पश्चिम एसियाको युद्धले पोखराको पर्यटनमा धक्का : धमाधम बुकिङ रद्द, सिजनमै पर्यटक घटे
सारांश
- पश्चिमी एसियामा सैन्य तनावका कारण हवाई उडान प्रभावित हुँदा पोखरामा पर्यटक आगमन घटेको छ।
- दुबई, कतार र साउदी अरेबिया ट्रान्जिट बनाउने पर्यटकले भ्रमण स्थगित गर्दा व्यवसायी आर्थिक संकटमा परेका छन्।
- इजरायल–इरान युद्ध र अमेरिकी यात्रा एड्भाइजरीले गर्दा होटल र ट्रेकिङ बुकिङ रद्द भएका छन्।
कास्की । पश्चिम एसियामा बढ्दै गएको सैन्य तनावका कारण अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित हुँदा नेपालको पर्यटकीय राजधानी पोखरामा पर्यटक आगमनमा ठुलो गिरावट आएको छ। विशेष गरी अमेरिका, इजरायल र इरानबिचको द्वन्द्वका कारण युरोप र अमेरिकाबाट आउने पर्यटकहरूको सङ्ख्या घटेको हो।
दोस्रो मुख्य पर्यटकीय सिजन चलिरहँदा पोखराका पर्यटन व्यवसायीहरूले विदेशी पर्यटकको अभाव खट्किएको महसुस गरिरहेका छन्। नेपाल आउने अधिकांश पश्चिमा पर्यटकहरूले दुबई, कतार र साउदी अरेबिया जस्ता देशहरूलाई ट्रान्जिट बनाउने गर्छन्। ती क्षेत्रहरू युद्धको चपेटामा पर्दा र हवाई मार्ग असुरक्षित हुँदा पर्यटकहरूले नेपाल भ्रमणको योजना स्थगित गरेका हुन्।
पोखरा भ्रमण वर्षका संयोजक गोपी भट्टराईका अनुसार यतिबेला पोखराका होटल, ट्राभल र ट्रेकिङका अग्रिम बुकिङहरू धमाधम रद्द भइरहेका छन्। युद्ध लम्बिँदै जाँदा नेपाल आउन ठिक्क परेका पर्यटकहरू अन्यत्रै डाइभर्ट भइरहेको र यसले पर्यटन व्यवसायीहरूलाई आर्थिक सङ्कटमा धकेल्दै लगेको भट्टराईले बताए।
होटल एसोसिएसन पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले पनि अन्नपूर्ण पदयात्राका लागि उपयुक्त मानिने मार्च, अप्रिल र मे महिनामा सोचे जस्तो पर्यटक नआएको जानकारी दिए। अमेरिकाले आफ्ना नागरिकका लागि जारी गरेको यात्रा एड्भाइजरीका कारण पनि अमेरिकी पर्यटकहरूको उपस्थिति न्यून देखिएको उनको भनाइ छ। पश्चिमा पर्यटकको आगमन खस्किए पनि भारतीय र आन्तरिक पर्यटकहरूको उपस्थिति भने विगतका वर्षहरूमा जस्तै सामान्य रहेको सुवेदीले उल्लेख गरे।
पर्यटन व्यवसायी नेत्र पौडेलले इजरायल र इरानबिचको लडाइँले ट्रेकिङका लागि हुने बुकिङमा प्रत्यक्ष असर पारेको बताए। पदयात्राका लागि विश्वभर प्रख्यात पोखरा र आसपासका क्षेत्रमा यतिबेला विदेशी पदयात्रीहरूको चहलपहल हुनुपर्नेमा युद्धका कारण अनिश्चितता बढेको उनको बुझाइ छ। कोरोना महामारीको चपेटाबाट भर्खरै लयमा फर्किन थालेको पर्यटन क्षेत्र फेरि अन्तर्राष्ट्रिय राजनीतिको सिकार बनेको भन्दै व्यवसायीहरू चिन्तित छन्।
अन्तर्राष्ट्रिय बजारमा इन्धन र ग्याँसको मूल्य वृद्धि तथा अभावले गर्दा समेत पर्यटन क्षेत्र थप प्रभावित बन्दै गएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने व्यक्तिविरुद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
-
रवि लामिछानेको ‘विकास कूटनीति’: पूरा होला मल कारखानाको सपना ?
-
मोरङ कांग्रेसमा क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद, सह–महामन्त्री संग्रौला सहभागी कार्यक्रम बिथोलियो
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण