शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
क्रिकेट

सुदूरपश्चिमका क्रिकेटर अभिषेक पाल, जसले मैदानलाई नै बनाएका छन् ठेगाना

सोमबार, ०९ चैत २०८२, १५ : ३७
सोमबार, ०९ चैत २०८२

सारांश

  • अभिषेक पाल, सुदूरपश्चिम प्रदेशको क्रिकेट टोलीका ओपनर ब्याट्सम्यान, राष्ट्रिय टोलीमा स्थान बनाउन चाहन्छन्।
  • उनले १० वर्षदेखि क्रिकेट खेल्दै आएका छन् र चोटका कारण २ वर्ष मैदान बाहिर रहँदा मानसिक रूपमा कठिन अनुभव गरे।
  • अहिले उनी प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिमको प्रतिनिधित्व गरिरहेका छन् र राष्ट्रिय टोलीमा छनोट हुने आशा राख्छन्।

धनगढी । सुदूरपश्चिम प्रदेशको क्रिकेट टोलीमा ओपनिङ ब्याट्सम्यानको भूमिकामा देखा पर्ने जुझारु क्रिकेटर अभिषेक पाल राष्ट्रिय टोलीमा सामेल हुने सपना सजाएर मैदानमा उत्रिने गरेका छन् । केही दिनअघि धनगढीको फाप्ला क्रिकेट मैदानमा भेटिएका उनले राष्ट्रिय टोलीमा खेल्ने आफ्नो सपना रहेको बताए ।

धनगढी उपमहानगरपालिका–२, मिलनचोकका अभिषेकले ब्याट समात्न थालेको १० वर्ष पूरा भइसकेको छ । एक दशकदेखि उनी काँधमा खेल सामग्रीको झोला बोकेर र हातमा क्रिकेट ब्याट समातेर निरन्तर मैदान धाइरहेका छन् ।

सुदूरपश्चिम प्रदेशमा संघर्षरत क्रिकेटरहरूमध्ये उनी एक उदाउँदो खेलाडीका रूपमा चिनिन्छन् । उनको क्रिकेट यात्राको सबैभन्दा बलियो पक्ष भनेकै निरन्तरता हो । उनी सधैँ अभ्यास गर्न मैदानमा पुग्छन् ।

‘मेहनत कति गर्छु भनेर शब्दमा भन्न गाह्रो हुन्छ,’ अभिषेकले भने, ‘तर यति भन्न सक्छु– वर्षका ३६५ दिनमध्ये सायद एक हप्तामात्रै होला म मैदानमा नपुगेको । बिरामी हुँदा वा अत्यावश्यक काम पर्दा बाहेक मेरो ठेगाना क्रिकेट मैदान नै हो ।’

क्रिकेटमा बिताएका यी १० वर्षमा अभिषेकले धेरै उतारचढाव भोगेका छन् । उनको करियरको सबैभन्दा कठिन समय त्यतिबेला आयो, जुन बेला अभ्यासकै क्रममा उनको हात भाँचियो । चोटका कारण उनी झन्डै दुई वर्षसम्म मैदान बाहिर बस्न बाध्य भए ।

त्यो दुई वर्ष उनका लागि मानसिक रूपमा अत्यन्त चुनौतीपूर्ण थियो । एकातिर खेलबाट टाढिनुपरेको पीडा, अर्कोतिर फेरि पुरानै लयमा फर्कन सकिन्छ कि सकिँदैन भन्ने चिन्ता । उनले हार भने मानेनन् ।

उपचारपछि उनी झन् दृढ आत्मविश्वासका साथ मैदान फर्किए । दुई वर्षपछि फर्किंदा उनको ब्याटिङमा परिपक्वता थपिएको देखियो ।

अभिषेक सुदूरपश्चिम प्रदेशको टोलीबाट राष्ट्रियस्तरका प्रतियोगितामा सहभागी हुँदै आएका छन् । हालसम्म उनले प्रदेशको प्रतिनिधित्व गर्दै सातभन्दा बढी ठुला राष्ट्रिय प्रतियोगिता खेलिसकेका छन् ।

अहिले मधेस प्रदेशमा सञ्चालन भइरहेको प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगितामा पनि उनी सुदूरपश्चिमको ओपनिङ ब्याटिङ सम्हालिरहेका छन् । हालै सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल) मा पनि उनी सुदूरपश्चिम रोयल्सको ‘ट्यालेन्ट हन्ट’बाट छनोट भएका थिए ।

टोलीमा परे पनि अन्तिम–११ मा स्थान नपाउनुलाई अभिषेकले ‘भाग्यको खेल’का रूपमा लिएका छन् ।

१० वर्षको निरन्तर मेहनत र सातभन्दा बढी राष्ट्रिय प्रतियोगिता खेलेका भए पनि राष्ट्रिय टोलीमा स्थान बनाउन भने उनी अझै सफल भएका छैनन् । यद्यपि यसले उनको आत्मविश्वास भने घटाएको छैन ।

‘मेरो काम भनेको मैदानमा उत्कृष्ट प्रदर्शन गर्नु र निरन्तर मेहनत गर्नु हो,’ अभिषेकले भने, ‘छनोट हुनु वा नहुनु धेरै प्राविधिक पक्षमा निर्भर हुन्छ । मलाई विश्वास छ– मेरो पनि समय आउनेछ । देशको जर्सी लगाएर अन्तर्राष्ट्रिय मैदानमा उत्रिने सपना अझै जीवित छ ।’

अभिषेकका अनुसार सफलताको कुनै ‘सर्टकट’ हुँदैन । हरेक अभ्यास र हरेक खेलले उनलाई केही न केही सिकाइरहेको छ । यही सिकाइ र अनुभवले उनलाई लक्ष्यतर्फ अघि बढाइरहेको छ ।

क्रिकेटसँगै उनले आफ्नो पढाइलाई पनि सँगसँगै अघि बढाइरहेका छन् । हाल उनी धनगढीको एसपिए कलेजमा स्नातक तहमा अध्ययनरत छन् । ‘खेलाडी सधैँ अनुशासित र सचेत हुनुपर्छ,’ उनले भने, ‘र त्यसमा शिक्षाले महत्त्वपूर्ण भूमिका खेल्छ ।’

उनको क्रिकेट यात्राको सुरुवाती दिनमा परिवारको साथ भने त्यति बलियो थिएन । छोराले खेलमा लागेर पढाइ बिगार्छ कि भन्ने चिन्ता परिवारलाई थियो । अहिले अवस्था फेरिएको छ ।

अभिषेकले प्रदेशबाट राष्ट्रियस्तरमा खेल्न थालेपछि परिवारको विश्वास र साथ दुवै बढेको छ ।

अहिले उनलाई सबैभन्दा ठुलो हौसला नै परिवारबाट मिलिरहेको छ । परिवारको यही साथ र आफ्नै निरन्तर मेहनतका कारण उनी भविष्यमा राष्ट्रिय टोलीमा स्थान बनाउने आशामा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सविता बुढा
सविता बुढा
लेखकबाट थप