शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जुम्लामा एसईई परीक्षार्थी घटे, १४ परीक्षा केन्द्र निर्धारण

बिहीबार, ०५ चैत २०८२, ०८ : ५०
बिहीबार, ०५ चैत २०८२

सारांश

  • यस वर्ष जुम्लाबाट २,२५५ विद्यार्थी एसईई परीक्षामा सहभागी हुनेछन्।
  • गत वर्षको तुलनामा परीक्षार्थी संख्या ४२६ ले घटेको छ, घट्दो क्रमका कारणहरूमा बसाइसराइ, जनसंख्या घट्नु, र पढाई छोड्नु रहेका छन्।
  • परीक्षा चैत १९ देखि २९ गतेसम्म सञ्चालन हुनेछ, जसमा १४ वटा परीक्षा केन्द्र तोकिएका छन्।

काली बहादुर परियार
जुम्ला । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा यस वर्ष जुम्लाबाट २ हजार २ सय ५५ जना विद्यार्थी सहभागी हुने भएका छन् । शिक्षा विकास तथा समन्वय इकाइ जुम्लाका निमित्त इकाइ अधिकारी खेमराज पन्तका अनुसार सहभागी मध्ये २ हजार १ सय ३३ जना नियमित तर्फ र १ सय २२ जना ग्रेडवृद्धितर्फका छन् ।

गत वर्षको तुलनामा यस वर्ष परीक्षार्थी संख्या ४ सय २६ ले घटेको उनको भनाइ छ। उनले भने, अघिल्लो वर्ष २ हजार ६ सय ८१ जना विद्यार्थी सहभागी भएका थिए। पछिल्ला चार वर्षको तथ्याङ्कले जुम्लामा एसईई परीक्षार्थी संख्या समग्र रूपमा घट्दो क्रममा रहेको बताए । 

२०७९ मा २ हजार ८ सय ७७ जना रहेका परीक्षार्थी २०८० मा घटेर २ हजार ५ सय ५७ मा झरेका थिए। २०८१ मा केही वृद्धि भई २ हजार ६ सय ८१ पुगे पनि यस वर्ष फेरि घट्दै २ हजार २ सय ५५ मा सीमित भएको छ। 

यस अवधिमा कुल ६ सय २२ जना परीक्षार्थी घटेका छन्।इकाइका अनुसार बसाइसराइ, विद्यालय उमेर समूहको जनसंख्या घट्नु र बिचमै पढाइ छोड्ने प्रवृत्ति परीक्षार्थी संख्या घट्नुका प्रमुख कारण हुन् । 

यद्यपि प्राविधिक धार र खुला विद्यालयतर्फको निरन्तर सहभागिता भने सकारात्मक संकेतका रूपमा लिइएको छ।यस्तै यस वर्ष जुम्लामा १४ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ। 

चन्दननाथ माध्यमिक विद्यालय, खलंगामा १ सय ३३ (११९ नियमित तर्फ, १४ ग्रेडवृद्धि) विद्यार्थी परीक्षा दिनेछन्। कर्णाली मावि अनामनगरमा २ सय ९ (२०७ नियमित, २ ग्रेडवृद्धि), जनता मावि महतगाउँमा १ सय ६१ (१४९ नियमित, १२ ग्रेडवृद्धि) र रत्नचुण्डेश्वर मावि बोहोरा गाउँमा १ सय ७८ (१७५ नियमित, ३ ग्रेडवृद्धि) विद्यार्थी सहभागी हुनेछन्।

त्यस्तै सत्यवादी मावि दशौंदीमा १ सय ४० (१३७ नियमित, ३ ग्रेडवृद्धि), ऋणमोक्ष मावि डिल्लीचौरमा १ सय ९२ (१८७ नियमित, ५ ग्रेडवृद्धि), दुर्गा मावि लाम्रामा १ सय ४५ (१३८ नियमित, ७ ग्रेडवृद्धि) र हिमशिखर मावि तातोपानीमा १ सय ५७ (१४७ नियमित, १० ग्रेडवृद्धि) विद्यार्थी छन्।सरस्वती मावि कुडारीमा १ सय ४६ (१२८ नियमित, १८ ग्रेडवृद्धि), सीता मावि रारालिहीमा १ सय ५७ (१३४ नियमित, २३ ग्रेडवृद्धि), राहादेव मावि मोफ्लामा १ सय ४३ (१३७ नियमित, ६ ग्रेडवृद्धि) र कालिका मावि तलिकुडुमा १ सय ५५ (१५० नियमित, ५ ग्रेडवृद्धि) विद्यार्थी परीक्षा दिनेछन्।

यस्तै भैरव मावि नराकोटमा १ सय ७२ (१६० नियमित, १२ ग्रेडवृद्धि) र कनकासुन्दरी मावि लुड्कुमा १ सय ६७ (१६५ नियमित, २ ग्रेडवृद्धि) विद्यार्थी सहभागी हुनेछन्।प्राविधिक धारतर्फ १ सय ३० जना (११९ नियमित, ११ ग्रेडवृद्धि) विद्यार्थी जनता मावि महतगाउँ, सरस्वती मावि कुडारी र नेत्र ज्योति मावि ओदीबाट परीक्षा दिनेछन्। खुला विद्यालयतर्फ चन्दननाथ माविबाट १७ जना (१६ नियमित, १ ग्रेडवृद्धि) विद्यार्थी सहभागी हुनेछन्।यसवर्षकाे एसईई परीक्षा चैत १९ देखि २९ गतेसम्म सञ्चालन हुने तालिका सार्वजनिक गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप