बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

ट्रम्पले स्ट्रेट अफ होर्मुज खुलाउन खोजिरहँदा बढिरहेछ तेलको भाउ

सोमबार, ०२ चैत २०८२, १२ : २५
सोमबार, ०२ चैत २०८२

सारांश

  • कच्चा तेलको मूल्य लगातार बढिरहेको छ, स्ट्रेट अफ होर्मुज बन्द भएपछि आपूर्ति अनिश्चितता बढेको छ।
  • ब्रेन्ट क्रुडको भाउ १०६ डलरसम्म पुग्यो, अमेरिकी राष्ट्रपति ट्रम्पले स्ट्रेट अफ होर्मुज खोल्न सहयोगको आह्वान गरे।
  • इरानले जहाज आवागमन रोकेको र युद्धका कारण तेलको मूल्य ४० प्रतिशतभन्दा बढी बढेको छ।

तेहरान । विश्व बजारमा कच्चा तेलको मूल्य लगातार बढिरहेको छ । विश्वको प्रमुख इन्धन ढुवानी मार्ग स्ट्रेट अफ होर्मुज प्रभावकारी रूपमा बन्दजस्तै भएपछि बजारमा आपूर्तिबारे अनिश्चितता बढेको छ ।

विश्व तेल बजारको प्रमुख सूचक मानिने ब्रेन्ट क्रुडको भाउ आइतबार करिब ३ प्रतिशतसम्म बढेर प्रति ब्यारेल १०६ डलरसम्म पुगेको थियो । सोमबार बिहान भने यो केही घट्दै प्रति ब्यारेल १०४ डलर ६३ सेन्टमा कारोबार भइरहेको थियो । यो अघिल्लो दिन बजार बन्द हुँदाको तुलनामा झण्डै १ दशमलव ५ प्रतिशतले बढी हो ।

यो समाचार तयार पार्दाखेरि नेपाली समयअनुसार सोमबार मध्याहन्न ११ः ४२ बजे ब्रेन्ट क्रेडको भाउ प्रतिब्यारेल १०४ डलर ४७ सेन्टमा किनबेच भइरहेको थियो । यो अघिल्लो दिन लन्डनस्थित आईसीई एक्सेचञ्जमा कारोबार बन्द हुँदाको तुलनामा १ दशमलव २९ प्रतिशत धेरै हो । सोही समयमा अमेरिकी बेञ्चमार्क यूएस क्रुड पनि प्रतिब्यारेल ९७ डलर १४ सेन्टमा आएको थियो । यो अघिल्लो दिन बजार बन्द हूँदाको तुलनामा झन्डै शून्य दशमलव ३१ प्रतिशत धेरै हो ।

तेलको भाउ बढ्नुको पछाडि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्य देशहरूलाई स्ट्रेट अफ होर्मुज पुनः खुलाउन सहयोग गर्न आह्वान गर्नु प्रमुख कारण मानिएको छ । विश्वको करिब २० प्रतिशत तेल आपूर्ति यही मार्गबाट हुने भएकाले यसको अवरोधले विश्व ऊर्जा बजारमा ठूलो असर परेको छ । तर ट्रम्पको प्रस्तावप्रति हालसम्म स्पष्ट समर्थन देखिएको छैन । उनले उल्लेख गरेका देशहरू जस्तै चीन, जापान, फ्रान्स र बेलायतमध्ये कुनै पनि देशले स्ट्रेट अफ होर्मुजको सुरक्षाका लागि आफ्ना नौसैनिक जहाज पठाउने प्रतिबद्धता सार्वजनिक रूपमा जनाएका छैनन् ।

नेटोबारे टिप्पणी गर्दै ट्रम्पले फाइनान्सियल टाइम्ससँगको अन्तर्वार्तामा उनका प्रस्तावमा प्रतिक्रिया आएन वा नकारात्मक प्रतिक्रिया आयो भने गठबन्धनको भविष्य अत्यन्त खराब हुन सक्ने भनेका थिए । यसबिच सोमबार जापान र अष्ट्रेलिया दुवैले होर्मुज क्षेत्रमा जहाज पठाउने कुनै योजना नभएको बताएका छन् । इरानले अमेरिका र इजरायलले गरेको आक्रमणको प्रतिशोधस्वरूप स्ट्रेट अफ होर्मुज हुँदै हुने जहाज आवागमन लगभग रोकिदिएको छ । यसका कारण विश्व ऊर्जा आपूर्तिमा इतिहासकै सबैभन्दा ठूलो अवरोध देखिएको अन्तरराष्ट्रिय ऊर्जा एजेन्सीले जनाएको छ ।

युद्ध सुरु भएयता विश्व बजारमा कच्चा तेल मूल्य ४० प्रतिशतभन्दा बढी बढिसकेको छ । युद्धले इन्धन मूल्य वृद्धि भएर विश्व अर्थतन्त्र मन्दीमा जाने हो कि भन्ने  चिन्ता पनि बढाएको छ । बेलायतको समुद्री व्यापार सञ्चालन (यूकेएमटीओ)का अनुसार युद्ध सुरु भएयता स्ट्रेट अफ होर्मुज हुँदै दैनिक पाँचभन्दा बढी जहाज मात्र पार भइरहेका छन् । सामान्य अवस्थामा यस मार्गबाट दैनिक औसत १३८ जहाज आवतजावत गर्थे । फेब्रुअरी २८ मा युद्ध सुरु भएयता कम्तीमा १६ वटा व्यावसायिक जहाजमाथि आक्रमण भइसकेको पनि यूकेएमटीओले जनाएको छ ।

यसअघि ट्रम्पले आवश्यक परे अमेरिकी नौसेनालाई स्ट्रेट अफ होर्मुज हुँदै जाने व्यापारिक जहाजलाई सुरक्षा दिन पठाउन सकिने बताएका छन् । यो स्ट्रेट अफ होर्मुज इरान, ओमान र संयुक्त अरब इमिरेट्सबिच अवस्थित छ । अमेरिकी प्रशासनका अधिकारीहरूले भने तेहरानको सैन्य क्षमता अझ कमजोर भएपछि मात्र युद्धपोत पठाइने र यस्तो अभियान चाँडै सुरु हुने अपेक्षा गरिएको बताएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप