कम्पनी साउदी अरामकोको कुल मूल्यांकन एप्पल, गुगल वा अमेजनभन्दा पनि बढी छ। विश्वकै सबैभन्दा नाफामूलक यो तेल कम्पनीलाई हालै ‘ड्रोन’ आक्रमणमार्फत निशाना बनाइएको थियो यस्ता घटनाले विश्व बजारमा तेलको मूल्य ह्वात्तै बढाउन सक्छ।

यति हुँदाहुँदै पनि, कसैले पनि साउदी अरबको अर्थतन्त्रलाई जापान वा जर्मनीको जस्तो परिष्कृत र दिगो अर्थतन्त्र मान्ने भुल गर्दैन। सायद यो ठूलो परिमाणमा ‘पिटहोल सिटी’ जस्तै एउटा अस्थायी चमक मात्र हुन सक्छ।

अन्य ठाउँहरूमा इराकदेखि इरानसम्म र भेनेजुयलादेखि नाइजेरियासम्म, केही तेल-समृद्ध देशहरूले यस खोजलाई अभिशाप मानेका छन्। अर्थशास्त्रीहरू यसलाई ‘तेलको अभिशाप’ भन्छन्।

सन् १९६० को दशकको सुरुवातमै भेनेजुयलाका पेट्रोलियम मन्त्री जुआन पाब्लो पेरेज अल्फोन्जोले यसको थप सजीव चित्रण गरेका थिए। उनले सन् १९७५ मा यसलाई ‘सैतानको मलमूत्र’ को संज्ञा दिँदै भनेका थिए, ‘हामी सैतानको मलमूत्रमा डुब्दैछौँ।’

तेल किन यति ठूलो समस्या हो?

pp

तेल निर्यात गर्दा देशको मुद्राको मूल्य अस्वाभाविक रूपमा बढ्छ, जसले गर्दा त्यो देशमा उत्पादन हुने तेलबाहेक अन्य हरेक कुरा महँगो हुन पुग्छ। यसको अर्थ हो- त्यहाँ उत्पादनमुखी वा जटिल सेवा उद्योगहरू विकास गर्न निकै गाह्रो हुन्छ।

ऐतिहासिक रूपमा हेर्दा, धेरै राजनेताहरूले आफू र आफ्ना आसेपासेहरूका लागि आफ्नो देशको तेलमा एकाधिकार कायम गर्ने प्रयास गरेका छन्। यसले तानाशाही प्रवृत्ति जन्माउनु सामान्य जस्तै हो। पैसा केही कुराका लागि त राम्रो हो, तर यसले समग्र अर्थतन्त्रको जगलाई भने कमजोर बनाउँछ।

यही कारण हो कि हामी तेलको सट्टा अन्य कुनै स्वच्छ विकल्पको प्रयोग होस् भन्ने चाहन्छौँ। जलवायु परिवर्तन स्पष्ट रूपमा हाम्रो अगाडि उभिएको अर्को ठूलो संकट हो। तर तेलले अहिलेसम्म ब्याट्रीको स्थानलाई पूर्ण रूपमा ओगटेर बसेको छ।

यसो हुनुको कारण के हो भने, चल्ने मेसिनहरूका लागि यसको आफ्नै ऊर्जा स्रोत हलुका र बढी प्रभावकारी हुन्छ। एक किलोग्राम पेट्रोलमा जति ऊर्जा हुन्छ, त्यति नै ऊर्जा पाउन ६० किलोग्रामको ब्याट्री आवश्यक पर्छ। साथै, पेट्रोल प्रयोगपछि आफैँ सकिने सुविधाजनक विशेषता हुन्छ। तर दुर्भाग्यवश, खाली ब्याट्रीहरू निकै गह्रौँ हुन्छन् र यसको व्यवस्थापन अर्को चुनौती हो।

विद्युतीय कारहरूले अन्ततः बजारमा आफ्नो पकड बनाउँदै त छन्, तर विद्युतीय जम्बो जेट विमान बनाउनु अझै पनि एउटा फलामको चिउरा चपाउनु सरह बनेको छ।

एउटा समय थियो जब लाग्थ्यो कि तेलको मूल्य नियन्त्रण बाहिर जानेछ - यसलाई पिक आयल भनिन्थ्यो। यसले मूल्य द्रुत गतिमा बढाउने काम त गर्‍यो, साथसाथै हामीलाई स्वच्छ तथा नवीकरणीय अर्थतन्त्रतर्फ अघि बढ्न प्रेरणा पनि दियो। तर वास्तविकता के हो भने, आज तेलको जति खपत भइरहेको छ, त्योभन्दा कयौँ गुणा बढी तेलका नयाँ भण्डारहरू पत्ता लागिरहेका छन्।

यो हाइड्रोलिक फ्र्याक्चरिङ वा फ्र्याकिङ प्रविधिको तीव्र विकासका कारण सम्भव भएको हो। यो एउटा यस्तो विवादास्पद प्रक्रिया हो जसमा तेल र ग्यास बाहिर निकाल्न पानी, बालुवा र रसायनहरूलाई उच्च दबाबमा जमिनमुनि पम्प गरिन्छ।

समग्रमा हेर्दा यस्तो लाग्छ- हामी अझै पनि त्यही ‘सैतानको मलमूत्र’ मै डुबिरहेका छौँ र अझै केही समयसम्म यो अवस्था यस्तै रहिरहन सक्छ।

(बीबीसीका लागि कलेक्टिभ न्युजरुमद्वारा प्रकाशित सामग्रीमा आधारित)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टिम हरफोर्ड
टिम हरफोर्ड
लेखकबाट थप