मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय
खेलाडी

अलिसा हिली : आईसीसी प्रतियोगिताकी महारानी

शनिबार, ०७ चैत २०८२, १० : ००
शनिबार, ०७ चैत २०८२

सारांश

  • अस्ट्रेलियाली महिला क्रिकेट टोलीकी कप्तान अलिसा हिलीले १६ वर्षको अन्तर्राष्ट्रिय क्रिकेट यात्रालाई बिराम दिएकी छिन्।
  • हिलीले ६ पटक टी-२० विश्वकपको उपाधि जितेकी छिन्, र एकदिवसीय विश्वकप र कमनवेल्थ गेम्समा स्वर्ण पदक पनि जितेकी छिन्।
  • हिलीले ब्याटिङ र विकेटकिपिङ दुवैमा कीर्तिमान बनाइन्, र महिला क्रिकेटमा ब्याटिङ शैलीलाई पुनपरिभाषित गरिन्।

अस्ट्रेलियाली महिला क्रिकेट टोलीकी कप्तान तथा आक्रामक प्रारम्भिक ब्याटर अलिसा हिलीले आफ्नो १६ वर्ष लामो अन्तर्राष्ट्रिय क्रिकेट यात्रालाई बिराम दिएकी छिन्। भारतविरुद्ध वाका मैदानमा हुने एकमात्र टेस्ट खेल उनको खेल जीवनको अन्तिम अन्तर्राष्ट्रिय खेल थियो।

१६ वर्षको यो लामो अवधिमा हिलीले अस्ट्रेलियाका लागि ब्याटिङमा मात्र होइन, विकेटपछाडि पञ्जा लगाएर पनि अतुलनीय योगदान दिएकी छिन्। हिलीको करियर सफलताको शिखरमा थियो।

उनले आफ्नो करियरमा ६ पटक टी-२० विश्वकपको उपाधि जितेकी छिन्, जुन कुनै पनि खेलाडीका लागि अहिलेसम्मकै सबैभन्दा बढी हो। यसका साथै उनले एक पटक एकदिवसीय विश्वकप र कमनवेल्थ गेम्समा ऐतिहासिक स्वर्ण पदक पनि जितेकी छिन्। उनको बिदाइले विश्व क्रिकेटमा एउटा ठूलो रिक्तता छोड्ने निश्चित छ।

Alyssa Healy 5

  • दुई भागमा विभाजित करियर : सन् २०१७ को त्यो मोड

अलिसा हिलीको खेल जीवनलाई सन् २०१७ अघि र २०१७ पछिको समय गरी दुई भागमा हेर्न सकिन्छ। सन् २०१७ को एकदिवसीय विश्वकपअघिसम्म हिली टोलीको तल्लो क्रममा ब्याटिङ गर्थिन्। तत्कालीन मुख्य प्रशिक्षक म्याथ्यु मोटले उनलाई ओपनिङ ब्याटिङमा बढुवा गर्ने निर्णय गरे, जुन निर्णयले हिलीको मात्र होइन, अस्ट्रेलियाली क्रिकेटकै भाग्य बदलिदियो।

ओपनिङमा आउनुअघि हिलीले ४१ ओडीआई इनिङ्समा मात्र ४९५ रन र दुईवटा अर्धशतक बनाएकी थिइन्। तर ओपनिङमा बढुवा भएपछि उनले ७३ इनिङ्समा ८ शतक र १७ अर्धशतकसहित ३२८२ रन प्रहार गरिन्। यो तथ्याङ्कले उनी ओपनिङका लागि नै जन्मिएकी हुन् भन्ने प्रमाणित गर्छ।

Alyssa Healy 4

टी-२० अन्तर्राष्ट्रियमा पनि कथा उस्तै छ। सन् २०१७ सम्म उनले कहिलेकाहीँ ओपनिङ गरे पनि उनको प्रदर्शन औसत मात्र थियो। ५८ इनिङ्समा मात्र दुई अर्धशतक बनाएकी हिलीले त्यसपछिका ८५ इनिङ्समा १५ अर्धशतक बनाइन्।

सन् २०१९ मा उनले श्रीलंकाविरुद्ध अविजित १४८ रन बनाइन्, जुन त्यस समयमा महिला टी-२० अन्तर्राष्ट्रियको सर्वोच्च व्यक्तिगत स्कोर थियो। आज पनि विकेटकिपरको रूपमा यो यस फर्म्याटको सर्वोच्च स्कोर हो।

  • ब्याटिङ र स्ट्राइक रेटमा दबदबा

महिला टी-२० अन्तर्राष्ट्रियमा ३००० भन्दा बढी रन बनाउने विश्वका १४ खेलाडीमध्ये हिली एक हुन्। तर उनको विशेषता के हो भने, ती १४ खेलाडीमध्ये उनको स्ट्राइक रेट (१२९.७९) सबैभन्दा उच्च छ। कम्तीमा २००० रन बनाउने खेलाडीहरूको सूचीमा उनी दोस्रो स्थानमा छिन्।

विकेटकिपर-ब्याटरको रूपमा उनको तथ्याङ्क अझ लोभलाग्दो छ। उनले टी-२० मा २७५६ रन विकेटकिपर-ब्याटरको रूपमा बनाएकी छिन्, जुन एक विश्व कीर्तिमान हो। एकदिवसीय क्रिकेटमा उनले यस भूमिकामा ३४२० रन बनाएकी छिन्, जुन सारा टेलर (३८१३ रन) पछि दोस्रो स्थानमा पर्छ।

यद्यपि, एकदिवसीयमा विकेटकिपरको रूपमा ७ शतक प्रहार गर्ने उनी पहिलो महिला खेलाडी हुन्। सबै फर्म्याट मिलाएर हेर्दा उनले विकेटकिपर-ब्याटरको रूपमा ६६३१ रन र ८ शतक प्रहार गरेकी छिन्, जुन महिला क्रिकेटको इतिहासमा कीर्तिमान हो।

Alyssa Healy 6

  • विकेटपछाडिको जादु: पञ्जाको कमाल

ब्याटिङमा जस्तै विकेटकिपिङमा पनि हिली उत्तिकै प्रभावशाली छिन्। उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट २६९ शिकारसहित बिदा लिँदैछिन्, जुन महिला क्रिकेटमा सबैभन्दा बढी हो। टी-२० अन्तर्राष्ट्रियमा उनले १२६ पटक ब्याटरलाई आउट गराएकी छिन् । यसमा ६३ क्याच र ६३ स्टम्पिङ समावेश छन्, जुन दुवै विधामा विश्व कीर्तिमान हो। टी-२० मा १०० भन्दा बढी शिकार गर्ने उनी एक मात्र विकेटकिपर हुन्।

सबै फर्म्याट मिलाएर हिलीले १०३ स्टम्पिङ गरेकी छिन्। उनी सारा टेलर (१०४) भन्दा मात्र एक कदम पछि छिन्। क्याचको मामलामा पनि उनी १६६ क्याचसहित त्रिसा चेट्टी (१७५) पछि दोस्रो स्थानमा छिन्। भारतविरुद्धको टेस्ट उनको २९९औँ अन्तर्राष्ट्रिय खेल थियो, जसमध्ये २७३ खेलमा उनले विकेटकिपरको भूमिका निर्वाह गरेकी छिन्।

अस्ट्रेलियाली टोलीको नेतृत्व गर्दै उनले ६१ खेलमा कप्तानी गरिन्। कप्तान र विकेटकिपर दुवै भूमिकामा रहँदा उनले १७२८ रन बनाइन्। यस भूमिकामा उनीभन्दा बढी रन बंगलादेशकी निगार सुल्ताना (१८०८) ले मात्र बनाएकी छिन्।

Alyssa Healy 3

  • ठुला मञ्चकी महारानी: विश्वकपका अविश्वसनीय इनिङ्स

अलिसा हिलीलाई सधैं ठुला खेलकी खेलाडीको रूपमा चिनिनेछ। सन् २०१७ को ब्याटिङ अर्डर परिवर्तनपछि उनले आईसीसीका हरेक ठुला प्रतियोगितामा आफूलाई प्रमाणित गरिन्।

सन् २०१८ को टी-२० विश्वकपमा उनी प्लेयर अफ द टूर्नामेन्ट भइन्। उनले खेलेका ५ इनिङ्समध्ये ४ पटक ‘प्लेयर अफ द म्याच’ अवार्ड जितेकी थिइन्, जुन अर्को एउटा कीर्तिमान हो।

सन् २०२० को टी-२० विश्वकपको फाइनलमा भारतविरुद्ध मेलबर्न क्रिकेट ग्राउन्डमा ८६ हजार दर्शकका सामु उनले ३९ बलमा ७५ रनको विस्फोटक इनिङ्स खेलिन्, जसले अस्ट्रेलियालाई च्याम्पियन बनायो।

उनको करियरको सबैभन्दा ठूलो क्षण सन् २०२२ को एकदिवसीय विश्वकपमा आयो। उनले सेमिफाइनल र फाइनल दुवैमा शतक प्रहार गरिन्, जुन उपलब्धि हासिल गर्ने उनी क्रिकेट इतिहासकै पहिलो खेलाडी हुन्।

फाइनलमा इङ्ल्यान्डविरुद्ध उनले बनाएको १७० रन कुनै पनि विश्वकप फाइनल (पुरुष वा महिला) को सर्वोच्च व्यक्तिगत स्कोर हो। ओडीआई विश्वकपमा उनले ४ शतक प्रहार गरेकी छिन्, जुन नाट सिभर-ब्रन्ट (५ शतक) पछि दोस्रो हो।

रोचक कुरा त के छ भने, विश्वका अन्य सबै विकेटकिपरहरूले मिलेर महिला विश्वकप इतिहासमा जम्मा एउटा मात्र शतक बनाएका छन्, जबकि हिली एक्लैका ४ शतक छन्।

उनको प्रदर्शन विश्वकपमा कति उच्च रहन्थ्यो भन्ने कुरा यो तथ्याङ्कले स्पष्ट पार्छ । सन् २०१९ पछि विश्वकपका १४ इनिङ्समा उनको औसत ६२.१५ रह्यो भने अन्य खेलमा मात्र ३५.००। टी-२० विश्वकपमा उनको औसत ४१.०० रह्यो भने अन्य खेलमा केवल १९.८१। यसले उनी दबाबपूर्ण र ठुला खेलमा अझ बढी निखारिने गरेको देखाउँछ।

Alyssa Healy 2

  • निरन्तरताको प्रतिमूर्ति

हिलीको अर्को पाटो उनको शारीरिक फिटनेस र खेलप्रतिको समर्पण हो। जनवरी २०१३ देखि डिसेम्बर २०२२ सम्म अस्ट्रेलियाले खेलेका लगातार १०७ टी-२० खेलमा उनी सहभागी थिइन्। कुनै पनि टोलीका लागि (पुरुष वा महिला) लगातार १०० भन्दा बढी टी-२० खेल्ने उनी एक मात्र खेलाडी हुन्।

सबै फर्म्याट मिलाएर उनले फेब्रुअरी २०१६ देखि डिसेम्बर २०२२ सम्म लगातार १४५ अन्तर्राष्ट्रिय खेल खेलिन्। महिला क्रिकेटमा उनीभन्दा बढी लगातार खेल मिग्नन डु प्रिज (१६७) र मिथाली राज (१४६) ले मात्र खेलेका छन्।

  • अन्तिम खेल र एउटा आदर्श अन्त्य

आफ्नो अन्तिम ओडीआई खेलमा उनले ९८ बलमा १५८ रनको आक्रामक इनिङ्स खेलिन्। आफ्नो अन्तिम खेलमा कुनै पनि महिला खेलाडीले बनाएको यो सर्वोच्च स्कोर हो। उनले आफ्नो ओडीआई करियर १००.६९ को उत्कृष्ट स्ट्राइक रेटका साथ अन्त्य गरिन्। १०० भन्दा माथिको स्ट्राइक रेटमा ३००० भन्दा बढी रन बनाउने उनी ओडीआई इतिहासकै एक मात्र महिला ब्याटर हुन्।

Alyssa Healy

  • अलिसा हिलीको विरासत

अलिसा हिलीले केवल रन बनाइनन् वा विकेट लिन मद्दत गरिनन्, उनले महिला क्रिकेटमा ब्याटिङ गर्ने शैली र विकेटकिपरको भूमिकालाई नै पुनपरिभाषित गरिन्। उनको आक्रामक स्वभाव, निडर ब्याटिङ र विकेटपछाडिको चपलताले धेरै युवा खेलाडीहरूलाई प्रेरित गरेको छ।

अस्ट्रेलियाली क्रिकेटको सुनौलो इतिहास लेख्दा अलिसा हिलीको नाम सबैभन्दा माथिल्लो पङ्क्तिमा आउनेछ। भारतविरुद्धको वाकामा हुने अन्तिम टेस्टसँगै उनी मैदानबाट बिदा हुनेछिन्, तर उनले बनाएका कीर्तिमानहरू र क्रिकेटमा देखाएको जादु वर्षौँसम्म खेल प्रेमीहरूको मानसपटलमा रहिरहनेछ। एक महान् च्याम्पियनलाई हार्दिक बिदाइ!

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सम्पथ भद्राउपल्ली
सम्पथ भद्राउपल्ली
लेखकबाट थप