मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

आईपीएल : चोटका कारण कुन टिमका को–को खेलाडी खेल्ने छैनन् ?

आइतबार, ०८ चैत २०८२, ११ : ४२
आइतबार, ०८ चैत २०८२

सारांश

  • इन्डियन प्रिमियर लिग (आईपीएल) सुरु हुन अघि खेलाडी चोटका कारण विभिन्न टिममा समस्या देखिएको छ।
  • कोलकाता, हैदरावाद, राजस्थान, र चेन्नईका खेलाडी चोटका कारण प्रतियोगितामा खेल्न असमर्थ हुने भएका छन्।
  • पञ्जाबका लोकी फर्ग्युसनले सुरुवाती खेल गुमाउनेछन् भने दिल्लीका मिचेल स्टार्कको सहभागिता अनिश्चित छ।

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिता सुरु हुन केही दिनमात्र बाँकी छ । टी–२० प्रारुपको यो प्रतियोगितालाई लिएर क्रिकेट प्रेमी निकै उत्साहित छन् ।

आईपीएलका विभिन्न टिम यतिबेला आफ्ना खेलाडीको स्वास्थ्य अवस्थालाई लिएर चिन्तित छन् । विभिन्न टिमका कैयौँ खेलाडी चोटका कारण खेल्न असमर्थ हुने भएका छन् ।

  • कोलकाता नाइट राइडर्स

कोलकाता नाइट राइडर्सका तीन खेलाडी घाइते छन् । आकाश दीप चोटका कारण खेल्न असमर्थ हुने भएका छन् । यस्तै हर्षित राणा पनि यो प्रतियोगिताभर उपलब्ध नहुने भएका छन् । उनको हालै घुँडाको शल्यक्रिया भएको छ ।

मतीशा पथिराना पनि घाइते छन् । यद्यपि उनी अप्रिल महिनाको मध्यतिर खेल्न सक्ने आकलन गरिएको छ । उनी विश्वकपका प्रतियोगिताका क्रममा घाइते भएका थिए ।

  • सनराइजर्स हैदरावाद

सनराइजर्स हैदरावादका कप्तान पाट कमिन्स पनि घाइते छन् । उनको पिठ्युँमा समस्या रहेको जनाइएको छ । यद्यपि प्रतियोगिताको मध्यतिर उनी टिममा सामेल हुने सम्भावना औँल्याइएको छ ।

ज्याक एडवर्डस् पनि खुट्टामा लागेको चोटका कारण यो सिजन खेल्न असमर्थ हुने भएका छन् ।

  • राजस्थान रोयल्स

राजस्थान रोयल्सका अलराउन्डर खेलाडी साम करन चोटका कारण यो सिजन खेल्न असमर्थ हुने भएका छन् । उनी टी–२० विश्वकपकै क्रममा घाइते भएका थिए ।

यस्तै जोश हेजलउड पनि प्रारम्भिक केही खेलमा अनुपस्थित रहने भएका छन् । उनी अहिले पुनरागमनको तयारीमा छन् ।

  • चेन्नई सुपर किङ्ग्स

चेन्नई सुपर किङ्ग्सका तीव्र गतिका बलर नाथन एलिस यो सिजन खेल्न नसक्ने अवस्थामा छन् । उनी घाइते भएर यो सिजनकै लागि उपलब्ध नहुने गरी टिमबाट बाहिरिएका छन् ।

  • दिल्ली क्यापिटल्स

दिल्ली क्यापिटल्सका मिचेल स्टार्क पनि आफ्नो फ्रेन्चाइजी टिममा कहिले आवद्ध हुन्छन् भन्ने प्रस्ट भइसकेको छैन । क्रिकेट अस्ट्रेलिया आफ्नो व्यस्त क्यालेन्डरलाई ध्यानमा राख्दै स्टार्कको ‘वर्क लोड’माथि विचार गरिरहेको छ ।

  • पञ्जाब किङ्ग्स

पञ्जाब किङ्ग्सका लोकी फर्ग्युसनले सुरुवाती केही खेल गुमाउने छन् । हालै पुत्रलाभ गरेका उनले केही समय घर र परिवारलाई दिने घोषणा गरेका छन् । उनको ‘फिटनेस’मा कुनै समस्या छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप