बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

लुम्बिनी अन्तर्राष्ट्रिय ‘पिस म्याराथन’ चौथो संस्करण हुँदै

बुधबार, ०४ चैत २०८२, ०० : १०
बुधबार, ०४ चैत २०८२

सारांश

  • लुम्बिनीमा चौथो अन्तरराष्ट्रिय पिस म्याराथन आयोजना हुने भएको छ।
  • म्याराथनमा पुरुष, महिला र अन्य विभिन्न विधामा प्रतिस्पर्धा हुनेछ।
  • प्रतियोगितामा विजेताहरूलाई नगद पुरस्कारको व्यवस्था गरिएको छ।

काठमाडौँ । नेपाल ओलम्पिक कमिटी (एनओसी) को आयोजनामा चौथो लुम्बिनी अन्तर्राष्ट्रिय ‘पिस म्याराथन’ हुने भएको छ ।

खेलकुदमार्फत शान्ति, एकता र दिगो विकास प्रवर्द्धन गर्ने उद्देश्यले विश्वसम्पदा सूचीमा सूचीकृत लुम्बिनीमा यही चैत ७ गते उक्त कार्यक्रम गर्न लागिएको एनओसीका उपाध्यक्ष तथा लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनका संयोजक अशोकरत्न बज्राचार्यले जानकारी दिए ।

प्रत्येक वर्ष अप्रिल ६ मा विश्वभर मनाइने विकास र शान्तिका लागि अन्तर्राष्ट्रिय खेलकुद दिवसबाट लुम्बिनी पिस म्याराथन प्रेरित रहेको उनले बताए ।

एनओसीले सन् २०२२ देखि म्याराथन गर्दै आएको हो । म्याराथनले उत्कृष्ट खेलाडी, धावक, युवा, आध्यात्मिक व्यक्तित्व तथा विश्वभरका शान्ति अभियन्तालाई एकैठाउँमा ल्याई खेल पर्यटनलाई प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।

यसपालि पुरुष म्याराथन, महिला हाफ म्याराथन, खुल्ला पाँच किमी दौड (पुरुष/महिला) र पाँच किमी स्कुल ब्वाइज/गल्र्स तथा सोही दूरीमा भेट्रान पुरुष गरी पाँच विधामा प्रतिस्पर्धा हुनेछ ।

यसैगरी तीन किमी खुल्ला पिस वाकाथनको आयोजना पनि गरिनेछ । यी सबैमा गरी एक हजार २०० जनाले सहभगिता जनाउने संयोजक बज्राचार्यले जानकारी दिए ।

चौथो संस्करणको कुल पुरस्कार राशि रु १७ लाख ६९ हजार रहेको छ । पुरुष म्याराथनका विजेताले रु तीन लाख ५० हजार, दोस्रो हुनेले रु दुई लाख ५० हजार र तेस्रो हुनेले रु एक लाख ५० हजार पुरस्कार प्राप्त गर्नेछन् ।

यसैगरी म्याराथनमा शीर्ष दश स्थानमा रहने धावकलाई क्रमशः रु एक लाख, रु ८० हजार, रु ६० हजार, रु ४० हजार, रु २० हजार, रु १० हजार र रु पाँच हजार प्रदान गरिनेछ ।

महिला हाफ म्याराथनमा विजेताले रु एक लाख ५० हजार, उपविजेताले रु एक लाख, तेस्राे हुनेले रु ८० हजार, चौथो हुनेले रु ५० हजार र पाँचौँ स्थान प्राप्त गर्नेले रु ३० हजार पुरस्कार पाउनेछन् । अन्य विधामा पनि नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

गत संस्करणमा पुरुष म्याराथनमा अनिश थापामगर र महिला हाफ म्याराथनमा सन्तोषी श्रेष्ठ विजेता बन्नुभएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप