कीर्तिनिधि विष्ट, अर्जुननरसिंह केसी र गगन थापा
सारांश
- कीर्तिनिधि विष्ट, बिपी कोइराला र अर्जुननरसिंह केसीबीचको सम्बन्धबारे लेखिएको सामग्री हो।
- अर्जुननरसिंह केसीको राजनीतिक यात्रा र नैतिकताको चर्चा गरिएको छ, जसमा गगन थापासँगको सम्बन्धको विश्लेषण गरिएको छ।
- लेखमा नेपालको राजनीतिमा नेताहरूलाई आरोप लगाउने प्रवृत्ति र यसले पार्ने असरबारे चर्चा गरिएको छ।
कीर्तिनिधि विष्टले राष्ट्र, राष्ट्रियता र राजनेताको कुरा गरिरहन्थे । उनको राष्ट्र नेपाल थियो, उनको राष्ट्रियता नेपाली थियो र उनका राजनेता महेन्द्र थिए । अनि त्यसपछि उनी बिपी कोइरालाको कुरा झिक्थे ।
वास्तवमा कोइराला र विष्ट धूमधामै मिल्थे । कोइरालाले ‘राजा, राष्ट्रियता र राजनीति’ नामक आफ्नो ग्रन्थमा कीर्तिबाबुबारे लेखे पनि— ‘केही मान्छे सोध्दछन्— यी विष्ट, जो तपाईँकहाँ बराबर आइराख्दछन्, उनको आउनुको के रहस्य छ ? बिहान डुल्ने बानी छ उनको, यतातिर डुल्दै आएका छन् भने मकहाँ आइपुग्दछन् । उनको राजनीति र मेरो राजनीतिमा मेल छैन ।’ मैले के भन्न खोजेको भने एउटा राजनीतिक सम्बन्ध हुन्छ, अर्को सामाजिक ! विष्टसँग मेरो राम्रो सामाजिक सम्बन्ध छ र उनको परिवारसँग पनि राम्रो सम्बन्ध छ । कुनै समारोहमा उनकी दुलहीले देखिन् भने पनि आएर मसँग कुरा गर्छिन् ।’
कीर्ति बाबुसित बिपी कोइरालाको प्रसङ्गमा आउने नाउँ थुप्रै थिए । खास गरेर त्यस बेलाका युवा पुस्ताका नेतामध्ये गिरिजाप्रसाद कोइराला, प्रकाश कोइराला, रामचन्द्र पौडेल र अर्जुननरसिंह केसीसित विष्टको गतिलै जानपहिचान थियो । पछिल्ला दिनमा अर्जुननरसिंह केसीचाहिँ गगन थापाका ससुरा बनेपछि कीर्तिबाबुले भन्थे — ‘मलाई अर्जुनले पञ्च भनेर कहिले काढेनन् । अर्जुन भनेका अरूहरूजस्ता राजनीतिज्ञ होइनन् । उनीमा राजनेतामा हुने प्रचुर गुण छन् ।’ अनि अलिक पछि फेरि कीर्ति बाबुले भनेका थिए— ‘अर्जुनका ज्वाइँ त ज्वाइँ नै हुन्; ज्वाइँ पनि तिक्खर रहेछन् ।’
अर्जुननरसिंह केसीको सिद्धान्त कट्टर कांग्रेसी भए तापनि उनी नैतिकताका एउटा खम्बै मानिन्छन् । वास्तविकतामा उनी निर्भीक थिए र अझै त्यस्तै देखिन्छन् । उदाहरणका लागि भन्ने हो भने उनले कीर्ति बाबुका सन्दर्भमा लेखेको मैले पढेको थिएँ— ‘कीर्तिबाबुलाई सिद्धान्त, राजनीति र पदले भन्दा पनि व्यक्तिगत व्यवहार, सद्भावना, स्पष्टवादिता र स्नेहपूर्ण सम्बन्धले म सम्झिने गर्छु । राम्रो या नराम्रो जे भए पनि आफूले लिएको पक्ष र निष्ठामा अन्तिम घडीसम्म जुन इमानदारी र समर्पणका साथ कीर्तिबाबु उभिए, त्यो आत्मविश्वास र अडानको मानवीय धर्मलाई चाहिँ मैले सराहना गरेको छु । कीर्तिबाबु पञ्चायतकालीन राजनीतिमा धेरै वर्ष सत्तामा रहे तर नैतिकता र इमानदारीबाट विमुख बनेर भ्रष्टाचारजस्ता विवादमा परेको कहिल्यै सुनिएन ।’
कीर्ति बाबुको झैँ सिद्धान्तका लखपतिमा अर्जुननरसिंह केसीको पनि नाउँ आइरहन्छ । राजनैतिक सिद्धान्त कै कुरा गर्ने हो भने पनि उनी पञ्चायतको ‘प’सित पनि लडाइँ गर्न खोज्थे । उनको युवावस्थामा उनी कोइला खाएर खरानी निकाल्थे । त्यसैबारेको उनले लेखेको लेख मैले पढेको थिएँ— ‘२०२२ सालमा म हाईस्कुलको पढाइ सकेर कलेजको विद्यार्थी थिएँ । साथै त्यस बेला म पञ्चायत व्यवस्था विरोधी क्रान्तिकारी प्रजातन्त्रवादी कार्यकर्ता पनि थिएँ । हाईस्कुलको जीवनमै विद्रोही राजनीतिको जग बसेको मेरा गतिविधिहरू कलेज तहमा पुग्दा अझ परिपक्व, निर्भीक र व्यापक भइसकेका थिए । त्यस बखत म अमृत साइन्स कलेजमा आईएस्सीको विद्यार्थी थिएँ, भर्खरै प्रवेश गरेको तर राजनीतिक बन्दी भएपछि विज्ञानको अध्ययनमा मैले निरन्तरता दिन सकिनँ । हामी केही न केही गरिरहेका हुन्थ्यौँ, जसले तत्कालीन पञ्चायती सत्तालाई सताउने क्रियाकलाप हुन पुग्थ्यो । हामी देशभरिका विद्यार्थीहरूको बृहत् सम्मेलन काठमाडौँमा गर्ने तयारीमा थियौँ। त्यो बेला कीर्तिबाबु मन्त्रिपरिषद्को उपाध्यक्ष, परराष्ट्र र शिक्षामन्त्री थिए ।’
अर्जुननरसिंह केसीले आफूलाई जेजसरी दलीय राजनीतिको हस्तीमा रूपान्तरित गदै आए तापनि सिद्धान्तप्रति उनको मोहले कहिले डाँडो काटेन । उनी बज्र भएर नेपाली कांग्रेसमा लागेको तथ्य मैले कीर्ति बाबुबाटै पनि सुनिसकेकै थिएँ । त्यसैले त्यस्ता विशिष्ट कौशलको घडाले भरिएका विपक्षी धारका नेतालाई पनि म राजावादी नरेन्द्रराज प्रसाईले नैतिक शिक्षाका सबल गुरू भन्न मलाई रहर लागेकै हो । त्यस बेलाको उनको दृष्टिकोणका शब्दले अझै मेरो डायरी रङ्गिएकै छ— ‘नेपाल विद्यार्थी सङ्घको स्थापनाभन्दा अघि प्रजातन्त्रवादी विद्यार्थीहरूका भौगोलिक क्षेत्रमा विभिन्न विद्यार्थी सङ्घहरू थिए । यी विद्यार्थी सङ्गठनहरू पञ्चायती शासनको दमनलाई प्रतिरोध गर्न २०२२ सालमा भएको व्यापक धरपकड र दमनको परिणामस्वरूप गठन भएका थिए । त्यो बेलाको विद्यार्थी आन्दोलनमाथि कठोर धरपकड तथा दमन कहालीलाग्दो थियो । २०२२ वैशाख ५ गते सम्पन्न गर्न तत्कालीन अखिल नेपाल विद्यार्थी सम्मेलनको प्रथम राष्ट्रव्यापी तयारी चल्दै गर्दा त्यसलाई असफल बनाउन पञ्चायती शासनले विद्यार्थीहरूमाथि व्यापक खोजी, धरपकड र दमन गर्यो । विद्यार्थीवयका पाँच जना सँगै हिँड्दा पनि प्रहरीको नजर वा पिछा लागिहाल्थ्यो । पार्टीका माथिल्ला सबै नेताहरू कि जेलमा थिए कि त भारत निर्वासनमा थिए । हामी विद्यार्थीहरूले उक्त सम्मेलन आयोजना गरी विद्यार्थी सङ्घ, सङ्गठन खोल्न पाउनुपर्नेलगायतका शैक्षिक मागहरू एजेन्डाका रूपमा अगाडि ल्याएका थियौँ। खोजीखोजी गरिएको धरपकड यति व्यापक भयो कि बन्दी विद्यार्थीहरूलाई जेलमा राख्ने ठाउँ नभएर प्रहरीचौकी, थाना, गोदाम, खोर, नेता सुवर्ण शमशेरको बालुवाटारस्थित घर(ललिता निवास)का छिँडीजस्ता ठाउँमा समेत राखिएको थियो । व्यापक दमनले गर्दा सम्मेलन नै हुन पाएन तर त्यसले विभिन्न भौगोलिक क्षेत्रमा उक्त विद्यार्थी सङ्गठनहरूको स्थापना जरुरी बनायो ।’
त्यति बेलाको यो नेपाली कांग्रेसको इतिहास गगन थापाको ससुराको थियो या बिपी कोइरालाका अनन्य कार्यकर्ताको थियो ? त्यस बेलाको कांग्रेसी धर्म निभाएका केसीलाई यति बेला गगन थापाको ससुरा भनेर चेपुवामा पार्ने तुक के हो ? त्यति खेरको इतिहास आज मेरा आँखामा फेरि उदय भएको छ । त्यस बेलाको कुरा केसीले लेखेकै थिए— ‘हाम्रो तयारी सरकारले भताभुङ्ग बनाइदिएपछि शिक्षामन्त्री रहेका कीर्तिबाबुले कुनै एक दिनको सामाजिक कार्यक्रममा परैबाट उच्च स्वरमा बोल्ने आफ्नो मौलिक शैलीका साथ मेरो पाखुरा समातेर भने— ‘ए अर्जुनबाबु ! तपाईं उज्ज्वल भविष्य बोकेको मेधावी र होनहार विद्यार्थी हो भन्ने रिपोर्ट मैले पाएको छु । के मिल्छ पढाइ बिगारेर नचाहिँदो काम गर्दा ? गाउँबाट बुबाआमाले कत्रो दुक्ख र मेहनत गरेर भरोसाका साथ पढ्न पठाएका छन् ! यहाँ बसेर हल्लाखल्ला गर्ने होइन, म कोलम्बो प्लानबाट इन्डियामा पढ्न पठाइदिन्छु । पढ्न जाने ?’ उनको आश्वासनअनुरूप म पढ्न त गइनँ तर त्यो संवेदनशील र अनपेक्षित प्रस्तावले मेरो अन्तस्करणमा आजसम्म नै सकारात्मक छाप पारेको छ । मलाई उनले दिएको सो आश्वासनमा कुनै स्वार्थ र सर्त देखिन्नथ्यो । तर मैले पनि मेरो धर्म छाडिन र पार्टीका लागि गर्दन ओछ्याएर नै हिँडिरहेँ ।’केसीमासबल, उच्च र दृढ नैतिकता भएका कारण उनले कीर्ति बाबुप्रति आफ्ना अक्षर त्यसरी खापेका थिए ।
ज्वाइँ गगन थापा दलका सभापति भएपछि केसीलाई हिलो छ्याप्नेहरूलाई एउटा कुरा सोध्न मलाई मन लागेको छ । २०२६ सालमा केसी नेपाल विद्यार्थी सङ्घको अध्यक्ष हुँदा रामचन्द्र पौडेल, शेरबहादुर देउवा आदि उनका सक्रिय कार्यकर्ता थिए कि थिएनन् ? तर आज मात्र केसी गगनका ससुरा भएर राजनीतिमा उभिएका हुन त ? त्यसबेलादेखि यसबेलासम्म उनको राजनीतिक निष्ठा खरानीको डल्ला बनाउन मान्छेहरू किन धुरिएका छन् ? उनी प्रधानमन्त्री नहुनुको तात्पर्यले उनलाई सधैँ घँचेडी रहनु हो र ? यदि यो कुरा साँचो हो भने गणेशमान सिंह, विश्वबन्धु थापा, राजेश्वर देवकोटा र साहना प्रधानलाई पनि एकएक जनाको नातेदार पारेर लखेटिरहनु पर्ने नै भएन त !
यहाँ कसले के भन्न खोजेको हो ? ससुरा अर्जुननरसिंह केसीले आफ्नो रक्तकणमा टाँसिएको नेपाली कांग्रेस नै परित्याग गर्नुपर्ने अथवा ज्वाइँ गगन थापाले नै कांग्रेस परित्याग गर्नुपर्ने हो ? गगन थापा ज्वाइँ हुनुको अभिसापका रूपमा केसीले कांग्रेसको पदीय दायित्व निर्वाह गर्नु नहुने भाष्य कसरी शाश्वत हुन सक्छ ?
हुनत हाम्रो नेपालमा देश र राष्ट्रियता आफ्ना काँधमा बोक्ने राजनैतिक शीर्ष नेतृत्वलाई एउटा न एउटा अत्तो थापेर पछार्ने, तिनको तेजोवध गर्ने र नसके वध नै पनि गर्ने पुरातन प्रक्रिया नौलो पनि त होइन । त्यसैले राष्ट्रवादी कित्ता सम्हालेर अहिलेसम्म सग्लो उभिइरहेका अर्जुननरसिंह केसीमाथि अरू केही अत्तो थाप्न नपाएपछि ‘गगन ससुरा’ प्रकरणमा मुछ्नु पनि खासै अनौठो हुँदै होइन । तर यसरी देश चोखिँदैन, देशको राजनीतिक अवस्था झन्झन् बिटुलिँदै जानेछ भन्ने कुरा भने सम्बन्धित सबैले बुझ्न म अति जरुरी देख्छु ।
नत्र त नेपालको राजनीतिमा बिरालालाई बाँदरले केही खानै दिँदैन । त्यो त नेपालको वर्तमान राजनैतिक अवस्थामा देखिँदो पनि छ नै !
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण