बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
विचार

म इरानको पक्षमा दृढतापूर्वक उभिन्छु

पहिले चिनियाँहरुले हामीलाई ‘रनिङ डग अफ इम्पेरियालिजम’ भन्ने गर्थे, आजका दिन त्यही पदावलीले सही वर्णन गर्छ हामीलाई
शुक्रबार, २९ फागुन २०८२, ११ : २५
शुक्रबार, २९ फागुन २०८२

सारांश

  • लेखकले आफ्नो पुस्तकबारे कुरा गर्दै इरानमाथि अमेरिका र इजरायलको हमलाको निन्दा गरे।
  • गाजामा भइरहेको नरसंहारको निरन्तरताको रूपमा हमला भएको र यसले विश्वव्यापी युद्ध निम्त्याउन सक्ने चेतावनी दिए।
  • लेखकले भारत सरकारको विदेश नीतिको आलोचना गर्दै स्वाभिमान गुमाएको र अपमानित भएको कुरा व्यक्त गरे।

हामी यहाँ मेरो पछिल्लो पुस्तक ‘मदर मेरी कम्स टु मी’ बारे कुराकानी गर्न आएका हौँ । हाम्रो कार्यक्रमबारे मलाई राम्रोसँग थाहा छ । तथापि हामी तेहरान, इस्फाहान र बेरुत जस्ता सुन्दर सहरहरू आगोको लप्कामा झोसिएको बारे चर्चा नगरी कसरी आफ्नो कुराकानी टुङ्ग्याउन सक्छौँ होला त ? 

मेरो आमा ‘मदर मेरी’ को खुला एवं कठोर स्वभावको चर्चा गर्दैगर्दा म यही मञ्चको प्रयोग गरेर अमेरिका र इजरायलले इरानमाथि अप्रत्याशित रूपमा थालेको एकतर्फी तथा गैरकानुनी हमलाबारे पनि केही भन्न चाहन्छु ।

निःसन्देह यो हमला गाजामा चलिरहेको अमेरिकी–इजरायली नरसंहारकै निरन्तरता हो । नरहसंहारकारीहरु आफ्नो उही पुरानै ‘प्लेबुक’ प्रयोग गरिरहेका छन् । उनीहरू महिला र बालबालिकाहरूको हत्या गर्दै छन् । अस्पतालमा बम पड्काउँदै छन् । सहरहरूमा निसंकोच ‘कार्पेट बम्बिङ’ गर्दै छन् । र, उल्टै आफूहरू पीडित भएको अभिनय गर्दै छन् ।

तर, इरान र गाजा उस्तै होइनन् । अब यो युद्धको क्षेत्र फैलिएर पुरा विश्वभर पुग्न सक्छ । हामी अहिले आणविक विनाश र आर्थिक विघटनको संघारमा आइपुगेका छौँ । कुनै समय हिरोसिमा र नागासाकीमा आणविक हतियार प्रहार गर्ने मुलुक नै अहिले पनि संसारकै सबै भन्दा पुरानो मध्येको एउटा सभ्यतामा आणविक बम हान्न तयारी गर्दै गरेको हुनसक्छ । 

यसबारे हामी अन्य अवसरमा पनि विस्तारमा कुरा गर्न सक्छौँ । तर, अहिलेलाई म यत्ति भन्छु– म इरानको पक्षमा उभिन्छु । स्पष्ट रूपमा उभिन्छु । मलाई थाहा छ कुनै पनि देशको शासन सत्ता खराब हुनसक्छ । त्यस्तो सत्ता फेरिनुपर्ने हुनसक्छ । चाहे त्यो अमेरिका वा इजरायलमै किन नहोस् । 

तर त्यस्तो परिवर्तन त्यहीँका जनताले गर्नुपर्छ । सम्पूर्ण संसारलाई धम्काउँदै आत्मसमर्पण गराउन खोजिरहेका ढोँगी, झुट, ठग, लोभी, अर्काको स्रोत–साधन हडप्ने, मनलाग्दी बम खसाल्ने साम्राज्यवादी शक्ति तथा यसका सहयोगीहरूले गर्ने होइन । 

इरान उनीहरूसामु दृढतापूर्वक उभिएको छ । तर यता हाम्रो भारतले भने खुट्टा कमाएको छ । हाम्रो सरकार कति हुतीहारा र कायर रहेछ भन्ने थाहा पाउँदा मलाई लाज लागेको छ । अलि समय पहिले हामी धेरै गरिब त थियौँ तर हामीसँग गौरव थियो । हाम्रो स्वाभिमान थियो । 

