एनआरएनएको १२औँ विश्व सम्मेलन सम्पन्न, १२ बुँदे घोषणापत्र जारी
सारांश
- एनआरएनएको १२औँ विश्व सम्मेलन काठमाडौंमा सम्पन्न भयो, जसमा 'हाम्रो एकता, समृद्धिको आधार' नारा थियो।
- सम्मेलनले गैरआवासीय नेपालीको लगानीलाई सहज बनाउन कानूनी जटिलता हटाउन माग गर्यो, र श्रमिकहरूको सुरक्षाको लागि प्रतिबद्धता जनायो।
- प्रधानमन्त्री सुशीला कार्कीले एनआरएनएको एकताले विकासमा आशा जगाएको बताइन् र सरकारको सहयोगको प्रतिबद्धता व्यक्त गरिन्।
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा बृहत् अन्तर्राष्ट्रिय महाधिवेशन १२ बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै सोमबार सम्पन्न भएको छ।
‘हाम्रो एकता, समृद्धिको आधार’ भन्ने मूल नाराका साथ फागुन ३० गतेदेखि सुरु भएको सम्मेलनले नेपालको आर्थिक समृद्धिमा एकताबद्ध भएर लाग्ने र गैरआवासीय नेपालीका अधिकार सुनिश्चित गर्ने साझा संकल्प गरेको छ।
सम्मेलनले जारी गरेको घोषणापत्रमा नेपालमा गैरआवासीय नेपालीको लगानीलाई सरल र सहज बनाउन विद्यमान कानूनी जटिलता हटाउन सरकारसँग जोडदार माग गरिएको छ।
एनआरएन ऐन, नागरिकता ऐन, आयकर ऐन र विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन लगायतका कानूनहरू संशोधन गरी लगानीमैत्री वातावरण बनाउन सम्मेलनले आग्रह गरेको छ। यस्तै, नेपाल सरकार र एनआरएनएको संयुक्त लगानीमा स्थापित ‘एनआरएन नेपाल डेभलपमेन्ट फण्ड’ बाट जारी हुने धितोपत्रको सीमा ८५ प्रतिशत कायम गर्न समेत माग गरिएको छ।
घोषणापत्रमा संविधानले व्यवस्था गरेको गैरआवासीय नेपाली नागरिकताको अधिकारलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न कानूनी र नीतिगत सुधारको माग गरिएको छ। विशेषगरी आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी नागरिकता सम्बन्धी ऐन यथाशीघ्र संशोधन गर्न संघले सरकारको ध्यानाकर्षण गराएको छ।
सम्मेलनले मध्यपूर्वको वर्तमान परिस्थितिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै त्यहाँ संकटमा परेका नेपाली श्रमिकहरूको सुरक्षा, राहत र उद्धारका लागि सरकार र अन्तर्राष्ट्रिय निकायसँग सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ।
वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूको सम्मान र अधिकार सुनिश्चित गर्न नीतिगत सुधारको पहल गर्ने विषयलाई पनि घोषणापत्रले प्राथमिकता दिएको छ।
प्रवासमा जन्मिएका दोस्रो पुस्ताका नेपालीहरूलाई मातृभूमिसँग जोड्न नेपाली भाषा, कला र संस्कृतिको प्रवद्र्धन गर्ने र विश्वभर रहेका नेपाली विज्ञहरूको ज्ञान एवं प्रविधिलाई नेपालको विकासमा भित्र्याउने संकल्प समेत गरिएको छ। पर्यटन प्रवर्द्धन र जलविद्युत, कृषि तथा सूचना प्रविधिजस्ता क्षेत्रमा लगानी प्रोत्साहित गर्ने संघको योजना छ।
सम्मेलनमा ४ हजार २ सय ८६ प्रतिनिधिहरूले भौतिक र भर्चुअल माध्यमबाट सहभागिता जनाएका थिए। परराष्ट्रमन्त्री बालानन्द शर्माले उद्घाटन गरेको सम्मेलनमा विभिन्न मन्त्रीहरू, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, सरकारका उच्च पदाधिकारी र विश्वभरबाट आएका लगानीकर्ता एवं श्रमिक प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
यसैगरी सम्मेलनको समापन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री सुशीला कार्कीले एनआरएनएभित्रको एकताले मुलुकको विकासमा नयाँ आशा जगाएको बताइन् । विदेशमा रहेका नेपालीहरूको ज्ञान, सीप र पुँजीलाई मातृभूमिको हितमा परिचालन गर्न सरकारले सधैँ साथ दिने प्रतिबद्धता व्यक्त गरिन् ।
गत मङ्सिरमा भएको १० बुँदे सहमतिपछि एकताबद्ध रूपमा सम्पन्न यस सम्मेलनले संघलाई संस्थागत स्थायित्व दिएको भन्दै प्रधानमन्त्रीले खुसी व्यक्त गरिन् । सम्मेलनबाट हेमराज शर्माको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण