२०० डलर पुग्ला कच्चा तेलको मूल्य ?
सारांश
- अमेरिका र इजरायलको इरानमाथि आक्रमण सुरु भएपछि तेलको मूल्य २०० डलरसम्म पुग्न सक्ने चेतावनी विश्लेषकहरुले दिएका छन्।
- इरानले स्ट्रेट अफ हर्मुज बन्द गरेपछि तेल आपूर्ति प्रभावित भएको छ, जसले विश्व अर्थतन्त्रमा गम्भीर असर पार्ने देखिएको छ।
- विज्ञहरूका अनुसार, तेलको मूल्य वृद्धिको कारणले मुद्रास्फीति बढ्ने र आर्थिक वृद्धिदर घट्ने सम्भावना छ।
तेहरान । अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानमाथि आक्रमण सुरु गरेलगत्तै विश्लेषकहरूले विश्व बजारमा तेलको मूल्य १०० डलर नाघ्ने चेतावनी दिएका थिए ।
युद्ध सुरु भएको तीन साताभन्दा कम समयमै अवस्था गम्भीर बनेको छ । ऊर्जा बजारका जानकारहरूले अब कच्चा तेलको मूल्य १५० डलर होइन, २०० डलरसम्म पुग्ने सम्भावना देखेका छन् । मार्च ९ मा कच्चा तेलको मूल्य झण्डै १२० डलरमा पुगेको थियो ।
मार्च १३ देखि यो लगातार १०० डलरभन्दा माथि नै कायम छ । पछिल्लो पटक मार्च १८ मा इजरायलले इरानको साउथ पार्स ग्यास क्षेत्रमा आक्रमण गरेपछि अवस्था थप चर्किएको हो । त्यसको प्रतिउत्तरमा इरानले कतार, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्सका तेल तथा ग्यास संरचनाहरूमा आक्रमण गर्दा मूल्य फेरि उकालो लाग्दै १०८ डलरभन्दा माथि पुगेको छ ।
विशेषज्ञहरूका अनुसार तेल मूल्यको भविष्य अब मुख्यतः स्ट्रेट अफ हर्मुजको अवस्थामाथि निर्भर छ । विश्वको झन्डै २० प्रतिशत तेल आपूर्ति यही जलमार्ग हुँदै हुने भएकाले यसको अवरोधले विश्व अर्थतन्त्रमा गम्भीर प्रभाव पार्न सक्छ । युद्ध सुरु भएपछि इरानले उक्त स्ट्रेटमा बन्द गरेको घोषणा गर्दै त्यहाँबाट गुज्रिने जहाजहरूलाई आक्रमण गर्ने चेतावनी दियो । त्यसपछि त्यहाँबाट जहाज आवतजावत लगभग ठप्पजस्तै भएको छ । विशेषगरी भारत, पाकिस्तान, टर्की र चीनका गरेर केही सीमित जहाजहरू मात्र सुरक्षित यो जलमार्ग भएर गइरहेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जलमार्ग पुनः खोल्न अन्तर्राष्ट्रिय सहयोग जुटाउने प्रयास गरे पनि उल्लेखनीय समर्थन पाउन सकेका छैनन् । विभिन्न देशहरूले भने इरानसँग छुट्टाछुट्टै समझदारी गर्दै आफ्ना जहाजहरू सुरक्षित पार गराउने प्रयास गरिरहेका छन् । ऊर्जा विश्लेषक वन्दना हरिका अनुसार पश्चिम एशियाका ओमान र दुबईका कच्चा तेलका मूल्यहरू पहिले नै १५० डलर नाघिसकेका छन् । २०० डलरको स्तर टाढाको लक्ष्य नभएको जस्तै देखिन थालेको उनी बताउँछिन् ।

तेलको मूल्य अब कति माथि जान्छ भन्ने कुरा लगभग पूर्ण रूपमा स्ट्रेट अफ हर्मुज कति समयसम्म बन्द रहन्छ भन्नेमा निर्भर रहेको उनले बताइन् ।
यसबिच अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए)को समन्वयमा विभिन्न देशहरूले आ–आफ्नो रणनीतिक भन्डारबाट निकालेर ४० करोड ब्यारेल तेल बजारमा ल्याउने निर्णय गरेका छन् । तर विज्ञहरूका अनुसार यो परिमाणले जलमार्ग अवरुद्ध हुँदा हुने आपूर्ति कमीलाई पूर्ण रूपमा पूर्ति गर्न सक्दैन ।
सिंगापुरस्थित ओसीबीसी समूह अनुसन्धानले विश्व बजारमा यतिबेला दैनिक करिब १ करोड ब्यारेल तेलको अभाव भइरहेको अनुमान गरेको छ । यस्तो अवस्थामा बजारमा माग र आपूर्तिबिचको असन्तुलन अझ गहिरिने देखिएको छ । ऊर्जा परामर्श कम्पनी वुड म्याकेन्जीका विश्लेषकहरूले केही दिनअघि नै ब्रेन्ट क्रुड १५० डलर पुग्ने र २०० डलर पुग्नु पनि असम्भव नभएको बताएका थिए । इरानले पनि विश्वलाई यस्तो मूल्यवृद्धिका लागि तयार रहन चेतावनी दिएको छ ।
तेल तथा ग्यास उद्योगसम्बद्ध अनलाइन संसाधन कम्पनी रिगजोनका अध्यक्ष च्याड नर्भिलका अनुसार स्ट्रेट अफ हर्मुज लामो समयसम्म अवरुद्ध रह्यो भने तेलको मूल्य २०० डलर नजिकसम्म पुग्न सक्ने सम्भावना प्रबल छ । उनले यस अवस्थालाई विगतको खाडी युद्धभन्दा पनि गम्भीर हुन सक्ने बताए, किनकि अहिले विश्व आपूर्ति संरचना झन् संवेदनशील अवस्थामा छ । तेलको मूल्य १५० डलर वा त्योभन्दा माथि पुग्नुले विश्व अर्थतन्त्रमा गहिरो असर पार्ने निश्चित छ । बुहपक्षीय कर्जादाता निकाय आईएमएफका अनुसार तेलको मूल्य १० प्रतिशतले बढ्दा एक वर्षभित्र विश्वव्यापी मुद्रास्फीति शून्य दशमलव ४ प्रतिशतले बढ्छ । यस कारण आर्थिक वृद्धिदर शून्य दशमलव १५ प्रतिशतले घट्छ ।

इतिहासमा ब्रेन्ट क्रुडको उच्चतम मूल्य २००८ को विश्व आर्थिक संकटताका १४७ डलर ५० सेन्टमा पुगेको थियो । महँगीसँग समायोजन गर्दा आज त्यो मूल्य झन्डै २२४ डलर हुन्छ । त्यसैले अहिलेको परिस्थिति झन भयावह बन्न सक्ने संकेत देखिएको छ । अक्सफोर्ड विश्वविद्यालयका ऊर्जा विशेषज्ञ आदी इम्सिरोभिकका अनुसार प्रतिब्यारेल २०० डलर तेल मूल्य विश्व अर्थतन्त्रका लागि ठुलो ब्रेक सावित हुनेछ । ‘यसले मुद्रास्फीति, आर्थिक वृद्धि, रोजगारी सबैमा असर पार्नेछ र कतिपय अवस्थामा इन्धन मात्र होइन, मल, प्लास्टिकजस्ता वस्तुहरूको अभाव पनि हुन सक्छ,’ उनले भने ।
यद्यपि सबै विश्लेषकहरू यति निराशावादी छैनन् । लन्डनस्थित मारेक्सका ऊर्जा विश्लेषक साशा फोसले २०० डलर मूल्यलाई अलि अतिशयोक्तिपूर्ण ठानेका छन् । उनका अनुसार अमेरिका, क्यानडा, अर्जेन्टिना, ब्राजिल र गुयानाजस्ता देशहरूले उत्पादन बढाइरहेका छन्, जसले आपूर्ति सन्तुलनमा सहयोग पुयाउन सक्छ । त्यस्तै साउदी अरेबियाको पूर्व–पश्चिम पाइपलाइनजस्ता वैकल्पिक आपूर्ति मार्गहरूले पनि केही राहत दिन सक्ने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खिम्ती जलविद्युत् केन्द्रको स्वामित्व हस्तान्तरणका लागि प्राधिकरणद्वारा वार्ता समिति पुनर्गठन
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे आगामी बैठकमा विज्ञहरूसँग छलफल गर्ने संसदीय समितिको निर्णय
-
क्यान्सरका बिरामीलाई थप पीडा : किमोथेरापीमा प्रयोग हुने औषधि पाउनै सकस
-
भारतीय विदेशमन्त्री जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल भोलि भारत जाने
-
सन् २०२२ को जादु दोहोर्याउने लक्ष्यमा मोरक्को
-
एमालेको १० बुँदे संकल्प : एक संगठित सदस्य बराबर ३ जना नयाँ सदस्य (प्रस्तावसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण