अनि जन्मियो ‘बिटलमेनिया’
सारांश
- बिटल्स अमेरिकामा सांगीतिक भ्रमणका लागि जाँदा फ्यानहरूको ठूलो भीड जम्मा भएको थियो।
- ह्याम्बर्गमा कठिन जीवन बिताएपछि, ब्यान्डले सांगीतिक क्षमता र आत्मविश्वास बढायो।
- डेक्का रेकर्ड्सले अस्वीकार गरेपछि, 'सी लभ्स यु' हिट भयो र उनीहरूको विश्वव्यापी सफलता सुरु भयो।
‘द बिटल्स’ प्यान ए्यामको उडान नम्बर १०१ मार्फत आफ्नो पहिलो अमेरिकी सांगीतिक भ्रमणका लागि जाँदै थिए, र उनीहरू आफ्नो सफलताको सम्भावनालाई लिएर चिन्तित थिए।
पल मकार्टनीले भनेका थिए, ‘उनीहरूसँग आफ्नै सांगीतिक समूहहरू छन्। उनीहरूसँग नभएको यस्तो कुन नयाँ कुरा हामीले दिन सक्छौँ र?’
जोन लेननले थपे, ‘हामी सफल हुनेछैनौँ।’

तर जब उनीहरू न्युयोर्कको नजिक पुगे, पाइलटले एउटा यस्तो घोषणा गरे जसले पक्कै पनि उनीहरूलाई ठूलो राहत दिएको हुनुपर्छ, ‘केटाहरूलाई भनिदिनू, उनीहरूलाई पर्खिरहेको एउटा ठूलो भिड त्यहाँ छ।’
त्यसपछि विमान एउटा यस्तो पागलपनबिच अवतरण भयो जसलाई पछि ‘बिटलमेनिया’ भनेर चिनियो:
४ हजार चिच्याइरहेका फ्यानहरू, जसमध्ये केही भिडको चेपुवामा परेर घाइते भएका थिए भने कोही त बेहोस नै भएका थिए। २०० जना पत्रकारहरू। १०० जना प्रहरी अधिकारीहरू।
चारवटा लिमोजिन कारले, हरेक बिटल सदस्यका लागि एउटा, उनीहरूलाई न्युयोर्क सहरभित्र लगे, जहाँ प्रख्यात डिजे ‘मरे द टी’ ले प्रत्यक्ष रेडियोमार्फत उनीहरूको यात्राको विवरण दिइरहेका थिए।
उनीहरूलाई सेन्ट्रल पार्क देखिने १० कोठे होटेल सुइट दिइएको थियो।

त्यसपछि दुईवटा कन्सर्ट, ‘एड सुलिभान सो’ मा दुईपटकको उपस्थिति, जुन दुवै कार्यक्रम ४० प्रतिशत अमेरिकी जनसङ्ख्याले हेरेका थिए । र, त्यसपछि उनीहरू बेलायत फर्किए, जहाँ १०,००० भन्दा बढी फ्यानहरूले उनीहरूको स्वागत गरे।
र यो त उनीहरूको विश्वव्यापी ख्यातिको पहिलो १२ दिनको कथा मात्र थियो।
जब अप्रिल १९६४ मा उनीहरूका गीतहरूले ‘बिलबोर्ड’ को शीर्ष गीतहरूको चार्टको पहिलो पाँचवटै स्थान ओगटे, बिटल्स रातारात विश्वव्यापी सनसनी बने। एउटा बेलायती पप ब्यान्डले अमेरिकी सांगीतिक क्षेत्रमा यसरी राज गर्नु? यस्तो पहिले कहिल्यै भएको थिएन।
बिटल्स अचानक कतैबाट झुल्किएका जस्ता देखिन्थे (कम्तीमा अमेरिकामा त्यस्तै भान हुन्थ्यो)। उनीहरू क्रान्तिकारी र रोमाञ्चक थिए, र सबैले उनीहरूकै बारेमा कुरा गरिरहेका थिए।

तर के उनीहरू साँच्चै अचानक कतैबाट आएका थिए त?
यो कथाले तपाईंलाई जीवनमा सफल र खुसी हुनका लागि जान्नैपर्ने सबैभन्दा महत्त्वपूर्ण तथ्यतर्फ डोहोर्याउनेछ। र होइन, म यहाँ कुनै बढाइचढाइ गरिरहेको छैन।
द बिटल्सको अज्ञात इतिहास
यो कथा जुलाई १९५७ बाट सुरु हुन्छ, जब जोन लेनन र पल मकार्टनीले किशोरवस्थामै सँगै संगीत बजाउन सुरु गरेका थिए। तर त्यसपछिका साढे दुई वर्षमा, लेनन र मकार्टनीले केही छोटो समयका लागि आएका ब्यान्ड सदस्यहरूसँग मिलेर टाउन हल र पब जस्ता ठाउँहरूमा जम्मा २५ पटक मात्र सांगीतिक प्रस्तुति दिए।
बिटल्सका इतिहासकार इयान इग्लिसका अनुसार, ‘उनीहरू वास्तवमा सांगीतिक रूपमा सफल हुने अस्पष्ट महत्त्वाकांक्षा बोकेका चार-पाँचजना केटाहरू वा किशोरहरूको समूह मात्र थिए, त्यसभन्दा बढी केही थिएनन्।’
सन् १९६० देखि, उनीहरूले लिभरपुल र ह्याम्बर्गमा बजाएर अथाह अनुभव बटुले, तर जुन १९६२ मा इएमआईसँग रेकर्डिङ सम्झौता गर्नुअघि उनीहरूलाई कम्तीमा पाँचवटा रेकर्ड लेबलले अस्वीकार गरेका थिए।
सन् १९६२ र १९६३ को दौरान, उनीहरू युरोपमा झन्झन् लोकप्रिय बन्दै गए। त्यसपछि १९६४ को सुरुमा उनीहरूको अमेरिकी डेब्यु भयो, जहाँबाट उनीहरूको विश्वव्यापी लोकप्रियताको सुरुवात भयो।
छोटकरीमा भन्नुपर्दा: सुस्त सुरुवात, चार वर्षको कडा मिहिनेत, रेकर्ड लेबलहरूबाट केही अस्वीकृति, र त्यसपछि ख्याति। होइन त?
तर वास्तविकता योभन्दा धेरै फरक छ।
सम्पूर्ण चित्र बुझ्नको लागि, तपाईंले उनीहरूले जर्मनीको ह्याम्बर्गमा बिताएको समयको बारेमा जान्नुपर्छ। त्यहीँ नै हो जहाँ बिटल्स साँच्चै ‘बिटल्स’ बनेका थिए।
ह्याम्बर्ग: कठिन दिनहरू, झन् कठिन रातहरू
बिटल्सको ह्याम्बर्गको पहिलो बसाइ उनीहरूका लागि अग्निपरीक्षा जस्तै थियो।
जब उनीहरू अगस्ट १७, १९६० मा ह्याम्बर्ग आइपुगे, उनीहरूलाई अगाडि के छ भन्ने कुनै पत्तो थिएन। उनीहरूले पहिलोपटक ‘इन्द्रा क्लब’ मा बजाए, जुन सहरको रेड-लाइट एरियाको मुटु रिपरबानमा अवस्थित थियो। जर्ज ह्यारिसनका अनुसार, त्यो ठाउँ ‘तेस्रोलिंगी, वेश्या र ग्याङस्टरहरू’ ले भरिएको एउटा खराब छिमेक थियो।

उनीहरूलाई बस्न दिइएको कोठा इन्द्रा क्लब नजिकैको एउटा थोत्रो सिनेमा हलको पर्दापछाडि थियो। लेननले सम्झिएका छन्, ‘हामीलाई सुँगुरको खोरजस्तो ठाउँमा राखिएको थियो। हामी लगभग शौचालयमै बसिरहेका थियौं, महिला शौचालयको ठ्याक्कै छेउमा। हामी ढिलो सुत्थ्यौं र भोलिपल्ट सिनेमा चलेको आवाज र छेउमा बुढी जर्मन महिलाहरूले पिसाब गरेको आवाजले ब्युँझन्थ्यौं।’
मकार्टनीका अनुसार त्यहाँ सधैँ शौचालयको गन्ध आइरहन्थ्यो। अझ खराब कुरा त, उनीहरूले नुहाउन र दाह्री काट्न पिसाबखानाकै चिसो पानी प्रयोग गर्नुपर्थ्यो।
उनीहरू बस्ने ठाउँ जति डरलाग्दो थियो, काम गर्ने ठाउँ पनि त्यस्तै खराब थियो। इन्द्रा क्लबको स्टेज एकदमै साँघुरो थियो। क्लब आफैँमा जीर्ण र फोहोर थियो; त्यो पहिले एउटा स्ट्रिप क्लब (नग्न नृत्य देखाइने ठाउँ) थियो। र पारिश्रमिक पनि खासै थिएन; हरेक कलाकारलाई दिनको २.५० पाउन्ड दिइन्थ्यो। आजको अमेरिकी डलरमा करिब ७२ डलर र आजको आधुनिक लन्डनमा यति पैसामा बाँच्ने प्रयास गरेर हेर्नुहोस् ।
हप्ताको ‘आठ दिन’ काम
उनीहरूको कामको तालिका एकदमै थकाउने खालको थियो, र उनीहरूले कहिल्यै बिदा पाउँदैनथे। समूहले हप्ताका दिनहरूमा बेलुका ८ बजेदेखि बिहान २ बजेसम्म, शनिबार बेलुका ७ बजेदेखि बिहान ३ बजेसम्म र आइतबार बेलुका ५ बजेदेखि बिहान १:३० बजेसम्म काम गर्थ्यो।
ह्याम्बर्गमा बसेको पूरा तीन महिना उनीहरूले यसरी नै काम गर्नुपरेको थियो: हप्ताको ४६ घण्टा, जसमध्ये ३१ घण्टा त उनीहरू स्टेजमै संगीत बजाइरहेका हुन्थे।

अनि उनीहरू कुकुरले झैँ काम गरिरहेका थिए ।
क्लबमा ग्राहक तान्न उनीहरूले ठूलो आवाजमा बजाउनुपर्थ्यो, र ग्राहकहरूले रक्सी किनिरहून् भनेर उनीहरूले निरन्तर ध्यान तानिरहनुपर्थ्यो। त्यहाँ स्टेजमा देखाउनुपर्ने उनीहरूको हताशपूर्ण व्यवहार नै पछि अमेरिकामा उनीहरूको चिनारी बन्न पुगेको स्टेजको ’पागलपन’ मा विकसित भयो।
उनीहरूको काम त्यतिबेला झन् गाह्रो भयो जब क्लबमाथिको फ्ल्याटमा बस्ने एक भाडावालले हल्ला धेरै भयो भनेर प्रहरीमा उजुरी गरे, र बिटल्स भोल्युम घटाएर बजाउन बाध्य भए।
अक्टोबरको सुरुमा, इन्द्राका साहुले क्लब बन्द गरे र बिटल्सलाई अर्को क्लब, काइजरकेलरमा सारिदिए। त्यहाँ उनीहरूको बस्ने व्यवस्था अलि राम्रो थियो तर कामको त्यही कठोर तालिका भने कायमै थियो।
ब्यान्डका सदस्यहरू लखतरान हुन्जेल काम गर्थे, अनि फेरि अझै काम गर्थे। लेननका अनुसार, ‘वेटरहरूले जब संगीतकारहरूलाई थकाइ वा रक्सीले ढल्न लागेको देख्थे, उनीहरूले चक्की (प्रेलुडिन, एम्फेटामाइनको एक प्रकार) दिन्थे।
‘त्यो चक्की खाएपछि तपाईं फेरि बोल्न थाल्नुहुन्थ्यो, नशा उत्रन्थ्यो, र लगभग विना थकान निरन्तर काम गर्न सक्नुहुन्थ्यो । जबसम्म चक्कीको असर सकिँदैनथ्यो, अनि फेरि अर्को चक्की खानुपर्थ्यो।’
उनीहरूको जीवन यस्तै चलिरहेको थियो, जबसम्म मध्य-नोभेम्बरमा जर्ज ह्यारिसनलाई उमेर नपुगेको कारण देश निकाला गरिएन। यसले गर्दा बिटल्सको ह्याम्बर्ग बसाइको अन्त्य भयो।
बिटल्सले भयानक परिस्थितिमा करिब ६०० घण्टा काम गरेका थिए। कल्पना गर्नुहोस् त, तीन महिनासम्म, दिनको ६ देखि ८ घण्टा काम, र एक दिन पनि बिदा छैन।
हो, उनीहरू स्टार बन्नेवाला छन्
बिटल्सले ह्याम्बर्गमा बिताएको समयले प्रतिफल दियो।

जोन लेननका अनुसार, ‘(सन् १९६० अघि) लिभरपुलमा हामी आफ्ना उत्कृष्ट गीतहरू मात्र बजाउँथ्यौँ, हरेक कार्यक्रममा तिनै गीतहरू। ह्याम्बर्गमा, हामीले आठ घण्टासम्म बजाउनुपर्थ्यो, त्यसैले हामीले साँच्चै बजाउने नयाँ तरिकाहरू खोज्नैपर्ने बाध्यता थियो... रातभरि बजाउँदा-बजाउँदा हामी अझ राम्रा भयौँ र हाम्रो आत्मविश्वास बढ्यो... आफूलाई स्थापित गर्न हामीले अझ बढी कोसिस गर्नुपर्यो, आफ्नो मन र आत्मा सबै त्यसमै लगाउनुपर्यो।’
त्यस समयका ब्यान्ड सदस्य स्टुअर्ट सटक्लिफले एउटा चिठीमा लेखेका थिए, ‘हामी यहाँ आएदेखि हाम्रो प्रस्तुति हजार गुणाले सुधारिएको छ र एलन विलियम्स, जो अहिले यहाँ छन्, उनी भन्छन् कि लिभरपुलमा हाम्रो बराबरी गर्न सक्ने कुनै समूह नै छैन।’
के लेनन, सटक्लिफ र विलियम्स आफैँलाई मूर्ख बनाइरहेका थिए त?
सन् १९६० को अन्त्यमा इङ्गल्याण्ड फर्किएपछि, समूहसँग अस्थायी रूपमा बजाइरहेका चेस न्युबीले उनीहरूको गायन र बजाउने कलामा आएको सुधार देखेर आफू छक्क परेको बताएका थिए।

तैपनि, सफलता अझै ३ वर्ष टाढा थियो
बिटल्सको सफलताका लागि ह्याम्बर्ग अत्यन्तै महत्त्वपूर्ण थियो, तर उनीहरूको स्टारडमतर्फको सुस्त यात्रा भर्खरै सुरु भएको थियो। सन् १९६१ देखि यता पनि, बिटल्सले अझै धेरै कडा मिहिनेत र निराशाको सामना गर्न बाँकी नै थियो।
सन् १९६१ र १९६२ मा बेलायतमा उनीहरूको लोकप्रियता बढ्दै गयो। जनवरी १९६३ मा, डेक्का रेकर्ड्सले "गिटार बजाउने समूहहरूको जमाना अब गइसक्यो" भन्ने आलोचनासहित उनीहरूलाई अस्वीकार गर्यो।
अगस्ट १९६३ मा, ‘सी लभ्स यु’ उनीहरूको पहिलो हिट गीत बन्यो।
उनीहरू ७ फेब्रुअरी १९६४ मा न्युयोर्क सहर जानका लागि हिथ्रो विमानस्थलबाट उडे। दुई दिनपछि, एड सुलिभान सोमा उनीहरूको प्रस्तुति लगभग ४० प्रतिशत अमेरिकी जनसङ्ख्याले हेरेका थिए।
र बिटल्स रातारात कसरी विश्वव्यापी सनसनी बने भन्ने कथा यही नै हो।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण