सम्झनामा केशव दाइ– अर्थका विज्ञ, मेरा अभिभावक
सारांश
- केशव आचार्यको निधन भएको खबरले लेखक मर्माहत भएका छन्, उनी राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक थिए।
- आचार्य ७२ वर्षको उमेरमा पनि आर्थिक क्षेत्रमा सक्रिय थिए, र उनीसँगको भेट दुई हप्ताअघि मात्र भएको थियो।
- लेखकका अनुसार, आचार्य एक कुशल अर्थशास्त्री र मौद्रिक क्षेत्रका विज्ञ थिए र उनले राष्ट्र बैंक र देशको अर्थतन्त्रमा ठूलो योगदान दिए।
आज बिहानै एउटा अप्रत्याशित र दुःखद खबर सुन्नुपर्यो– आदरणीय केशव आचार्य दाइ हामीबिच रहनुभएन । यो खबर सुन्ने बित्तिकै मेरा आँखाअगाडि उहाँको त्यो शालीन अनुहार, हँसिलो स्वभाव र राष्ट्र बैंकका ती पुराना दिनहरू झल्झली नाच्न थाले । उहाँसँगको मेरो सम्बन्ध केवल एउटा सहकर्मीको मात्र थिएन, उहाँ मेरो अग्रज, मेरो मार्गदर्शक र एउटा अभिभावक हुनुहुन्थ्यो ।
उहाँ ७२ वर्षको उमेरमा पनि आर्थिक क्षेत्रमा उत्तिकै सक्रिय हुनुहुन्थ्यो । दुई हप्ताअघि मात्रै एउटा संस्थाको बैठकमा उहाँसँग मेरो भेट भएको थियो । उहाँ अझै धेरै समय हाम्रो अर्थतन्त्रको दिशा र दशाबारे बहस गर्न सक्षम हुनुहुन्थ्यो, तर आज अचानक उहाँको निधनको खबर सुन्दा मर्माहत भएको छु ।
राष्ट्र बैंकदेखिको त्यो सुमधुर यात्रा
मेरो र केशव दाइको चिनजान २०४६ सालदेखिको हो । म २०४६ सालमा नेपाल राष्ट्र बैंकमा नयाँ अधिकृतको रूपमा प्रवेश गर्दा उहाँ अलरेडी त्यहाँ द्वितीय श्रेणी (सेकेन्ड क्लास) को वरिष्ठ अधिकृत हुनुहुन्थ्यो । उहाँ अनुसन्धान विभागमा कार्यरत हुनुहुन्थ्यो । त्यतिबेला नै उहाँ आफ्नो समूह र साथीभाइको सर्कलमा निकै बौद्धिक र प्रभावशाली व्यक्तिको रूपमा चिनिनुहुन्थ्यो । उहाँ पछि कार्यकारी निर्देशक भएपछि राष्ट्र बैंकबाट रिटायर्ड हुनुभएको हो ।
मैले उहाँलाई पहिलोपटक देख्दा उहाँमा जुन किसिमको गम्भीरता र अध्ययनशीलता थियो, त्यसले मलाई निकै प्रभावित पारेको थियो । राष्ट्र बैंकभित्र अर्थशास्त्रको ज्ञातामध्ये त्यतिबेला उहाँकै नाम पहिले आउँथ्यो । उहाँका लेखहरू, उहाँले प्रस्तुत गर्ने तर्कहरू र आर्थिक मुद्दामा उहाँको स्पष्ट दृष्टिकोणले हामीजस्ता जुनियरहरूलाई सधैँ केही न केही नयाँ कुरा सिक्न प्रेरित गर्थ्यो ।
मैले उहाँसँग एउटै विभागमा बसेर प्रत्यक्ष काम गर्ने मौका त पाइनँ, तर राष्ट्र बैंकको प्रतिनिधित्व गरेर जाने विभिन्न समिति र फोरमहरूमा हामी सधैँ सँगै हुन्थ्यौँ । उहाँ विभागीय प्रमुख हुँदा होस् वा अन्य पदमा रहँदा, उहाँको कार्यशैली सधैँ प्रशंसनीय रह्यो ।
मौद्रिक र आर्थिक क्षेत्रका विज्ञ
केशव दाइलाई मैले सधैँ एक कुशल अर्थशास्त्री र मौद्रिक क्षेत्रको विज्ञका रूपमा चिनेँ । विशेष गरी मोनिटरी सेक्टरमा उहाँको दक्खल अद्भुत थियो । मूल्य स्थिरता, वैदेशिक मुद्रा सञ्चिति, बाह्य क्षेत्र सन्तुलन, ब्याजदर र आन्तरिक आर्थिक स्थायित्वका विषयमा उहाँसँग छलफल गर्नु भनेको कुनै विश्वविद्यालयको कक्षा लिनुजस्तै हुन्थ्यो ।
उहाँले राष्ट्र बैंकमा मात्र होइन, समग्र देशको अर्थतन्त्रलाई दिशा दिन ठुलो भूमिका खेल्नुभयो । रामशरण महत र युवराज खतिवडा अर्थमन्त्री हुँदा अर्थ मन्त्रालयमा आर्थिक सल्लाहकारको रूपमा काम गर्नुभएको थियो । उहाँ एक पटक काजमा र अर्को पटक अवकाशपछि पनि सल्लाहकारको रूपमा जानुभएको हो । त्यतिबेला सरकारले ल्याएका कतिपय लोकप्रिय र प्रभावकारी आर्थिक कार्यक्रमहरूको जगमा केशव दाइकै बौद्धिक योगदान थियो ।
उहाँले केवल राष्ट्र बैंकलाई मात्र आधुनिक बनाउन भूमिका खेल्नुभएन, वित्तीय क्षेत्रको सुधार र भुक्तानी प्रणालीलाई व्यवस्थित गर्ने काममा पनि उहाँको विज्ञता सधैँ काम लाग्यो ।
हाकिम होइन, अभिभावक र साथी
केशव दाइको व्यक्तित्वको सबैभन्दा सुन्दर पक्ष भनेको उहाँको शालीनता र सादा जीवन थियो । उहाँ कहिल्यै ‘हाकिम’ बन्नुभएन । उहाँ सधैँ टिम वर्कमा विश्वास गर्नुहुन्थ्यो । उहाँले सधैँ जुनियरहरूको विचार सुन्नुहुन्थ्यो, उनीहरूलाई प्रोत्साहन दिनुहुन्थ्यो । एउटा कार्यालयको प्रमुख भएर बस्दा पनि उहाँले कहिल्यै कसैलाई दबाब महसुस गराउनुभएन ।
उहाँसँग हामीले खुलेर आफ्ना कुरा राख्न सक्थ्यौँ । कुनै विषयमा अस्पष्टता भयो भने उहाँसँग सोध्न हिचकिचाउनु पर्दैनथ्यो । उहाँले जतिसुकै जटिल विषयलाई पनि निकै सरल ढङ्गले बुझाइदिनुहुन्थ्यो । उहाँमा रहेको त्यो आत्मीयता र मित्रताकै कारण हामीले उहाँलाई कहिल्यै आफूभन्दा टाढाको ठुलो मान्छे ठानेनौँ ।
रसिलो र ठट्टा गर्ने स्वभाव
बाहिरबाट हेर्दा उहाँ जति गम्भीर अर्थशास्त्री देखिनुहुन्थ्यो, भित्र उत्तिकै रसिलो र हँसमुख हुनुहुन्थ्यो । औपचारिक बैठकहरूमा उहाँ निकै कडा र तर्कपूर्ण कुरा गर्नुहुन्थ्यो, तर जब लन्च ब्रेक वा चिया खाने समय हुन्थ्यो, उहाँको ठट्टा र रमाइलोले माहोल नै बदलिदिन्थ्यो । उहाँ साथीभाइबिच जोक सुनाउन र हसाउन निकै सिपालु हुनुहुन्थ्यो । अफिसको तनावलाई कसरी व्यवस्थापन गर्ने र माहोललाई कसरी हल्का बनाउने भन्ने कला उहाँमा थियो ।
उहाँको त्यो ‘सेन्स अफ ह्युमर’ ले नै गर्दा उहाँ जोसँग पनि छिट्टै घुलमिल हुन सक्नुहुन्थ्यो । उहाँमा कुनै इगो वा दम्भ थिएन ।
त्यो अन्तिम भेट...
अस्ति भर्खरै मात्र ग्रामीण विकास बैंकको कार्यक्रममा हामी सँगै थियौँ । उहाँको सक्रियता र ऊर्जा देखेर दङ्ग परेको थिएँ । ७२ वर्षको उमेरमा पनि उहाँको स्मरणशक्ति र विषयवस्तुमाथिको पकड उस्तै थियो । उहाँले अझै केही नयाँ काम गर्ने सोच बनाइरहनुभएको थियो ।
तर, आज उहाँको निधनको खबरले मलाई निःशब्द बनाएको छ । नेपालले आज एक सच्चा अर्थशास्त्री र बौद्धिक व्यक्तित्व गुमाएको छ । हामीले एक अभिभावक गुमाएका छौँ । राष्ट्र बैंकको इतिहास लेखिँदा केशव आचार्य दाइको नाम सधैँ अग्रपङ्क्तिमा आउनेछ ।
(लेखक नारायण पौडेल नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक हुन्)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण