शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

लुम्बिनीमा एमालेः ११ बाट १ सिटमा खुम्चिँदा, इस्तियाकले जोगाए पार्टीको बीउ

बिहीबार, २८ फागुन २०८२, १८ : २८
बिहीबार, २८ फागुन २०८२

सारांश

  • लुम्बिनी प्रदेशमा नेकपा एमाले प्रतिनिधि सभा निर्वाचनमा सबैभन्दा बढी हार बेहोर्ने दल बनेको छ, र उसको सिट संख्या घटेको छ।
  • २०७९ को निर्वाचनमा पहिलो दल बनेको एमाले यसपटक चौथो स्थानमा झरेको छ, विष्णुप्रसाद पौडेल लगायतका नेताहरू पराजित भए।
  • राष्ट्रिय स्वतन्त्र पार्टीले लुम्बिनी प्रदेशमा उल्लेख्य सफलता हासिल गर्दै २१ सिट जितेको छ भने इश्तियाक राई एमालेबाट निर्वाचित हुने एक्लो सांसद बने।

बुटवल । हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनबाट लुम्बिनी प्रदेशमा सबैभन्दा बढी हार बेहोर्ने ठुलो दल नेकपा एमाले बनेको छ । २०७९ सालको निर्वाचन परिणामसँग तुलना गर्दा प्रमुख दलहरूको सिट सङ्ख्यामा ठुलो फेरबदल देखिएको छ ।

२०७९ को निर्वाचनमा प्रदेशमा पहिलो दल बनेको एमाले यसपटक चौथो स्थानमा झरेको छ । अघिल्लो निर्वाचनमा ११ सिट जितेको एमाले अहिले जम्मा १ सिटमा सीमित भएको छ । एमालेका शीर्ष नेताहरू विष्णुप्रसाद पौडेल,शङ्कर पोखरेल, गोकर्ण विष्ट र प्रदीप ज्ञवालीलगायत प्रभावशाली उम्मेदवार पराजित भए । यसैगरी अघिल्लो निर्वाचनमा दोस्रो स्थानमा रहेको नेपाली कांग्रेस पनि सिट सङ्ख्यामा खुम्चिएको छ । २०७९ मा ६ सिट जितेको कांग्रेस अहिले २ सिटमा सीमित भएको छ । 

कांग्रेसबाट लुम्बिनी प्रदेशमा सन्दीप राना (पाल्पा–१)र अभिषेक प्रताप शाह(कपिलवस्तु–३) मात्रै निर्वाचित भएका छन् ।

त्यस्तै अघिल्लो निर्वाचनमा ३ सिट जितेको नेकपा माओवादी केन्द्र अहिले २ सिटमा सीमित भएको छ । माओवादीले रोल्पा जिल्ला र रुकुमपूर्व जिल्लामा जित निकाल्दै आफ्नो परम्परागत प्रभाव कायम राखेको छ ।

गत निर्वाचनमा माओवादीकी नेतृ रेखा शर्माले जितेको दाङ जिल्ला क्षेत्र नम्बर २ मा यसपटक भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विपिन आर्चाय विजयी भए । गत निर्वाचनमा कांग्रेसबाट निर्वाचित भएका चन्द्र भण्डारी(गुल्मी–२), सुरेन्द्र आचार्य (कपिलवस्तु–२), किशोर सिंह राठौर (बाँके),सञ्जय कुमार गौतम(बर्दिया), दीपक गिरी (दाङ) र विनोद चौधरी (नवलपरासी) समेत यसपटक पराजित भएका छन् ।

अघिल्लो निर्वाचनमा यस प्रदेशबाट ३ सिट जितेको राष्ट्रिय प्रजातन्त्र पार्टी यसपटक लुम्बिनी प्रदेशमा शून्यमा झरेको छ ।मधेसवादी दलहरू पनि प्रदेशमा प्रतिनिधित्वविहीन भएका छन्।

यसपटक भने राष्ट्रिय स्वतन्त्र पार्टीले उल्लेखनीय सफलता हासिल गर्दै लुम्बिनी प्रदेशमा २१ सिट जितेको छ । प्रत्यक्षतर्फ मात्रै होइन,समानुपातिकतर्फ पनि एमाले र कांग्रेसले अघिल्लो निर्वाचनको तुलनामा कम मत प्राप्त गरेका छन् । एमाले लुम्बिनी प्रदेशअध्यक्ष राधाकृष्ण कँडेलले मतदाताकोअप्रत्याशित मतपरिवर्तनका कारण पार्टी पहिलोबाट चौथो स्थानमा झरेको रातोपाटीलाई बताए । उनले निर्वाचनको विस्तृत समीक्षा भइरहेको र क्षेत्रगत प्रतिवेदन आएपछि पार्टीले समग्र समीक्षा गर्ने जानकारी दिए ।

एमालेको ‘बीउ’ जोगाउने इश्तियाक राई

निर्वाचनअघि दल परिवर्तन गरेर एमालेबाट उम्मेदवार बनेका तीन नेता चुनावी मैदानमा थिए । 

प्रमोद यादव (रुपन्देही–४) र वीरेन्द्र कनौडिया (कपिलवस्तु–३) कांग्रेस छाडेर एमाले प्रवेश गरेका थिए भने इश्तियाक राई जनता समाजवादी पार्टी छाडेर एमालेबाट बाँके जिल्ला क्षेत्र नम्बर १ बाट चुनाव लडेका थिए । तर यादव र कनौडिया पराजित भए । राई भने बाँके–१ बाट विजयी भए । लुम्बिनी प्रदेशमा एमालेबाट प्रत्यक्षतर्फ निर्वाचित हुने एक मात्र सांसद बनेका छन् । २०३६ सालमा जन्मिएका राईले विभिन्न दल परिवर्तन गर्दै चुनाव जित्ने क्रमलाई निरन्तरता दिएका छन् । उनी २४ हजार ६२६ मतसहित विजयी भएका हुन् । 

उक्त क्षेत्रमा रास्वपाका उम्मेदवार विवेककुमार श्रेष्ठले १८ हजार ५८१ र नेपाली कांग्रेसका सुधान्स कोइरालाले १७ हजार ५९० मत पाए ।

यसपटकको जितसँगै उनी तेस्रो पटक संसद् प्रवेश गर्न सफल भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप