बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
क्षयरोग दिवस

बेलैमा चिनौँ, लुकेको क्षयरोग

मङ्गलबार, १० चैत २०८२, ११ : ४८
मङ्गलबार, १० चैत २०८२

सारांश

  • आँखा, घाँटी र आन्द्रासहित शरीरका विभिन्न अंगमा क्षयरोग लाग्न सक्ने विभिन्न घटनाहरू प्रस्तुत गरिएको छ।
  • २०८०/८१ मा फोक्सो बाहेकको क्षयरोगका ३९ हजार १५१ बिरामी देखिएको र जनचेतनाको कमीले रोग पहिचानमा समस्या रहेको उल्लेख छ।
  • नेपालमा क्षयरोग दिवस मनाइँदै, सरकारी अस्पतालबाट निःशुल्क औषधि र सन् २०५० सम्म क्षयरोग अन्त्य गर्ने लक्ष्य राखिएको छ।

मैले आँखा अस्पतालमा काम गर्ने बेला भेटेका सिन्धुपाल्चोकका दाजु रमेश चुँदाली (नाम परिवर्तन गरिएको) धेरै ठाउँमा जचाउन जानु भएछ। तर ठीक हुनुको सट्टा आँखा झन्–झन् धमिलो हुँदै गएपछि उहाँ हामीकहाँ आइपुग्नु भयो। हामीकहाँ पनि लामो समय र खर्च गरी धेरै थरी जाँचपश्चात् रोग पत्ता लाग्यो– आँखाको क्षयरोग।

त्यसपछि चुँदाली दाजुले अचम्म मान्दै सोध्नु भयो, ‘डाक्टर सा’ब, आँखाको क्षयरोग पनि हुन्छ र?’

त्यस्तै ३१ वर्षीया सानो जिउडालकी एक महिला। गत वर्ष उनको बालक दुई वर्षको हुँदादेखि उनी दिन दुई गुणा रात चौगुणा झन्–झन् दुब्लाउँदै जान थालिन्। उनको घट्दै गरेको तौललाई धेरैले बच्चाले दुःख दिएरै हो भन्ने अड्कल काटेर टारिरहे।

तर, तौल घट्ने क्रम रोकिएन, हुँदा–हुँदा घाँटीको छेउतिर सानो मासुको गिर्खा आयो। उनी नजिकैको औषधि पसलमा गएर घाँटी सङ्क्रमणको औषधि ल्याउँछिन्। तर औषधिले काम नगरेपछि उनी नाक, कान, घाँटी रोग विशेषज्ञकोमा पुग्छिन्।

चिकित्सकले रगत जाँच, घाँटीको अल्ट्रासाउन्ड, एफ.एन.ए.सी. र मन्टोक्स जाँच गरेपछि पत्ता लाग्यो– ग्ल्यान्डुलर अर्थात् ग्रन्थीको क्षयरोग। ती महिलाले पनि सोधिन्, "डाक्टर, घाँटीको पनि क्षयरोग हुन्छ र?"

आफ्नी १२ वर्षकी छोरी कयौँ उपचार गर्दा पनि निको नभएपछि उसको बाँच्ने आशा मारेर एउटा परिवार झारफुकतर्फ लाग्छ। तर, त्यसले पनि काम नगरेपछि आमा रुँदै छोरी बोकेर अन्तिम पटक भनेर अस्पताल गइन् र उनकी छोरीलाई आन्द्राको क्षयरोग लागेको पत्ता लाग्यो।

माथिका उदाहरणहरू त्यस्ता उदाहरण हुन्, जुन झट्ट मानिसले कल्पना गर्दैनन्। हिजोआज क्षयरोगका विभिन्न प्रकारहरू देखिएका छन्। यसबारे हामी बेलैमा सचेत हुन जरुरी छ।

नेपाल सरकारको आर्थिक वर्ष २०८०/८१ को तथ्याङ्क अनुसार ३९ हजार १५१ क्षयरोगका बिरामीमा फोक्सोभन्दा बाहेकको टिबी देखियो। १० हजार ७९१ जनाको रोग निदान भइसकेको तथ्याङ्कमा उल्लेख गरिएको छ। यो २७ प्रतिशत हुन आउँछ।

रोग लागेपछि पाइने शारीरिक, मानसिक र सामाजिक दुःखको मापन प्रतिशतमा गर्न सकिँदैन। प्रतिशतमा कमी, रोगको निदान हुन लाग्ने समयका कारण पनि थोरै देखिएको हो। तर, हाम्रो समाजमा फोक्सोभन्दा बाहेकको क्षयरोगबारे धेरैलाई थाहै छैन। जनचेतनाको अभावमा धेरैले रोगको पहिचान गर्न नसकी दुःख पाएको अवस्था छ। हामीलाई पनि यसबारे धेरै थाहा नभएको हुन सक्छ।

फोक्सो, आँखा, नाक, कान, मुटु, कलेजो, मासु, हड्डी आदि शरीरका सबै अङ्गमा क्षयरोग हुन सक्छ। नङ र कपालको क्षयरोगबारे विज्ञानले अहिलेसम्म थाहा पाएको छैन। फोक्सोको टिबीको लक्षण छिटो देखिने हुँदा प्रायलाई यसबारे मात्र थाहा भएको हो।

साँझपख ज्वरो आउनु, खोकी लाग्नु, तौल घट्दै जानु, भोक नलाग्नु आदि लक्षण देखिएमा त्यो फोक्सोसम्बन्धी टिबीका कारण हामीमध्ये धेरैजसोले बेलैमा उपचार खोज्छौँ। तर फोक्सोभन्दा बाहेकको टिबी जटिल, गम्भीर र हामी धेरैलाई थाहा नभएको विषयमध्ये पर्छ। "आँखाको टिबी पनि हुन्छ र?" भने जस्तै।

माथि दिइएका उदाहरणहरू उपचारमा खटिने चिकित्सकहरूले सुनिरहेकै प्रश्न हुन्। त्यसैले समयमै यसको अवस्थाबारे थाहा पाउन सकियो भने गम्भीर हुँदाहुँदै पनि यसको उपचार सम्भव छ। धैर्यपूर्वक यसको निदान गर्न सकिन्छ।

यसको लक्षण फरक–फरक हुने हुँदा जाँच्ने विधि पनि भिन्न–भिन्न हुन्छ। तर, औषधि भने अधिकांशमा एउटै हुन्छ। नेपाल सरकारबाट प्रदान गरिने, बच्चा जन्मनासाथ लगाइने अमृत बराबरको खोप (बीसीजी) यही क्षयरोगबाट बचाउनका लागि हो।

फोक्सोको टिबीको समयमै उपचार र शरीरमा लुकेर बसेको टिबीको समेत समयमै उपचार गरियो भने फोक्सोभन्दा बाहेकको टिबी रोक्न सकिन्छ। रोकथामसँगै उपचार पनि सम्भव छ। उपचार गर्दा औषधि लामो समय (कमतिमा पनि ६ महिना) खानुपर्ने हुन्छ।

यसमा खुसीको कुरा के छ भने नेपाल सरकारले क्षयरोगको औषधि सरकारी स्वास्थ्य संस्थाबाट निःशुल्क उपलब्ध गराउँछ।

यसै सन्दर्भमा प्रत्येक वर्ष झैँ आज २४ मार्चका दिन विश्व क्षयरोग दिवस मनाइँदै छ। ‘हो, हामी क्षयरोग अन्त्य गर्छौँ। राष्ट्रिय अभियान, हाम्रो योगदान’ भन्ने मूल नाराका साथ आज नेपालमा पनि क्षयरोग दिवस मनाइँदै छ।

क्षयरोग नेपालको पुरानो पुस्तादेखि नै थाहा भइरहेको रोग हो। तर फोक्सोभन्दा बाहेकको टिबीका बारे जनचेतना जगाउनु पनि यस दिवसको उद्देश्य हो। नेपालमा क्षयरोगको दर, मृत्यु दर र यसबाट हुने व्यक्तिगत खर्च निकै धेरै छ। हामी सबै मिलेर क्षयरोग रोकथाम र उपचारमा काम गर्‍यौँ भने अवश्य पनि हामीले सन् २०५० सम्म नेपालबाट क्षयरोग अन्त्य गर्न सक्छौँ।

(लेखक जनस्वास्थ्य अधिकृत हुन्)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दिपशिखा अर्याल
दिपशिखा अर्याल
लेखकबाट थप