आज हामी धेरै गरिबहरू बसोबास गर्ने धनी मुलुक भएका छौँ । यहाँका बेरोजगार जनताहरू वास्तविक खानेकुराको साटो घृणा र झुट मिसिएको विष पिइरहेका छन् । हामीले आफ्नो गौरव गुमाएका छौँ । स्वाभिमान गुमाएका छौँ । हिम्मत गुमाएका छौँ ।  यी सबै कुराहरु अब हाम्रा चलचित्रहरूमा मात्रै हेर्न बाँकी छ ।

हामी कस्ता जनता हौँ, जसको सरकार अमेरिकाले अर्को मुलुकको राष्ट्र प्रमुखलाई दिनदहाडै अपहरण गर्दा वा हत्या गर्दा पनि विरोध गर्न वा भर्त्सना गर्न सक्दैन ? के हामी आफूलाई पनि त्यस्तै गरेको हेर्न चाहन्छौँ ? 

इरानमा इजरायलले हमला गर्नु केही दिन अघि हाम्रा प्रधानमन्त्री इजरायल पुगेर त्यहाँका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग अँगालो मारिरहेका थिए । यसको अर्थ के हो ? 

अमेरिकाको सर्वोच्च अदालतले ट्रम्पका भन्सार शुल्कहरू गैरकानुनी घोषणा गरेको केही दिन अघि मात्रै हाम्रो सरकार अमेरिकासँग व्यापार सम्झौता गर्दै थियो । जस अनुसार हाम्रा किसान र कपडा उद्योग सबै ध्वस्त हुनेवाला छन् । यसको अर्थ के हो ? 

अहिले हामीलाई रुसबाट तेल किन्न केही समयका लागि ‘अनुमति’ दिएको भनिएको छ । यो भनेको के हो ? हामीलाई के–के गर्न अनुमति चाहिने हो ? नुहाउन पनि अनुमति नै चाहिने हो कि ? कामबाट बिदा लिन पनि अनुमति चाहिने हो कि ? आफ्नै आमालाई भेट्न जान पनि अनुमति लिनुपर्ने हो कि ?

प्रत्येक दिन डोनाल्ड ट्रम्पलगायत अमेरिकी राजनीतिज्ञहरू हामीलाई अपमानित गरिरहेका छन् । हाम्रो खिल्ली उडाइरहेका छन् । हाम्रा प्रधानमन्त्री लाज पचाएर आफ्नो चर्चित खोक्रो हाँसो हाँसिरहन्छन् । उनीहरूलाई नै अँगालो मारिरहन्छन् । 

गाजामा चरम नरसंहार चलिरहेको घडीमा भारत सरकारले इजरायलमा हजारौँ भारतीय कामदार पठायो । उनीहरू त्यहाँ कामबाट हटाइएका प्यालेष्टाइनी कामदारलाई विस्थापन गर्न पठाइएका थिए । आज इजरायल युद्धमा छ । इजरायलीहरू बङ्करमा लुक्न जाँदै गर्दा भारतीयहरूलाई भने बङ्करमा आश्रय लिने अनुमति नदिइएका खबरहरू आइरहेका छन् । 

यसको अर्थ के हो ? हामीलाई यस्तो अपमानजनक, निर्लज्ज र घिनलाग्दो अवस्थामा कसले पुर्‍यायो ?

तपाईंहरुमध्ये कतिपयलाई पक्कै पनि सम्झना छ होला, चिनियाँहरुले हामीलाई कम्युनिस्ट शब्दावलीमा अतिरञ्जना गर्दै ‘साम्राज्यवादको कुकुर’ अर्थात् ‘रनिङ डग अफ इम्पेरियालिजम’ भन्ने गर्थे । हामी उनीहरूको पदावलीको धज्जी उडाउने गर्थ्यौँ । 

तर आजका दिनमा मलाई लाग्छ त्यही पदावलीले हाम्रो बारेमा सही वर्णन गर्न सक्छ । हामी खासमा त्यस्तै भएका छौँ । हामी अझै पनि शक्तिशाली देखिने एक मात्र ठाउँ हाम्रा विकृत र विषाक्त चलचित्रहरूमा मात्रै हो । जहाँ नक्कली नायकहरू बलियो देखिन्छन् । 

उनीहरू हुँदै नभएका काल्पनिक युद्धहरू जितिरहन्छन्। त्यस्ता चलचित्रहरूले हामीभित्र हिंसाको अनन्त इच्छालाई प्रोत्साहन गर्छन् । साथै अर्थहीन क्रूरता र मूर्ख पात्रहरू देखाउँछन्। 

जेटेओबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अरुन्धती रोय
अरुन्धती रोय
लेखकबाट थप