बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
खेलकुद

एन्फा र राखेपबिच आरोप-प्रत्यारोपको शृङ्खला जारी

सोमबार, ०९ चैत २०८२, १० : ०१
सोमबार, ०९ चैत २०८२

सारांश

  • एन्फा र राखेपको विवादका कारण नेपाल र हङकङबीचको मैत्रीपूर्ण फुटबल खेल अनिश्चित बनेको छ।
  • राखेपले समयमै स्वीकृति नदिँदा एन्फाले खेल स्थगित गर्यो, तर पछि स्वीकृति दिएको दाबी गरेको छ।
  • एन्फाले राखेपको प्रशासनिक कमजोरी लुकाउन खोजेको र गलत नियत राख्ने कर्मचारीलाई संरक्षण गरेको आरोप लगाएको छ।

काठमाडौँ । नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय खेलकुद परिषद् (राखेप) बिचको विवादका कारण नेपाल र हङकङबिच तय भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अनिश्चित बनेको छ । 

आगामी चैत १२ गते दशरथ रंगशालामा हुने भनिएको उक्त खेल राखेपले समयमै आधिकारिक स्वीकृति नदिएको भन्दै एन्फाले स्थगित गरेको हो । फिफा विन्डो अन्तर्गत सञ्चालन हुन लागेको यो खेल प्रशासनिक उल्झनमा परेपछि खेलप्रेमीहरू निरास बनेका छन् ।

एन्फाले जारी गरेको पछिल्लो प्रेस विज्ञप्ति अनुसार खेलका लागि आवश्यक स्वीकृति र मैदान उपलब्ध गराइदिन गत फागुन १० गते नै राखेपलाई पत्राचार गरिएको थियो । तर लामो समयसम्म परिषद्का तर्फबाट कुनै पनि लिखित जवाफ वा स्वीकृति प्राप्त नभएको एन्फाको दाबी छ ।

मैदान मर्मत, फ्लड लाइटको इन्धन, कर्मचारी भत्ता र स्कोर बोर्ड सञ्चालन जस्ता सबै आर्थिक तथा प्राविधिक दायित्व एन्फाले नै व्यहोर्दै आएको अवस्थामा पनि खेल सञ्चालनका लागि आधिकारिक अनुमति नपाउनु दुःखद भएको संघले उल्लेख गरेको छ ।

अन्तर्राष्ट्रिय खेलको तयारीका लागि समय निकै कम बाँकी रहेको र राखेपबाट अनिश्चितता मात्रै सिर्जना भएपछि एन्फा सचिवालयले हङकङ फुटबल संघलाई जानकारी गराउँदै खेल स्थगित गर्ने निर्णय लिएको थियो । तर एन्फाले खेल स्थगितको सूचना सार्वजनिक गरेलगत्तै राखेपले ‘स्वीकृति प्रदान गरिसकेको’ भनी अर्को विज्ञप्ति निकालेपछि विवादले नयाँ मोड लिएको छ । राखेपले चैत ५ गते नै पत्र काटेको दाबी गरे पनि उक्त पत्र चैत ८ गते मात्र सार्वजनिक हुनुले परिषद् प्रशासनको नियतमाथि एन्फाले गम्भीर प्रश्न उठाएको छ ।

एन्फा प्रवक्ता सुरेश शाहद्वारा जारी विज्ञप्तिमा राखेपले आफ्नो प्रशासनिक कमजोरी लुकाउन एन्फामाथि दोषारोपण गरेको आरोप लगाइएको छ । राखेपजस्तो जिम्मेवार निकायले आफ्नो प्रशासन चुस्त राख्नुको साटो गलत नियत राख्ने कर्मचारीलाई संरक्षण गरेको र हालसम्म पनि आफूहरूलाई आधिकारिक लिखित पत्र प्राप्त नभएको एन्फाले स्पष्ट पारेको छ । 

राष्ट्रिय गौरव र अन्तर्राष्ट्रिय सम्बन्धसँग जोडिएको खेलमा प्रशासनिक ढिलासुस्तीले निम्त्याएको यो असहज परिस्थितिप्रति एन्फाले सम्पूर्ण फुटबल समर्थकहरूसँग क्षमा समेत मागेको छ ।

655876912_1247117490914067_1038111967569030602_n654437582_1247117494247400_6046621956864959794_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप