‘गगन थापाको अनुहार गलत समयमा एक्स्पोज गर्दा पार्टीलाई अपूरणीय क्षति भयो’
सारांश
- कांग्रेस नेता श्याम घिमिरेले पार्टीको हारको कारण आन्तरिक कलह र विशेष महाधिवेशनको विवादलाई औंल्याए।
- उनले चुनावको मुखमा नेताहरू विशेष महाधिवेशनको विषयमा अल्झिएको र यसले जनतामा नकारात्मक सन्देश गएको बताए।
- घिमिरेका अनुसार, पार्टीले आगामी चुनावका लागि गगन थापालाई अगाडि सार्न नसकेकोमा चिन्ता व्यक्त गरे।
नेपाली कांग्रेसका नेता श्याम घिमिरेले हालै सम्पन्न निर्वाचनमा पार्टीले व्यहोर्नुपरेको लज्जास्पद पराजयको मुख्य जड पार्टीभित्रको आन्तरिक कलह र विशेष महाधिवेशनको विवाद भएको दाबी गरेका छन् । उनले निर्वाचनको मुखमा पार्टीभित्र भएको शक्ति सङ्घर्षले जनतामा नकारात्मक सन्देश गएको र त्यसैको परिणामस्वरूप कांग्रेस खुम्चिन पुगेको विश्लेषण गरेका हुन् ।
घिमिरेका अनुसार चुनावको तयारीमा लाग्नुपर्ने समयमा कांग्रेसका नेताहरू पाँच महिनासम्म ‘विशेष महाधिवेशन कि नियमित महाधिवेशन’ भन्ने प्राविधिक र कानुनी लडाइँमा अल्झिएका थिए । विशेष महाधिवेशनको नाममा जे–जस्ता गतिविधि भए, त्यसले पार्टीको वैधानिकतामाथि नै प्रश्न उठाएको उनको भनाइ छ ।
निर्वाचन आयोगले नयाँ नेतृत्वलाई आधिकारिकता दिए पनि पार्टीको ठूलो हिस्साले त्यसलाई स्वीकार गर्न नसक्नु नै पराजयको बीउ भएको उनको तर्क छ । यसै सन्दर्भमा न्युज एजेन्सी नेपालले घिमिरेसँग गरेको कुराकानीको सम्पादित अंश :
- अघिल्लो महाधिवेशनले तय गरेको केन्द्रीय समितिको बैठक बोलाउने निर्णय भयो भन्ने समाचार आएको छ, के यो सत्य हो ?
त्यस विषयमा मलाई कुनै औपचारिक जानकारी छैन । मेरो विचारमा आधिकारिक रूपमा बैठक बोलाउने निर्णय भएको छैन । तर, अहिले साथीहरू अत्यन्तै अन्योलपूर्ण अवस्थामा हुनुहुन्छ । पार्टी नराम्रोसँग पराजित भएको छ । १४औँ महाधिवेशनबाट निर्वाचित भएर केन्द्रीय समितिमा रहेका एकथरी साथीहरू अहिले भूमिकाविहीन भएर बसिरहेको अवस्था छ । यस्तो बेला केही गर्नुपर्छ भन्ने आवाज त उठेको छ, तर आधिकारिक रूपमा केन्द्रीय समितिको औपचारिक बैठक नै बोलिहाल्ने स्थिति भइसकेको छैन । राजनीतिमा अनौपचारिक भेटघाट र सम्पर्क त भइ नै हाल्छ ।
- नेपाली कांग्रेसको विशेष महाधिवेशन भएको कुरा तपाईंलाई थाहा छ कि छैन ?
विशेष महाधिवेशनको नाममा जे–जस्तो भयो, त्यसको परिणाम हामीले भोगिसक्यौँ । चुनावको मुखमा हामी पाँच महिनासम्म ‘विशेष कि नियमित महाधिवेशन’ भनेर झगडा गरिरह्यौँ । यो झगडाले पार्टीको समग्र एकता खल्बल्यायो र जनतामा पनि नराम्रो सन्देश गयो, जुन पराजयको मुख्य कारण बन्यो । गगनजीको नेतृत्वमा पार्टी अगाडि बढ्दा निकै राम्रो परिणाम आउँछ भन्ने जुन विश्वास थियो, त्यो विश्वासको धरातल पनि टुटेको छ ।
सबभन्दा ठूलो क्षति त के भयो भने, अर्को निर्वाचनका लागि हामीले गगनजीको अनुहार देखाएर ठूलो जनमत सङ्ग्रह गर्न सक्थ्यौँ । उहाँ हाम्रो लागि आशाको अनुहार हुनुहुन्थ्यो, तर हामीले उहाँलाई अनावश्यक समयमा ‘एक्स्पोज’ गर्यौँ । यो कांग्रेसका लागि अपूरणीय क्षति हो । अब यो क्षतिलाई कसरी पुनर्जीवित (रिभाइभ) गर्ने र कसरी व्यवस्थापन गर्ने भन्ने हाम्रा लागि ठूलो चुनौतीको विषय हो ।
- विशेष महाधिवेशन अवैधानिक हो भन्ने मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ, यस्तो अवस्थामा हुने चलखेलले मुद्दालाई असर गर्दैन ?
मेरो बुझाइमा अहिले अदालतको निर्णय कुर्नु नै सबैभन्दा उपयुक्त विकल्प हो । नेपालको अदालतले समयमा न्याय नदिने र औचित्य सकिएपछि मात्र फैसला गर्ने परिपाटीका कारण केही विश्वास गुमाएको छ । जनविश्वास आर्जन गर्न अदालतले यो अभ्यास सुधार्नुपर्छ र यथाशीघ्र फैसला दिनुपर्छ । अदालतको फैसलापछि मात्र पार्टी एउटा निष्कर्षमा पुग्छ । त्यसपछि जसले जिते पनि पार्टीलाई एकजुट बनाएर लैजानुको विकल्प छैन ।
विगतमा २०१५ सालमा बीपी, सुवर्णजी र सूर्यप्रसाद उपाध्यायका फरक समूह भए पनि मिलेरै टिकट बाँडिएको थियो । २०४८ देखि २०७९ सम्मका निर्वाचनमा पनि गिरिजाप्रसाद, किसुनजी, गणेशमानदेखि देउवा-पौडेलसम्मले शक्ति सन्तुलन मिलाएरै चुनाव लडेका थिए । तर, २०८२ को निर्वाचनमा भने एकलौटी ढङ्गले टिकट बाँडियो । निवर्तमान सभापति शेरबहादुर देउवासँग समेत समन्वय गरिएन । उहाँले चुनाव लड्छु भन्दाभन्दै टिकट दिइएन । पार्टीभित्रको यो तितो यथार्थलाई स्वीकार गर्नुपर्छ । नेतृत्व बाहिरबाट आउँदैन, पार्टीभित्रैबाट आउने हो, त्यसैले सबैलाई समेटेर जानुपर्छ ।
- अहिले विशेष महाधिवेशनबाट आएको केन्द्रीय समितिको बैठक बसिरहेको छ, यसले नियमित महाधिवेशन गर्ने निर्णय गर्यो भने देउवा पक्षलाई के असर पर्छ ?
नियमित महाधिवेशनमा जानु त बाध्यता र आवश्यकता दुवै हो । भोलि अदालतले पुरानै केन्द्रीय समितिलाई ब्युँताइदियो भने पनि वा वर्तमान समितिले नै गराए पनि नियमित महाधिवेशन हुनै पर्छ । जुन पक्षले जिते पनि पार्टीभित्र एकता कायम गरेर महाधिवेशनमा गइयो भने मात्र हामी सफल हुन्छौँ र अर्को चुनावका लागि तयार हुन सक्छौँ । होइन, ‘मैले जितिहालेँ, अब मेरै मात्र चल्छ’ भन्ने अहङ्कार राखियो भने अर्को निर्वाचनमा कांग्रेस अझै खुम्चिने सम्भावना रहन्छ ।
- नियमित महाधिवेशनको घोषणा गरियो भने समानान्तर अभ्यास त गरिरहनु परेन नि ?
समानान्तर अभ्यास गरिरहनु पर्दैन । महाधिवेशनको प्रक्रिया सुरु भएपछि आ-आफ्नो समूहलाई जिताउन वैचारिक समूहहरूको अभ्यास सुरु भइहाल्छ, जुन स्वाभाविक हो । त्यसले पार्टीभित्र दुईवटा समानान्तर शक्ति केन्द्र खडा गर्नुपर्ने अवस्था रहँदैन । तर, यदि कुनै पक्षले अर्को पक्षलाई पन्छाएर वा ओझेलमा पारेर हिँड्न खोज्यो भने समानान्तर गतिविधिहरू हुन सक्छन्, जसले आजको भन्दा ठूलो क्षति पुर्याउनेछ । अदालतको फैसला अघि अनौपचारिक छलफल हुनु बेग्लै कुरा हो, तर औपचारिक रूपमा कुनै पनि ठोस क्रियाकलाप गर्नु अहिले उचित हुँदैन भन्ने मेरो बुझाइ हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण