बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

ब्रह्माण्डकै सबैभन्दा पुरानामध्येको एक तारा फेला

सोमबार, ०९ चैत २०८२, १२ : ०६
सोमबार, ०९ चैत २०८२

सारांश

  • चिलीमा खगोलविद्हरूले १० अर्ब वर्ष पुरानो तारा फेला पारेका छन्, जुन 'पिक्टर टू' नामक सानो आकाशगंगाभित्र रहेको छ।
  • वैज्ञानिकहरूले 'पिकटू–५०३' नाम दिइएको यो तारालाई दोस्रो पुस्ताको ताराको रूपमा वर्गीकरण गरेका छन्, जसमा फलामको मात्रा निकै कम छ।
  • यो ताराले ब्रह्माण्डमा कार्बन कसरी फैलियो र पृथ्वीमा जीवनको विकास कसरी भयो भन्ने रहस्य बुझ्न मद्दत गर्नेछ।

चिली । खगोलविद्हरूले ब्रह्माण्डकै सबैभन्दा पुराना र दुर्लभमध्येको एक तारा फेला पारेका छन्। चिलीस्थित भिक्टर एम. ब्लान्को टेलिस्कोपमा जडान गरिएको ‘डार्क इनर्जी क्यामेरा’ ले खिचेको एउटा तस्बिरमा १० अर्ब वर्षभन्दा पुरानो ‘पिक्टर टू’ नामक सानो आकाशगंगा (ड्वार्फ ग्यालेक्सी) भित्र यो प्राचीन तारा फेला परेको हो।

‘पिकटू–५०३’ नाम दिइएको यो तारालाई वैज्ञानिकहरूले ‘पपुलेसन टू’ अर्थात् दोस्रो पुस्ताको ताराका रूपमा वर्गीकरण गरेका छन्। ब्रह्माण्डको उत्पत्ति भएको सुरुवाती चरणमा बनेको हुनाले यसमा फलाम जस्ता भारी तत्त्वहरूको मात्रा अत्यन्तै कम छ। 

हाम्रो सूर्यको तुलनामा यस तारामा फलामको मात्रा ४० हजार गुणा कम पाइएको छ। तर, फलामको कमी भए पनि यो तारामा कार्बनको मात्रा भने अकल्पनीय रूपमा धेरै छ। अनुसन्धानकर्ताका अनुसार यसमा सूर्यको तुलनामा कार्बन र फलामको अनुपात १५ सय गुणा बढी छ।

FnN7BYDAdN9G4U73E6njRU-700-80.jpg

खगोलविद्हरूले यस तारालाई ‘स्टेलर आर्कियोलोजी’ अर्थात् ताराहरूको पुरातत्व अध्ययनका लागि एउटा महत्त्वपूर्ण कडीका रूपमा लिएका छन्। धेरैजसो पुराना ताराहरू आफ्नो जन्मथलोभन्दा धेरै टाढा पुगिसकेका हुन्छन्, जसका कारण उनीहरूको उत्पत्तिको बारेमा अध्ययन गर्न कठिन हुन्छ। तर ‘पिकटू–५०३’ अझै पनि आफ्नै पुरानो आकाशगंगाभित्रै रहेकाले वैज्ञानिकहरूलाई आफ्ना सिद्धान्तहरू परीक्षण गर्न सजिलो भएको छ।

ताराको अन्त्य हुने बेलामा हुने भयानक ‘सुपरनोभा’ विष्फोटका कारण ताराको बाहिरी तहमा रहेको हल्का कार्बन अन्य तत्त्वहरूभन्दा धेरै टाढासम्म उछिट्टिन्छ भन्ने वैज्ञानिकहरूको अनुमानलाई यस ताराको बनावटले बल पुर्‍याएको छ। यही प्रक्रियाका कारण ब्रह्माण्डभरि कार्बन फैलिएको र अन्ततः पृथ्वीमा जीवनको मुख्य आधारका रूपमा स्थापित भएको हुनसक्ने देखिएको छ। 

यो खोजले ब्रह्माण्डमा जीवनका लागि आवश्यक तत्वहरू कसरी बने र फैलिए भन्ने रहस्य सुल्झाउन मद्दत गर्ने विश्वास गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप