राना थारू समुदायमा परम्परागत पहिरन लगाउने चलन लोप हुँदै
कञ्चनपुर । सुदूरपश्चिमका कैलाली र कञ्चनपुर जिल्लामा बसोबास गर्ने राना थारू समुदायका महिलाले प्रयोग गर्ने परम्परागत गहना र पहिरन लगाउने चलन घट्दै जान थालेको छ । आधुनिक गहना, बजारमा पाइने कपडा र जीवनशैलीमा आएको परिवर्तनका कारण परम्परागत पहिरन र गहनाको प्रयोग घट्दै गएको हो ।
शुक्लाफाँटा नगरपालिका–१२ कालागौँडीकी ६० वर्षीया सोमती रानाका अनुसार पहिले महिलाहरूले घरमै हातले बुनेका घघँरिया, अँगिया, फतुई, उढनिया लगायतका पहिरन लगाउने गर्थे । त्यसबेला महिलाले शिरदेखि पाउसम्म चाँदीका गहनाले सजिने चलन थियो । कपालमा चाँदीको चाँपी, कानमा वीर, नक्बेसर, नाकमा नथुनी, घाँटीमा चाँदीका पैसाले बेरेको कालो धागो, त्यसको तल कठुला, हसुला र सकरगरेला लगाउने चलन रहेको उनले बताइन् ।
“पाखुरामा लगौरा, नाडीमा पहुँची, औँलामा कलात्मक औँठी, कम्मरमा सिक्री भएको कैँधनी, पैतलामाथि ढुन्नी, त्यसको तल पैँडा र पायल लगाउने गरिन्थ्यो” उनले भनिन्, “घाँटीमा कण्ठ, गरिया र घिच्ची लगाउने प्रचलन पनि रहेको थियो ।”
परम्परागत पहिरन र गहना लगाएकी महिलालाई पहिले समाजमा सम्मानका साथ हेर्ने गरिन्थ्यो । “टाउकामा उढनिया, गलामा हार र कण्ठसिरीमाला, छातीमा फतुई, कम्मरमा घघँरिया र खुट्टामा पैँडा लगाएकी महिलालाई सभ्य, संस्कारयुक्त र प्रतिष्ठित महिलाका रूपमा लिने गरिन्थ्यो,” चन्द्रमती रानाले भनिन् ।
फुलमती रानाका अनुसार पहिले पुरुष र महिलाको पहिरन स्पष्ट रूपमा परम्परागत थियो । अहिले पुरुषले पुरानो पहिरन लगाउन छाडिसकेका छन् भने महिलाको पहिरनमा पनि आधुनिकताको प्रभाव देखिन थालेको छ ।
“राना थारू समुदायमा प्रयोग हुने धेरै गहना चाँदीका हुने गर्थे” उनले भनिन्, “ती गहना केवल सौन्दर्यका लागि मात्र नभइ सामाजिक प्रतिष्ठा, आर्थिक अवस्था र सांस्कृतिक पहिचानसँग पनि जोडिएका थिए, विवाह, पर्व, पूजा, नाचगान तथा विशेष अवसरमा महिलाले अनिवार्य रूपमा ती गहना र परम्परागत पहिरन लगाउने गर्थे ।”
उनका अनुसार पहिले घरमै कपडा र धागो तयार गरी पहिरन बनाउने चलन थियो । महिलाहरू आफैँले पहिरन तयार गर्ने गर्थे । अहिले बजारमा पाइने कपडा प्रयोग गर्न थालिएपछि घरमा कपडा तयार गर्ने परम्परा पनि हराउँदै गएको छ । यससँगै परम्परागत पहिरन पनि विस्तारै हराउँदै गएको स्थानीय बुढापाकाको भनाइ छ ।
परम्परागत गहना बनाउने कालिगढको सङ्ख्या घट्नु पनि अर्को कारण रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
-
गर्मीमा कति दिनसम्म सुरक्षित रहन्छ अन्डा ?
-
युरोपलाई रूसी तेल र ग्यास जरूरी : क्रेमलिन
-
जसाेतसाे सत्ता जाेगाए सुदूरपश्चिमका मुख्यमन्त्री शाहले
-
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्याे उपेन्द्र यादवको पक्षमा फैसला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण