सुदूरपश्चिम प्रदेश सभाको ठुलो दल बनेसँगै नेकपाले सरकारमा दाबी गर्ला ?
सारांश
- सुदूरपश्चिम प्रदेश सभामा नेकपा सबैभन्दा ठूलो दल बनेको छ, जसले सरकार परिवर्तनको प्रयास थालेको छ।
- नेकपाले मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाउँदै सात दिनभित्र हिउँदे अधिवेशन बोलाउन अल्टिमेटम दिएको छ।
- नेकपाले सरकार जनउत्तरदायी नभएको, भ्रष्टाचार बढेको र विकास निर्माणका काम ठप्प पारेको आरोप लगाएको छ।
धनगढी । सुदूरपश्चिम प्रदेश सभामा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सबैभन्दा ठुलो दल बनेको छ । विभिन्न दलबिच एकता भएर बनेको नेकपासँग ५३ सदस्यीय प्रदेश सभामा २२ सांसद छन् ।
प्रदेशमा हाल नेपाली कांग्रेसको नेतृत्वमा सरकार छ । कांग्रेस र एमालेबिचको गठबन्धनमा रहेको सरकार कायम रहन्छ वा विकल्प खोजिन्छ भन्नेबारे बहस सुरु भएको छ ।
पछिल्लो राजनीतिक समीकरण अनुसार माओवादी केन्द्रका सभामुखसहित ११ जना, नाउपाका ७ जना र एकीकृत समाजवादीका ४ जना गरी कुल २२ जना सांसद नेकपामा छन् । पुस १४ गते रञ्जिता श्रेष्ठ नेतृत्वको नाउपासँगको एकता सहमतिले यो शक्तिलाई थप बलियो बनाएको हो । यद्यपि, एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घ सोडारी निलम्बनमा परेका कारण हाल नेकपाका २१ सांसद कायम छन् ।
यो सङ्ख्या प्रदेश सभामा रहेका अन्य दलको तुलनामा सबैभन्दा धेरै हो । हाल सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेससँग १८ सिट छ भने सत्ता साझेदार नेकपा एमालेसँग ११ सिटमात्रै छ । राप्रपा र स्वतन्त्रको एक–एक सिट छ ।
पहिले स्वतन्त्रबाट जितेका डा. ताराप्रसाद जोशी रास्वपामा प्रवेश गरी प्रतिनिधि सभामा निर्वाचित भएपछि प्रदेश सभाको एक सिट भने रिक्त छ ।
प्रदेशको ठुलो दल बनेपछि नेकपाले आफ्नो सक्रियता बढाएको छ । नेकपाका संसदीय दलका नेता खगराज भट्टले हालै मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाउँदै सात दिनभित्र प्रदेश सभाको हिउँदे अधिवेशन बोलाउन अल्टिमेटम दिएका छन् । सरकारले जनसरोकारका मुद्दामा ध्यान नदिएको, भ्रष्टाचार बढेको र संसद्लाई छलेर अगाडि बढेको भन्दै नेकपा रुष्ट देखिएको छ ।
खगराज भट्टका अनुसार सरकारले विकास निर्माणका काम ठप्प पारेको छ भने बजेट कार्यान्वयनको अवस्था निकै कमजोर छ । ‘हामीले सात दिनको समय दिएका छौँ । यदि सरकारले नियमित अधिवेशन बोलाएन भने हामी विशेष अधिवेशनको माग गर्छौँ,’ भट्टले चेतावनी दिँदै भने ।
उनले मुख्यमन्त्रीमाथि लागेका भ्रष्टाचारका आरोपहरूको छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने माग पनि अघि सारेका छन् ।
नेकपाले मुख्यमन्त्रीमाथि नै भ्रष्टाचारको गम्भीर आक्षेप लागेको र सरकार आफ्ना कार्यकर्ता पोस्न नियुक्तिहरूमा मात्र केन्द्रित भएको आरोप लगाएको छ । कानुन निर्माणको काम ठप्प हुनु र प्रदेश सभामा दर्ता भएका विधेयकहरू अगाडि नबढ्नुले सरकारको नियतमाथि प्रश्न उठेको नेकपाको ठहर छ ।
‘जनतामा अहिलेको सरकारप्रति चरम आक्रोश छ । मुख्यमन्त्रीजीले छानबिनका लागि सहजीकरण गर्नुपर्छ, नत्र हामी कडा कदम चाल्न बाध्य हुनेछौँ,’ भट्टले भने ।
यसै विषयमा प्रदेश सभा सदस्य ओमविक्रम भाटले कम्युनिस्ट पार्टीहरूबिचको एकतालाई स्वागत गर्दै अबको बाटो ‘आत्ममन्थन’को हुनुपर्ने बताएका छन् । भाटका अनुसार निर्वाचनको परिणामले कम्युनिस्ट आन्दोलन कमजोर भएको देखाएको छ । त्यसैले सत्ताको खेलभन्दा पनि जनताको विश्वास जित्नु अहिलेको आवश्यकता रहेको उनले प्रस्ट पारेका छन् ।
‘राजनीतिमा सरकार फेरबदल हुनु सामान्य प्रक्रिया हो, अहिले हाम्रो प्राथमिकता सरकार परिवर्तन मात्र होइन,’ भाटले भने, ‘हामी चाहन्छौँ कि सरकार जनउत्तरदायी होस्, भ्रष्टाचार नियन्त्रण होस् र विकासका काम अघि बढुन् ।’
उनले कम्युनिस्ट पार्टीहरू विभाजित हुँदा जनताको गुनासो बढेको स्वीकार गर्दै नयाँ शिराबाट अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् ।
नेकपा संसदीय दलका नेता खगराज भट्टको भनाइलाई आधार मान्ने हो भने सुदूरपश्चिममा सरकार परिवर्तनको प्रयास सुरु भएको छ । ‘अहिलेको सरकारको कार्यशैली सुधारिएन भने हामी अविश्वासको प्रस्तावसम्म जान सक्छौँ,’ उनले भने ।
भट्टका अनुसार अहिलेको सरकार प्राविधिक रूपमा टिकेको देखिए पनि जनताको नजरमा यो ढलिसकेसरह छ ।
यद्यपि ओमविक्रम भाट भने तत्कालै सरकार ढलिहाल्ने कुरामा अलि संयमित देखिन्छन् । ‘अहिले एमाले–कांग्रेसको गठबन्धनसँग बहुमत छ । त्यसैले हतारिएर सरकार ढाल्ने खेलमा लाग्नुभन्दा पनि सदनमार्फत दबाब दिने हाम्रो नीति हो ।’ यद्यपि, राजनीतिमा भोलि जे पनि हुन सक्ने उनले प्रस्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण