बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
शंकर पोखरेललाई खुलापत्र

कमरेड, अब त भन्नुहोस्ः ‘अध्यक्ष तपाईं नाङ्गै हुनुहुन्छ !’

मङ्गलबार, ०३ चैत २०८२, ११ : ०३
मङ्गलबार, ०३ चैत २०८२

सारांश

  • लेखकले नेकपा (एमाले) महासचिव शंकर पोखरेललाई पार्टीभित्र सत्य बोल्ने व्यक्तिको खाँचो रहेको कुरा औंल्याएका छन्।
  • पार्टीको पछिल्लो समयका निर्णयहरू, जसमा एकलौटीपन र असहमत हुनेहरूलाई पाखा लगाउने प्रवृत्ति समावेश छ, त्यसको आलोचना गरिएको छ।
  • लेखकले पार्टीको हारको मुख्य कारण अध्यक्ष केपी ओलीलाई पुनः प्रधानमन्त्रीको उम्मेदवार बनाउनुलाई मानेका छन् र ओलीलाई विश्राम लिन आग्रह गरेका छन्।

आदरणीय कमरेड
शंकर पोखरेल
महासचिव, नेकपा (एमाले)

प्रसिद्ध कथाकार हान्स क्रिश्चियन एण्डरसनको एउटा कथा छ । धेरै समय पहिले नयाँ–नयाँ लुगा लगाउने सौख भएका एक जना सौखिन बादशाह‌ थिए । एक जना व्यक्तिले ‘अदृश्य’ लुगा बनाएर लगाइदिएको बहानामा राजालाई नाङ्गै सडकमा हिँडाइदिन्छ । राजाका भारदारहरू ‘आफू मूर्ख देखिने डरले’ राजाको कृत्रिम प्रशंसा गरिरहन्छन् । तर, एउटा अबोध बालकले हिम्मतका साथ ‘बादशाह त नाङ्गै हुनुहुन्छ’ भनिदिन्छ ।

आज नेकपा (एमाले) भित्र त्यही सत्य बोल्ने बालकको अभाव खड्किएको छ । म यो पत्र महासचिव शंकर पोखरेललाई त्यही बालकको भूमिका निर्वाह गर्ने सामर्थ्य जुटाउन आग्रह गर्दै लेख्दै छु ।

महासचिव कमरेड, म नेकपा (एमाले) को सङ्गठित सदस्य मात्र हुँ । कुनै समय अनेरास्ववियुको केन्द्रीय सदस्य पनि थिएँ । तपाईं दोस्रो कार्यकालका लागि निर्वाचित शक्तिशाली महासचिव । आज पार्टी चुनावी नतिजामा खुम्चिएको अवस्थामा भए तापनि तपाईंको पदीय र वैचारिक कद सानो छैन । तपाईं एमालेभित्रको प्रखर बौद्धिक र वैचारिक खम्बा हुनुहुन्छ ।

पार्टीको सातौँ महाधिवेशनमा तपाईंको एजेन्डालाई जबर्जस्ती किनारा लगाइएको थियो । तर कालान्तरमा पार्टी तपाईंले नै अघि सारेको विचारमा आइपुग्यो । मेरो नजरमा एमालेको सबैभन्दा असफल महाधिवेशन त्यही सातौँ थियो । त्यस महाधिवेशनले तत्कालीन माओवादी सशस्त्र विद्रोहको गहिराइ बुझेन, संविधानसभा र राज्यको पुनर्संरचनालाई स्वीकार्न सकेन । अन्ततः पार्टी ‘प्रतिगमन आधा सच्चियो’ भन्दै शाही निगाहमा बनेको देउवा सरकारको हिस्सा बन्यो र जनआन्दोलनपछि २०६४ सालमा भएको संविधानसभाको निर्वाचनमा तेस्रो स्थानमा खुम्चियो ।

यदि तपाईंको प्रस्तावलाई त्यसबेला नलत्याइएको भए सायद पार्टीले त्यो हविगत भोग्नुपर्ने थिएन । भनिन्छ, जब कुनै व्यक्तिमाथि दमन हुन्छ, उसले आफ्नो डर र असहायपनबाट बच्न अञ्जानमै पीडकको व्यवहार, शैली र शक्तिलाई आत्मसात् गर्न थाल्छ ।

एघारौँ महाधिवेशनसम्म आइपुग्दा तपाईंमा पनि सायद त्यस्तै मनोविज्ञान विकास भयो कि भन्ने भान हुन्छ । ‘गोदावरी पिकनिक’ साबित भएको दोस्रो विधान महाधिवेशन सम्पन्न गर्दै भदौ २२ मा एमालेलाई अध्यक्ष केपी ओलीको पाउमा समर्पित गरेर फर्किनुभएका तपाईंहरूलाई भोलिपल्टै ‘जेनजी’ पुस्ताको विद्रोहले ठूलै थप्पड हानेको थियो ।

तर, त्यो जनलहरलाई अस्वीकार गर्दै विचार र एजेन्डामा छलफलसमेत गर्न नदिई नेतृत्व चयनमै एघारौँ महाधिवेशन टुङ्ग्याउनुभयो । सातौँ महाधिवेशनको गल्तीलाई एघारौँले माथ दियो । नवयुवाको आन्दोलन, पुस्तान्तरणको माग र ‘ओली युग’को अन्त्य जस्ता विषयलाई जबर्जस्ती नकारेर आफ्नो वैचारिक छवि धुमिल बनाउँदै तपाईं महासचिव त बन्नुभयो तर धरातलीय यथार्थ बिर्सनुभयो । परिणामस्वरूप फागुन २१ को निर्वाचनमा तपाईंलाई आफ्नै निर्वाचन क्षेत्रमा जमानत जोगाउनसमेत धौ–धौ भयो ।

सातौँ महाधिवेशनको नियति एघारौँले भोग्नु नपरेको भए आज एमाले माइक्रोबसमा अट्ने आकारको होइन, एउटा सशक्त संसदीय शक्तिका रूपमा हुने थियो । तपाईंजस्तो वैचारिक हस्ती अध्यक्ष ओलीको ‘अन्धभक्त’ होइन, ‘रणनीतिकार’ हुनुपर्ने हो ।

तर, पछिल्लो समय पार्टीभित्र भइरहेका एकलौटी निर्णय, असहमत हुनेलाई पाखा लगाउने प्रवृत्ति र ‘म नै राज्य हुँ’ भन्ने कार्यशैलीमा महासचिवको ‘मौन स्वीकृति’ सुहाउने कुरा थिएन । दसौँ र एघारौँ महाधिवेशनले पार्टीलाई ‘विधि’भन्दा ‘व्यक्ति’मा केन्द्रित गरेको छ ।

नीतिभन्दा नेता र विचारभन्दा व्यक्तिवाद हाबी हुँदा सङ्गठनको गतिशीलता हराएको छ । शंकर कमरेड, तपाईंले नै व्याख्या गर्दै आउनुभएको ‘जबज’ले प्रतिस्पर्धा र आलोचनालाई स्वीकार गर्छ । तपाईंको आफ्नै गृहनगरको मेयरलाई समेत महाधिवेशन प्रतिनिधि नबनाउने कस्तो ‘सर्वसम्मत’ जबज हो ? पार्टीमा अध्यक्षको इसाराबिना एउटा पात पनि नहल्लने अवस्था सिर्जना हुनु के ‘जबज’को उपहास होइन र ? यसले देशैभरका एमालेका आम कार्यकर्ता पङ्क्तिको मन अमिलो बनाएको छ ।

पार्टी १६५ निर्वाचन क्षेत्रमध्ये १५६ स्थानमा पराजित भयो । विपक्षी उम्मेदवारले हाम्रा प्रस्तावित प्रधानमन्त्रीलाई आफ्नै क्षेत्रमा करिब ५० हजारको मतान्तरले हराइदिए । यी त निर्वाचनका परिणाम हुन् । तर हारको मुख्य कारण अध्यक्ष ओलीलाई नै पुनः प्रधानमन्त्रीको उम्मेदवार बनाउनु होइन र ?

सत्तामा रहँदा आन्दोलनमाथि भएको दमनको नैतिक जिम्मेवारी नलिने व्यक्ति कसरी पुनः निर्विकल्प नेता हुन सक्छ ? ‘मविरुद्ध विदेशी षड्यन्त्र भयो’ भनेर रुवाबासी गर्ने प्रधानमन्त्रीले देशको सुरक्षा चुनौती सामना गर्छ भनेर जनताले कसरी पत्याउने ?

विदेशी चलखेल रोक्न नसक्ने व्यक्तिलाई फेरि प्रधानमन्त्री बनाउनु भनेको देशलाई विदेशीको खेलमैदान बनाउनु होइन र ? यस्तो असफल व्यक्ति तपाईंको प्रधानमन्त्री उम्मेदवार हुन सक्यो होला तर आम मतदाताको हुन सकेन । समानुपातिक मत हाल्दा मजस्ता कार्यकर्तालाई समेत अन्यत्र मत हाल्न मन नलागेर मत बदर गरिदिऊँ भन्ने स्तरमा ग्लानि भएको थियो ।

सायद त्यसैले होला, तपाईंले पनि आफ्नो प्रचार सामग्रीमा अध्यक्षको तस्बिर राख्नुभएन र प्रधानमन्त्री बनाउने हो भनेर भन्न सक्नुभएन । यो दशा त सबै उम्मेदवारको उस्तै थियो । गीतकार यादव लम्सालको शब्दजस्तैः

‘मुख खोलेर भन्न पो भा छैन

तर कल्लाई था छैन’

महासचिव कमरेड, चाकडी र भक्तिले कसैलाई ठूलो बनाउँदैन । नेतृत्वको वरिपरि बसेर ‘सबै ठीक छ’ भन्नेहरूको भीडमा तपाईंको फरक पहिचान हुनैपर्छ । यही निर्वाचनमा ९१ स्थानमा एमाले प्रतिस्पर्धाकै वरपर थिएन । एक चौथाइ क्षेत्रमा जमानत जफत भयो । सूर्य चिह्नबाहेक अन्यत्र छाप नलगाउने मेरै परिवारका सदस्यहरूले ‘ओलीले नेतृत्व गर्दासम्म एमालेमा भोट हाल्दैनौँ’ भनी मत परिवर्तन गरे । यस्ता परिवार देशैभरि कति छन् कति !

के यो पार्टी र तपाईंले सोच्नुपर्ने विषय होइन ?

आजको वास्तविक धरातल यही हो । तपाईंमा इतिहासको व्याख्या गर्ने क्षमता छ । तपाईंकै प्रशिक्षणबाट हामीले वामपन्थी आन्दोलन बुझेका हौँ । कमरेड, अब तपाईंले नै हिम्मत गरेर अध्यक्ष ओलीलाई विश्राम लिन भन्नुपर्छ । ओलीको अहङ्कारबाट हुने थप क्षति अब एमाले र समग्र वामपन्थी आन्दोलनले थाम्न सक्दैन । यति भन्नका लागि अध्यक्षविरुद्ध विद्रोह गरिराख्नुपर्दैन ।

यो त पार्टी बचाउन महान् सङ्कल्पद्वारा चालिने कदम हो । यदि आज तपाईंले सत्य बोल्ने आँट गर्नुभएन भने भोलि एमालेको पतनको इतिहास लेखिँदा तपाईंको नाम ‘मौन मतियार’का रूपमा दर्ज हुनेछ ।

नेतृत्वका आत्मघाती निर्णयले सङ्गठन मक्किसकेको छ । त्यसैले, समय घर्कनुअघि नै साहस बटुल्नुहोस् र भन्नुहोस्– अध्यक्ष कमरेड, तपाईंको लाज ढाक्ने सङ्गठन तपाईंकै हातबाट धुजाधुजा भयो । तपाईं नाङ्गै हुनुहुन्छ ।

तपाईंको दुस्साहसी कार्यकर्ता

एमालेको शुभचिन्तक

विदुर गिरी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विदुर गिरी
विदुर गिरी
लेखकबाट थप